सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी बढ्दै

मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् । चिसो मौसम सकिएर गर्मी मौसमको सुरुवात भएसँगै नेपालगन्जमा अत्यधिक रुपमा मौसमी भाइरलका बिरामीहरु बढेको पाइएको हो ।

भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालका अनुसार नेपालगन्जमा केही दिनदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने, नाकबाट पानीजस्तो सिगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्नेलगायत जस्ता मौसमी भाइरलका लक्षणहरु देखिएका व्यक्तिहरु अत्यधिक रुपमा बढेका छन् ।

नेपालगन्जमा बिहान र साँझ चिसो हुने तथा दिउँसोको समयमा गर्मी महसुस गरिने गरी भएको परिवर्तित मौसमका कारण मानिसको शरीरमा एकैदिनमा तीन प्रकारको तापक्रम हुने भएकाले पनि यो समयमा अत्यधिक व्यक्तिमा मौसमी भाइरलको सङ्क्रमण बढेकोे डा. रिसालले बताउनुभयो ।

“भेरी अस्पतालमा दैनिक एक हजार हाराहारीमा बिरामीहरु चेकजाँच गर्न आउनुहुन्छ” डा. रिसालले भन्नुभयो, “अधिकांश बिरामीमा यो लक्षण देखिएको छ ।” मौसम परिवर्तनसँगै देखिने यस्ता लक्षणहरुबाट भने डराइहाल्नु नपर्ने उहाँको भनाइ छ । “यस्तो लक्षण देखिने बित्तिकै डराइहाल्नु पर्दैन, तर चेकजाँच गराएर आवश्यक औषधि भने सेवन गर्नु उचित हुन्छ,” उहाँले भन्नुभयो ।

डा. रिसालका अनुसार मौसमी भाइरल एक व्यक्तिबाट अर्को व्यक्तिमा एकदमै छिटो फैलिने हुनाले यस्तो लक्षण देखिएका व्यक्तिहरु एकआपसमा भेटघाट नगर्ने, साबुन पानीले मिचिमिची हात धुने, अनावश्यक रुपमा मानिसको भीडभाडमा नजाने, अनावश्यक रुपमा आँखा, नाक तथा मुखमा नछुने तथा खोक्दा या हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्नुपर्दछ ।

मौसमी भाइरलका लक्षणहरु मानिसको शरीरभित्र पाँचदेखि सात दिनसम्म सक्रिय रहने उहाँले बताउनुभयो । मौसमी भाइरल लागेका मानिसहरुले मनतातो पानी पिउने, पोसिलो र झोलिलो पदार्थहरु खाने, बाफ लिने तथा घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने डा. रिसालको भनाइ छ ।

यस्ता लक्षणहरु भाइरसका कारण हुने र भाइरसको ठ्याक्कै उपचार नहुने भन्दै उहाँले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिटो असर पार्न सक्ने बताउनुभयो । उहाँले यस्तो लक्षण देखिएका बिरामीहरुले एकपटक जाँच गराएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १६:४४

लोकप्रिय