सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानमा राष्ट्रपति र गृहमन्त्रीले तलब नलिने

पाकिस्तान यति बेला आफ्नो इतिहासको सबैभन्दा ठुलो संकटबाट गुज्रिरहेको छ । देशमा चरम आर्थिक संकट छ । हालै मात्र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का आसिफ अली जरदारी पाकिस्तानका १४ औँ राष्ट्रपति बनेका थिए ।

अर्थतन्त्र सम्हालिने कुनै संकेत नदेखिएको यस स्थितिमा मंगलबार नवनिर्वाचित राष्ट्रपतिले ठुलो घोषणा गरेका छन् । आफ्नो कार्यकालको बेलामा एक पैसा तलब नलिने जरदारीको घोषणा छ ।

देशमा लामो समयदेखि आर्थिक संकट चलिरहेको अनि महँगीले सर्वसाधारणका ढाड सेकिएको देखेर जरदारीले यस्तो कदम चालेको बताइएको छ । जरदारीले पीपीपीको एक्स एकाउन्टमा एउटा पोस्ट गर्दै यसको जानकारी दिएका हुन् ।

चुनौतीपूर्ण स्थितिमा राहत होस् भनेर यो फैसला गरिएको उनले बताएका छन् । यसबाट देशको राजस्वमा बोझ नपर्ने उनको भनाई छ । जरदारी पाकिस्तानका सबैभन्दा धनी नेतामध्ये पर्दछन् । उनको नेटवर्थ करिब १ अर्ब ८० करोड डलर आसपास भएको बताइन्छ ।

पाकिस्तानको संसद्ले राष्ट्रपतिको मासिक तलब ८ लाख ४६ हजार ५५० रुपैयाँ तोकेको छ । यसबोहक उनले अन्य भत्ता पनि पाउँछन् । जरदारीको यस कदममा पाकिस्तानका नयाँ गृहमन्त्रीले पनि कदम मिलाएका छन् ।

नव गठित सरकारका नयाँ गृहमन्त्री मोहसिन नकवीले पनि देशको आर्थिक चुनौतीलाई उद्धृत गर्दै आफ्नो तलब छाड्ने निर्णय गरेका छन् । यसको घोषणा नकवीले पनि एक्समै गरेका थिए ।

आफू हरसम्भव तरिकाले देशको सेवा गर्न प्रतिबद्ध रहेको र यो एउटा चुनौतीपूर्ण समय भएको उनले पोस्टमा भनेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १०:३१

लोकप्रिय