सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा मिर्गौला दिवस मनाइयो

नेपालगन्जमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहीबार मनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान नगरमा प्रभातफेरी आयोजना गरेको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पछिल्लो समयमा मिर्गौला रोग पनि धेरै जनामा देखिन थालेकोले सो बाट जोगिने उपाय र सचेतनाका कार्यक्रमसहित उपचारमा पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवन रायमाझीले मिर्गौला रोगको जोखिम कम गर्न आफैँ सचेत हुनुपर्ने धारणा राख्दै समय समयमा मिर्गौला सम्बन्धी परीक्षण र खानपिनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पतालका नेफ्रोलोजिष्ट डा सौरभ हमाल लगायतले मिर्गौला रोगबाट जोगिने उपायबारे आफ्नो धारणा राख्नुभयो । सोही प्रकारले भेरी अस्पतालले पनि मिर्गौला दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ ।

अस्पतालबाट सुरु भएको प्रभातफेरी सुर्खेत रोडको गणेशमा चोक, बिपी चोक त्रिभुवन चोक हुँदै भेरी अस्पतालमा पुगेर समापन भएको भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।

प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रायमाझी, मेडिसिन विभाग प्रमुख डा राजन पाण्डे, नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, चिकित्सक, नर्सिङ स्टाफ लगायतको सहभागिता थियो ।

सो अवसरमा आयोजित कार्यक्रममा पनि चिकित्सकहरूले विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिएको जनाउनुभयो

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १५:४८

लोकप्रिय