सूचनाको शक्ति - The Power Of Information

        

पैसा माग्दा नदिएपछि हजुरआमाको हत्या

आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं. ७ योगिटारमा आफ्नै नातिले साथीभाइ समेतलाई साथमा लिएर ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।

हत्यापछि घर पछाडि ग्वाली नजिकको मलखाडीमा पुरिएको अवस्थामा विश्वकर्माको शव ५ दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वृद्धा नरमाया शिवरात्रिको दिन राती अर्थात् फागुन २५ गतेदेखि सम्पर्क विहीन रहनु भएको थियो । उहाँको शव बुधवार फेला परेको हो ।

हराएको ५ दिनपछि मात्र छोरा रमेश विकले बुधवार बिहान इलाका प्रहरी कार्यालय गौरीगन्जमा उजुरी दिनु भएको थियो । उजुरी आउनसाथ प्रहरीले खोजीलाई तीव्र बनाएको र केही घण्टामा नै घटनामा संलग्नको पहिचान गरेर अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीका अनुसार हत्याको अभियोगमा बुधवार साँझ मृतकको १७ वर्षीय नाती धिरज विश्वकर्मा र उसका साथीहरू टङ्क दर्नाल,राजु मल्लिक र बहादुर दर्जीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेका सबै १८ वर्षभन्दा मुनीका रहेका छन् ।

शिवरात्रिको दिन लागु औषध सेवन गरेर हजुर आमासँग पैसा मागेपछि दिन नमान्दा विवाद हुँदा रडले टाउकोमा हानेर वृद्ध हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको केसीले जनाउनु भयो । घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौ, केसीले भन्नुभयो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार ०९:४९

लोकप्रिय