बाँकेमा सुर्तीजन्य पदार्थको बिक्री र सेवन जताततै खुला रूपमा भइरहेको जनाउँदै सो विरुद्ध विशेष अभियान सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
सुशासनको क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन क्लब बासले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई सुर्तीजन्य पदार्थ विरुद्ध विशेष अभियान सञ्चालन गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको हो ।
सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न तथा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्नका लागि बनाइएको ऐन र कानुनको कार्यान्वयन गरेर अभियान चलाउन ज्ञापन पत्र मार्फत माग गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।
उहाँले प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा कानुन अनुसार कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने, सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाउने ब्यहोराको सूचना टाँस गर्नुपर्ने र नमान्नेलाई जरिवाना समेत गर्ने उल्लेख भएकोले सो कार्यान्वयन गर्न माग गरिएको बताउनुभयो ।
सार्वजनिक स्थलहरूलाई तत्काल धूम्रपान, सुर्ती निषेधित क्षेत्रको रूपमा घोषणा गरी सो ठाउँमा सूचना टाँस गर्न निर्देशन जारी गर्न लगाई ऐन, नियमावलीमा भएको व्यवस्था बमोजिम सचेतना, अनुगमन र कारबाही समेत गर्ने गरी सुर्तीजन्य पदार्थ विरुद्ध विशेष अभियान सञ्चालन गर्न बास नेपालले स्थानीय प्रशासनसँग माग गरेको छ ।
बास नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, पूर्व अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र जनसम्पर्क अधिकृत माधव कार्कीले बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेललाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले ज्ञापन पत्रमा उल्लेख गरिए बमोजिम सबैको सहकार्यमा सुर्तीजन्य पदार्थ विरुद्ध विशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक मानिएको छ । यसको सेवनबाट फोक्सोको क्यान्सर, मष्तिष्कघात, मुख तथा घाँटीको क्यान्सर हुनुका साथै कम तौल भएका, अपाङ्गता भएका, मृत बच्चा जन्मिने, धूम्रपान तथा सुर्तीमा हुने निकोटिन तथा टार, कार्बन मोनोअक्साईडले मुटु, फोक्सोको रोग लाग्ने गरेको चिकित्सकहरूले जनाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके