सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा प्रदेशस्तरीय औद्योगिक, कृषि, व्यापार तथा पर्यटन महोत्सव हुने

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म सो महोत्सव सञ्चालन गरिने बताउनुभयो ।

उहाँले महोत्सवबारे जानकारी गराउँदै स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरूद्वारा उत्पादित विभिन्न बस्तुहरूको बजारीकरणका लागि प्रदेशस्तरको महोत्सव गर्न लागिएको बताउनुभयो ।

महोत्सवमा २५० देखि ३०० वटासम्म विभिन्न स्टलहरू राखिने जनाउँदै अध्यक्ष खड्काले ती स्टलहरूमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्रीहरू प्रदर्शनी गरिने बताउनुभयो।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका महासचिव जीआर भुसालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य जीवनाथ सापकोटा, लुम्बिनी प्रदेश महासचिव जयश्वेर पौडेल, महासङ्घ अन्तर्गतकै लुम्बिनी प्रदेश महिला उद्यमी समितिका शर्मिला खत्री, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका उपाध्यक्ष अमृत सिग्देल र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नेपालगन्जका अध्यक्ष दिला शाह लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ०८:३४

लोकप्रिय