सूचनाको शक्ति - The Power Of Information

        

लोप हुँदै गुन्द्री बुन्ने चलन

पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ । प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन् । हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको सङ्ख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ ।

सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सीको उपयोग गर्दछन् । परालको गुन्द्रीसँगै सिमान्तकृत दरै (दराई) समुदायले प्राकृतिक तथा जैविक कच्चापदार्थको प्रयोग गरी गुदको गुन्द्री बुन्ने गर्दछन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँका ६८ वर्षीया मनसुलीमाया दरैले सानो उमेरदेखि गुदको गुन्द्री बुन्दै आएको बताइन् ।

उनले भनिन्, ‘साउन अन्तिमदेखि कात्तिकसम्म गुद सङ्कलनका लागि विभिन्न स्थानमा जानुपर्छ । पुस, माघमा हर्रोको लेदोले पोतेर सुकाइन्छ । प्राकृतिकरुपमा जङ्गलमा रहेका कच्चापदार्थ सङ्कलन गरी माघ, फागुन, चैतसम्म बुन्ने गरेका छौँ ।’ गुदको गुन्द्री बुन्ने निकै समय र मेहेनत लाग्ने मनसुलीमायाले जानकारी दिइन् ।

‘राम्रो र बुट्टेदार देखिए पनि बुन्न भने लामो समय लाग्छ । मौलिक संस्कार र संस्कृति जोगाउनका लागि हामीले अझै गुदका गुन्द्री बुन्ने गरेका छौँ,’ उनले भनिन् । अतिथि सत्कार मात्रै नभई संस्कार र पहिचानका लागि पनि गुन्द्री बुन्ने गरिएको उनको भनाइ छ ।

स्थानीय ६६ वर्षीया फूलमाया दरैले भनिन्, ‘पहिले पहिले त बाबियाको डोरीले गुन्द्री बुनिन्थ्यो । अहिले फेरिँदै गएको छ । हामी अल्छी हुन थालेका छौँ । अहिले सुतरीको डोरीमा नै गुदको गुन्द्री बुन्छौँ ।’ पहिले पहिले धेरै ठाउँमा पाइने गुद अहिले पाउन अलि कठिन हुन थालेको उनको अनुभव छ ।

फूलमायाले भनिन्, ‘पहिले त चार–पाँच दिन लगाएर विभिन्न स्थानमा पुगेर खोला किनारमा पाइने गुद लिएर आउने गथ्र्यौं । ल्याएर घाममा सुकाएर पुस लागेपछि भने बुट्टेदार गुन्द्री बुन्नका लागि रङ्ग्याउने कार्य थालनी हुन्छ ।’ साधाभन्दा बुट्टेदार बुन्ने प्रचलन बढी रहेको भन्दै यो आकर्षित पनि देखिने उनले बताइन् ।

पहिले हिँडेर गुद ल्याउने गरिएको थियो भने अहिले सवारीसाधनमा जाने हुँदा एकै दिनमा ल्याउने गरिएको फूलमायाले बताइन् । सुविधाको पनि उपयोग गरिरहेको भन्दै परालको भन्दा गुदको गुन्द्री बुन्न कठिन हुने उनको अनुभव छ । ‘परालको गुन्द्रीमा बिट सजिलो हुन्छ । गुदको गुन्द्रीमा बुट्टासँगै बिट मार्नै फरक तरिका हुने भएकाले अलि समय लाग्छ,’ उनले भनिन् ।

परालको गुन्द्रीमा जस्तो बिटले गुदको गुन्द्री एकैछिनमा फुस्किने भएकाले पनि यो फरक तरिकाले बनाउनुपर्ने फूलमायाले बताइन् । ‘यो फरक र कसिलो हुन्छ । जो कोहीलाई यो बिट मार्नै मुस्किल हुन्छ । अहिलेका बच्चा सिक्नै मान्दैनन्,’ उनले भनिन्, ‘बस्न र चलाउन खोजे पनि कच्चापदार्थ खोज्न सहज छैन । अलि बुढा भइसकेका महिला सकिएपछि हाम्रो त गुदको गुन्द्री पनि हराउँछ होला ।’


हर्रोको बोक्रालाई पानीमा उमालेर बनाइएको लेदो गुदमा लगाइ घाममा सुकाइन्छ । सुकाइसकेपछि हिलो गाडेर कालो बनाउनु पर्दछ । दरै समुदायका महिलाले कालो र सेतो रङमा बुट्टा बनाएर गुन्द्री बुन्ने गर्दछन् । हिलो राम्रो नभएको स्थानमा गाड्दा कालो राम्रो नआउने उनीहरुको भनाइ छ ।

हिलोमा गाडेर कालो भएपछि घर ल्याएर सुकाइ केही समय राखेर मात्रै बुन्न सकिन्छ । ४५ वर्षीया सुनिता दरैले भनिन्, ‘मेरो छोरा २४ वर्ष लाग्यो । मैले छोरा नपाउँदै बुनेको गुदको गुन्द्री अझै राम्रै छ । गुदको गुन्द्री टिकाउ पनि हुन्छ ।” साथीहरुसँग गुद खोज्न जाने गरिएको भन्दै हालसम्म परम्परा जोगिए पनि पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको उनले बताइन् ।

ज्येष्ठ र अधबैँशे महिलामा यो आकर्षण भए पनि युवामा चासो नदेखिएको सुनिताको भनाइ छ । विगतमा पुरुष र महिला भएर जाने गरे पनि हाल महिला मात्रै गुद खोज्न जाने उनले बताइन् ।संस्कार र संस्कृतिसँग नै जोडिएकाले संरक्षण गर्नुपर्ने उनीहरुको जोड छ ।

आधुनिक परिवेशसँगै फेरिँदै गएको नयाँ प्रविधिको गुन्द्री (म्याट)भन्दा बढी प्राकृतिक तथा जैविकरुपमा बुनिएका गुदका गुन्द्री उपयुक्त हुने भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताए । ‘पहिले हामीलगायत पुरुषसमेत गुद खोज्न जाने गरेका थियोँ । अहिले पुरुष गुद खोज्न जान छाडेका छन्,’ उनले भने, ‘हाम्रो समुदायको हरेक संस्कारमा आवश्यक मानिएको गुदको गुन्द्री बुन्ने प्रचलन लोप हुँदैछ । यसको संरक्षणमा सबै जुट्नुपर्ने देखिएको छ ।’

जन्मदेखि मृत्यु संस्कारका लागि अन्य किसिमका गुन्द्री दरै समुदायले उपयोग गर्दैनन् । आफूसँग नभएको अवस्थामा खोजेर ल्याउने गरिन्छ । मृत्यु संस्कारबाट मुक्त हुनका लागि पनि गुदको गुन्द्रीमा बसेर कर्म गर्ने प्रचलन दरै समुदायमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा कोषाध्यक्ष वीरबहादुरले जोड दिए ।

दरै उत्थान समाज नेपालका वरिष्ठ उपाध्यक्ष चीजबहादुर दरैले व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकामा बसोबास गर्ने दरै समुदायका महिलाले गुद खोज्न टाढा पुग्नुपर्ने अवस्था रहेको बताए । गुद खोला किनारमा पाइने भएकाले यसको कच्चापदार्थ संरक्षणमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।

‘खोला, नदी किनारमा पाइने भएकाले कच्चापदार्थ संरक्षण गर्नु पहिलो प्राथमिकता हो । पहिले दरै समुदायले मात्रै प्रयोग गर्ने गरिएको थियो,’ उपाध्यक्ष चीजबहादुरले भने, ‘यसको उपयोगिता दीर्घकालीन हुनेहुँदा अन्य जातिले पनि सिक्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा अझ यसको कच्चापदार्थ पाउन मुस्किल बन्दै गएको छ ।’

खोला, नदीनाला किनारमा पाइने कच्चा पदार्थलाई संरक्षण गर्दै गुदको गुन्द्री बुन्ने प्रचलनलाई प्रवर्द्धन गरी व्यावसायिक बनाउन आवश्यक रहेको उनको भनाइ छ । बुट्टेदार राम्रा र बलिया गुदका गुन्द्री लामो ससम्म टिकाउ हुने भएकाले पनि बजारमा माग हुने गरेको स्थानीय महिला बताउँछन् । मेहनत र समय बढी लाग्ने भएकाले यसको मूल्य महँगो हुने दरै समुदायले जनाएको छ ।

गर्मी समयमा बिछ्याउँदा सितलता दिने विशेषता रहेको गुदको गुन्द्री ३० देखि ३५ वर्षसम्म टिक्छ । गाउँघरमा नै हुने जैविक कच्चापदार्थ उपयोग गरी बुनिने गुदको गुन्द्रीको प्रयोग मानवीय र वातावरणीय स्वास्थ्यका दृष्टिले लाभदायक छ । मौलिक संस्कृति तथा जैविक पदार्थको संरक्षण गरी दरै समुदायमा स्वरोजगार सिर्जना गर्न आवश्यक छ । गुदको गुन्द्री उत्पादनलाई आयआर्जनसँग जोड्नतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयको माग छ ।

स्रोत : रासस
प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १६:११