सूचनाको शक्ति - The Power Of Information

        

खजुराका ८४० महिलाको स्वास्थ्य परीक्षण, २७ जनामा क्यान्सरको लक्षण

बाँकेको खजुरा गाउँपालिकामा ८४० जना महिलालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचार प्रदान गरिएको छ । जसमध्ये २७ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ । खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकाका सबै वडाका ८४० जना महिलालाई स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य शाखाका नर्सिङ अधिकृत लक्ष्मी केसी वली अनुसार भेरी अस्पतालसँग समन्वय गरेर सञ्चालन गरिएको उक्त शिविरमा स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापा र डा.उर्मिला पराजुलीले स्वास्थ्य परीक्षण गरेका थिए । उक्त निःशुल्क स्वास्थ्य शिविरमा वडा नं. १ मा १००, वडा नं. २ मा १०६, वडा नं. ३ मा ८४, वडा नं. ४ मा १०४, वडा नं. ५ मा ५९, वडा नं. ६ मा १०८, वडा नं. ७ मा १९४ जना र वडा नं. ८ मा ८५ गरी कुल ८४० जना महिलाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

नर्सिङ अधिकृत अधिकृत वलीका अनुसार स्वास्थ्य जाँच गरिएका ८४० जना महिलामध्ये ३५ वर्षमाथिका २५० जनाको भिआइए जाँच गर्दा २७ जनामा भिआइए पोजेटिभ (क्यान्सर शङ्कास्पद) पाइएपछि शिविरमै एक कोर्ष एन्टिबायोटिक प्रदान गरिएको र थप चेकजाँचका लागि सम्बन्धित अस्पताल र चिकित्सकसँग जानका लागि सल्लाह सुझाव दिइएको थियो ।

यसैगरी, नौ जना महिलामा पाठेघरको आङ खसेको समस्या पाइएको र उनीहरुलाई शिविरमै रिङ पेसरी राखेर उपचार गरिएको उनले जानकारी दिइन् । शिविरमा १० जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने समस्या पहिचान भएपछि उनीहरुलाई शल्यक्रियाका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको वलीले बताइन् । गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाका नागरिकलाई उनीहरुको घर-घरमा पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए ।

उनले जनताको जनजीवन र स्वास्थ्यप्रति निकै संवेदनशील रहेको भन्दै देश र राष्ट्र समृद्ध हुनका लागि जनता स्वस्थ हुनुपर्ने बताए । स्वस्थ भएपछि मात्र व्यक्तिले गति प्राप्त गर्दै काम गर्ने र आफूलाई आत्मनिर्भर बनाएर देसलाई समृद्धतिर लैजाने भन्दै उहाँले पालिकाका सम्पूर्ण जनताको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको बताउँदै स्वास्थ्य सेवामा पालिकाले निकै महत्त्वपूर्ण तरिकाले काम अगाडि बढाइरहेको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार ०८:३१

लोकप्रिय