सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा दैलेखी सङ्ग्रहालय निर्माण हुने

बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ मा कुनै समयमा दैलेखबाट आउनेका लागि बनाइएको दैलेखी बङ्गलामा दैलेखी सङ्ग्रहालय  बनाइने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सङ्ग्रहालयका लागि बजेट विनियोजन गरेपछि सङ्ग्रहालय  बनाउने निश्चित भएको दैलेखी समाजले जनाएको छ ।

दैलेखी समाजका अध्यक्ष पूर्णदेव गिरीका अनुसार दैलेख र नेपालगन्जको पुरातात्विक तथा ऐतिहासिक वास्तुकला र बाँकेका पर्यटकीय स्थानको जानकारी सङ्कलन गरेर सङ्ग्रहालयमा राखिनेछ।

उहाँले सो सङ्ग्रहालयमा दैलेख–नेपालगन्ज दुवै ठाउँको ऐतिहासिक र पर्यटकीय चिनारीलाई खोजेर राखिने बताउनुभयो।

नेपालगन्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले दैलेखी बङ्गलामा सङ्ग्रहालय  बनाउन आवश्यक बजेट विनियोजन गरिएको जनाउँदै छिट्टै सङ्ग्रहालय  निर्माण सुरु हुने बताउनुभयो।

उहाँले परम्पराकालदेखिनै नेपालगन्ज र दैलेखको विशेष सम्बन्ध भएकोले नै यहाँ दैलेखी बङ्गला बनाइएको जनाउँदै अब सो ठाउँमा सङ्ग्रहालय  बनाएर ऐतिहासिक वस्तुको संरक्षण गरिने बताउनुभयो।

समाजका सल्लाहकार हरि तिमिल्सिनाले यस्ता सङ्ग्रहालयहरुले नयाँ पुस्तालाई इतिहास र परम्परा सिकाउनुका साथै पर्यटनको विकासमा पनि टेवा पुग्ने बताउनुभयो।

दैलेखी सङ्ग्रहालय  निर्माणका लागि बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, दैलेखी समाजका संस्थापक अध्यक्ष दीपक शाही, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, पूर्व प्रदेश मन्त्री आरती पौडेललगायतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १६:३५

लोकप्रिय