सूचनाको शक्ति - The Power Of Information

        

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

 कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ ।

मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।

कुवेतको महाबुल्ला क्षेत्रमा मंगलवार विहान सडक छेउमा रहेका तीन नेपालीलाई हुँकिएर आएको कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेको नेपाली दुतावासले पुष्टी गरेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून -२ काठमाडौंका सुजन कार्की र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर छन् ।

मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन् । उनीहरु त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत रहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिए ।

कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए ।

कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए ।

गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई एक स्थानीय नागरिकले हुइकाएर चलाएको कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै निधन भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार ०९:५५

लोकप्रिय