२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

बजेट अभावमा राप्तीसोनारी रङ्गशाला अलपत्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन २९ गते मंगलबार

बाँकेको राप्तीसोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । राप्तीसोनारी–५ बिनौनामा निर्माणाधीन राप्तीसोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मत सम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् ।

रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिका स्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए । उनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले रङ्गशाला निर्माणमा चासो नदेखाएको आरोप लगाए ।

राप्तीसोनारी–५ बिनौनास्थित भुवर भवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले राप्तीसोनारी रङ्गशाला निर्माण भए गाउँस्तरबाट खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताए । व्यवस्थित रङ्गशाला नहुँदा विद्यार्थीले खेलकुदका अभ्यास गर्न नपाएको उनको भनाइ छ ।

राप्तीसोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रङ्गशाला निर्माणमा ठूलो बजेटको आवश्यकता भएको बताए । ‘विगतका वर्षमा आएको बजेटले वाल लगाउने काम भएको छ, ठूलो बजेटको आवश्यकता छ थोरै आउँछ,’ देवकोटाले भने, ‘यो आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ, त्यसबाट मर्मत सम्भारको काम गर्ने तयारी गरेका छाँै ।’

यस वर्ष राप्तीसोनारी रङ्गशालामा आएको रु १५ लाख बजेटमा माटो पटान लगायत काम हुने भएको छ । रङ्गशाला भित्रै रहेका रूख कटानका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलले आगामी वर्षमा रङ्गशाला निर्माणका लागि गाउँपालिकाबाट पनि बजेट विनियोजन गर्ने र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने बताए । अलपत्र अवस्थामा रहेको राप्तीसोनारी रङ्गशालालाई पूर्णता दिन आवश्यक बजेट विनियोजनका लागि प्रदेश र केन्द्र सरकारसँग पहल गरिरहेको बताए ।

प्रकाशित मिति : २०८० फागुन २९ गते मंगलबार