सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दर्ता विना नै मासु पसलबाट कारोबार

बाँकेका केही फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रले प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिलमार्फत मासुको खरिद बिक्री गरी कारोबार गर्दै आएको पाइएको छ ।

मङ्गलवार जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बाँकेका विभिन्न पालिकामा रहेका विभिन्न फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रहरूको स्थलगत अनुगमन गर्दा केही मासु प्रशोधन केन्द्रले प्यान र भ्याट बिल नै प्रयोग नगरी कारोबार गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वमा रहेको सरोकारवाला निकायहरू संलग्न अनुगमन टोलीले जिल्लामा रहेका विभिन्न पाँच वटा फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रहरूको स्थलगत अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा जानकी गाउँपालिका ५ स्थित डिके फुड एन्ड मिट प्रडक्टले प्रचलित कानुन बमोजिमको प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिल प्रयोग गरेर मासु खरिद बिक्री गरेको पाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार उक्त फर्मबाट कर छली गरेको आशङ्कामा दुई ठेली लुज बिल र पाँच ठेली चलान बिल गरी सात ठेली साधारण बिल बरामद गरिएको छ । बरामद गरिएका बिलहरू थप अनुसन्धान तथा छानबिनका लागि आन्तरिक राजस्व कार्यालय पठाएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

त्यसै गरी कोहलपुर १४ मा रहेको भेरी मिटसप एन्ड कोल्ड स्टोर विगत ७–८ महिनादेखि बन्द अवस्थामा रहेको पाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगन्जमा रहेका यम्मी फूड्स प्रालि, यम्मी फ्रोजन फूड्स प्रालि र नेशनल फुड प्रालिको अवस्था सामान्य रहेको र सरसफाइ कम पाइएकाले तीनै फर्मलाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको थियो ।

सहायक प्रजिअ गुरुङको नेतृत्वमा रहेको बजार अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतम, आन्तरिक राजस्व कार्यालयका अधिकृत, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख, पशु क्वारेनटाइन कार्यालयका प्रमुख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखलगायत सरोकारवाला निकायको सहभागिता रहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १०:०७

लोकप्रिय