सूचनाको शक्ति - The Power Of Information

        

मानिसले चिनी खाँदा शरीरमा के असर पर्ला ?

चिनी भनेको यस्तो तत्व हो, जुन धेरै खानेकुरामा पाइन्छ । तर, यसले शरीरलाई फाइदा गर्दैन । खानै छाड्यौं भने हाम्रो शरीरमा के असर पर्ला त ? कति फाइदा होला, कति नोक्सान ? अध्ययन अनुसार मान्छेलाई चिनी वा चिनीयुक्त खानेकुराबाट टाढा बस्न गाह्रो पर्छ । गुलियो खानेकुरासँगको हाम्रो सम्बन्ध आजको होइन, यो मानव विकासक्रमसँग जोडिएको छ ।

हाम्रा पुर्खाहरू आफ्नो आहारा निम्ति जनावरको शिकार गर्थे । जंगलमा पाइने वनस्पति र फलफूल खान्थे । त्यो समय गुलियो फल सितिमिति भेटिन्थेन । गुलियो फल फेला पर्दा धीत मरूञ्जेल खाने बानी थियो । त्यसैले, गुलियो भनेपछि हुरुक्क हुनु मान्छेको ‘जीन’ मै छ । चिनीले हाम्रो मस्तिष्कलाई तरंगित राख्छ । हामीलाई सक्रिय बनाउँछ ।

शरीरमा चिनी अभाव भए मान्छे शिथिल हुने, थकाइ लग्ने, टाउको दुख्ने लगायत समस्या देखिन सक्छन् । तर, शरीरलाई चाहिने चिनीको मात्रा हामी फलफूल, मह, दूध, दही लगायत खानेकुराबाट प्राकृतिक रूपमै पाउँछौं । अचेल प्राकृतिकभन्दा प्रशोधित चिनीको खपत बढ्ता हुन्छ । हामीले चियामा हालेर खाने चिनी प्रशोधित हो । कोक, पेप्सी लगायत पेयमा पाइने चिनी प्रशोधित हो ।

मिठाइमा मिसाइने चिनी पनि प्रशोधित हो । बिस्कुट वा चक्लेट गुलियो हुनुको कारण त्यसमा मिसाइएको प्रशोधित चिनी नै हो । यस्ता प्रशोधित चिनी हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । प्रशोधित चिनी खान छाड्यौं भने हाम्रो शरीरमा कस्तो असर पर्ला त ? शरीरलाई चाहिने चिनी हामी फलफूल, मह, दूध, दही लगायतबाट प्राकृतिक रूपमै पाउँछौं । अचेल प्रशोधित चिनीको खपत बढ्ता हुन्छ ।

शरीरलाई चाहिने चिनी हामी फलफूल, मह, दूध, दही लगायतबाट प्राकृतिक रूपमै पाउँछौं । अचेल प्रशोधित चिनीको खपत बढ्ता हुन्छ । चिनीले हाम्रो मस्तिष्क सक्रिय राख्छ भनेर माथि भन्यौं । दिनहुँ चिनी हालेको चिया वा अत्यधिक मिठाइ खाने व्यक्तिले फ्याट्टै खान छाडे आलस्य महशुस गर्न सक्छन् । सानो–सानो कुरामा झिनिक्क रिसाउने वा झर्को लाग्ने हुनसक्छ । कतिलाई नैराश्य पनि हुनसक्छ । तर, यो अस्थायी प्रभाव हो ।

‘यस्तो प्रभाव बढीमा एक साता रहन्छ,’ पोषणविज्ञ ग्रेसी डेरोचालाई उद्धृत गर्दै ‘इन्साइडर’ लेख्छ, ‘जब यो प्रभाव घट्छ र शरीरले प्राकृतिक रूपमै ऊर्जा पाउन थाल्छ, तब तपाईं पहिलेभन्दा तन्दरुस्त, फुर्तिलो र ताजा महशुस गर्नु हुनेछ । चिनी नखाँदा झर्को लाग्ने, दिक्क लाग्ने र निराश हुने प्रवृत्ति हराउँदै जान्छ ।’

त्यसपछि प्रशोधित चिनी नखाँदा तपाईंको शरीरमा सकारात्मक प्रभावहरू देखिन थाल्नेछन् । सबभन्दा पहिला त, चिनीको बलले मात्र हामी ऊर्जावान् रहनुपर्दैन । हाम्रो शरीरमा दिनभरि नै प्राकृतिक रूपले ऊर्जाको मात्रा सन्तुलित रहन्छ । प्रशोधित चिनीले हाम्रो छालामा नकारात्मक असर पारेको हुन्छ । हाम्रो छालालाई जुन प्रोटिनले फाइदा पुर्याउँछ, चिनीले त्यो प्रोटिन निस्क्रिय पारिदिन्छ ।

चिनी कम खानेबित्तिकै वा चटक्कै छाड्नेबित्तिकै त्यो प्रोटिन सक्रिय हुन थाल्छ । यसले हाम्रो छालामा चमक ल्याउँछ । उमेर बढ्दै गएपछि चिनी कम खानुपर्छ भनेको हामीले सुनेका छौं । चिनी खान छाडेनौं भने हाम्रो छाला छिट्टै चाउरी पर्छ । जबकि, ३०–४० वर्ष उमेरदेखि कम खाने वा खाँदै नखानेहरूको छाला लामो समय चाउरी पर्दैन ।

‘कतिपय खानेकुराले छालामा दागहरू पर्छन् । प्रशोधित चिनी त्यस्तै खानेकुरामध्ये एक हो । कम खानेबित्तिकै तपाईंको अनुहार र छाला उज्यालो देखिन थाल्छ,’ सहायक प्राध्यापक रोबर्ट ग्लाटरले भने, ‘उज्यालो छालाले फुर्तिलो र तन्दरुस्त अनुभव गराउँछ ।’ खानेकुराबाट चिनीको मात्रा कम गर्यो भने निद्रा राम्रो लाग्छ ।

यसको मतलब, चिनी खान छाड्दा रातारात अनिद्राको समस्या हट्छ भन्ने होइन । यसको असर देखिन केही साता लाग्छ । त्यसपछि तपाईंलाई गहिरो निद्रा पर्नेछ । बेलाबेला निद्रा टुट्ने समस्या आउँदैन । चिनीको मात्रा घटाउनेबित्तिकै तपाईंको शारीरिक तौल पनि घट्न सक्छ । मोटो हुनुहुन्छ र ज्यान घटाउन चाहनुहुन्छ भने चिनी प्रयोग कम गर्नु पहिलो उपाय हो ।

‘चिनी कम खानेबित्तिकै हाम्रो शरीरमा जम्मा भएर थुप्रिएको बोसो पग्लिन थाल्छ, यसले हाम्रो तौल घट्छ,’ डा. ग्लाटरले भने, ‘यसको पनि असर देखिन समय थाल्छ । तपाईंले दुई सातासम्म लगातार चिनी खान छाड्नुभयो वा एकदमै कम खान थाल्नुभयो भने बल्ल तपाईंलाई तौल घटेको अनुभव हुनेछ ।’

उनका अनुसार मोटोपना धेरै भएका व्यक्तिले कम समयमा धेरै तौल घटाउनुछ भने चिनी मात्र छाडेर पुग्दैन । सँगसँगै प्रोटिन धेरै खानुपर्छ र नियमित व्यायाम गर्नुपर्छ । चिनी खान छाड्दा मधुमेह र मुटुरोगको जोखिम पनि कम हुने पोषणविज्ञहरू बताउँछन् । चिनी नखानेलाई धेरै खाने व्यक्तिको तुलनामा मुटुरोगको जोखिम तीन गुणा कम हुन्छ ।

चिनीले दाँत दुख्ने र मुखमा ब्याक्टेरियाको संक्रमण पनि बढ्छ । अध्ययनअनुसार हाम्रो खानामा चिनीको मात्रा जति धेरै भयो, त्यसले दाँत खिया लाग्ने र खाल्डा पर्ने हुन्छ । त्यो खाल्डा बढ्दै गएर गिजासम्म पुगेपछि अथाह पीडा हुन्छ । चिनी कम खायौं भने यो पीडाबाट बेलैमा मुक्ति पाउनेछौं ।

कतिपय मान्छेको सास गनाउने समस्या हुन्छ । यसको कारण अत्यधिक प्रशोधित चिनी हुनसक्छ । चिनीको मात्रा घटायौं भने सास गनाउने समस्याबाट मुक्ति पाउन सक्छौं । त्यस्तै, तपाईंलाई माइग्रेनको समस्या छ भने चिनी खान छाड्दा यो समस्या कम हुँदै जान्छ । अध्ययनअनुसार अत्यधिक चिनी प्रयोगले दिमागका नशाहरूमा जालोजस्तो बन्दै जान्छ, जसले हाम्रो स्मरणशक्तिमा असर पार्छ ।

चिनी कम खायो भने त्यस्तो जालो लाग्न पाउँदैन । स्मरणशक्तिमा उमेरको असर देखिन कम हुन्छ । अत्यधिक चिनीले शरीरको ‘एस्ट्रोजन’ र ‘टेस्टोस्टेरन’ हर्मोनलाई नियन्त्रित राख्ने ‘जीन’ निस्क्रिय बनाइदिन्छ । मान्छेमा यौन इच्छा जागृत गराउन भूमिका खेल्ने यी हर्मोन निस्क्रिय भइदिँदा यौन जीवन प्रभावित हुन थाल्छ ।

त्यसैले, चिनी नखाँदा यौनशक्ति बढाउन पनि लाभदायक हुने वैज्ञानिकहरूको भनाइ छ । यसले समयक्रममा हाम्रो जिब्रोको स्वाद पत्ता लगाउने कोष परिवर्तित हुन्छ । प्रशोधित चिनी मिठो लाग्नेलाई विस्तारै फलफूलमा पाइने प्राकृतिक चिनी नै मिठो लाग्न थाल्छ । त्यसो भए तपाईं पनि चिनीको मात्रा घटाउने होइन त ?

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार ०८:०३

लोकप्रिय