सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका दुई बाल सुधारगृहका बालबन्दीको निःशुल्क उपचार

बाँके जिल्लामा सञ्चालित दुई वटा बाल सुधारगृहमा रहेका बालबिज्याइँकर्ता (बालबन्दी) हरूले अब निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् । उनीहरूको निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य संस्था, बाल सुधारगृह र जिल्ला बाल न्याय समितिबिच सम्झौता भएको छ ।

जिल्लाको नौबस्तास्थित बाल सुधारगृह र हिरमिनियामा रहेको जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दी (बालबिज्याइँकर्ता) हरूलाई निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगन्जले सम्झौता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

बाल सुधारगृहमा रहेका बालबिज्याइँकर्ताको गुणस्तरीय स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्नका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले नौबस्तास्थित बाल सुधारगृहमा प्रत्येक महिनाको पहिलो शनिार फिजिसियन, बालरोग तथा मनोचिकित्सकसहितको विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभभो ।

त्यसै गरी भेरी अस्पताल नेपालगन्जले हिरमिनियामा रहेको जयेन्दु बाल सुधारगृहमा प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार जनरल फिजिसियन, बाल चिकित्सक तथा मनोचिकित्सकसहितको विशेषज्ञ टोलीबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने सम्झौता भएको उहाँले बताउनुभयो ।

प्रजिअ पोखरेलका अनुसार दुवै स्वास्थ्य संस्थाले प्रत्येक महिना परीक्षण तथा उपचारसँग सम्बन्धित प्रतिवेदन जिल्ला बाल न्याय समितिलाई उपलब्ध गराउने र उल्लेखित स्वास्थ्य परीक्षण तथा उपचारको आवश्यक अनुगमन जिल्ला बाल न्याय समितिले गर्ने सम्झौता गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चालित नौबस्तास्थित बाल सुधारगृहमा १११ जना र गैरसरकारी संस्थाबाट सञ्चालित हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहमा २३८ जना बालबिज्याइँकर्ता रहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला बाल न्याय समितिका अध्यक्ष बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मप्रसाद प्रसाईं, बाँकेका प्रजिअ श्रवणकुमार पोखरेल तथा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराको उपस्थितिमा भएको उक्त सम्झौतामा बाल न्याय समितिका सदस्य सचिव गोविन्द आचार्य, भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनजङ्ग रायमाझी, नेपालगन्ज मेडिकल कलेजका प्रतिनिधि डा. रोमन किदवाई, जयेन्दु बाल सुधारगृहका कार्यालय प्रमुख विमला काउचा मगर र बाल सुधारगृह नौबस्ताका कार्यालय प्रमुख श्यामबहादुर रानाले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १०:००

लोकप्रिय