सूचनाको शक्ति - The Power Of Information

        

मिलेमतोमै तस्करी

भारतीय कुखुराको तस्करी बढ्यो, बाँकेका व्यवसायी चिन्तित

भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुराजन्य पदार्थ नेपाल भित्रिने गरेको छ ।

बाँकेमा भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेको छ । मुख्य नाका जमुनाहबाटै खुलेआम भारतीय कुखुरा, चल्ला, मासु र अण्डा आयात हुने गरेको देखिएको छ । नेपालगन्जका एक जना कुखुरा व्यवसायीले जमुनाहा नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेको बताए ।

पश्चिम नेपालको प्रमूख नाकाका रुपमा रहेको जमुनाहाबाट मात्रै नभएर बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेको बताए । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल भित्रिँदै आएको व्यवसायहरु बताउँछन् ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ, तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुराजन्य पदार्थको नेपाल भित्रिने गरेको व्यवसायीहरुको भनाई रहेको छ ।

सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगन्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पा लगायतका जिल्लामा समेत पुग्ने गरेको कुखुरा व्यवसायीहरुको भनाइ छ ।

गत हप्तामात्रै भारतबाट अवैध रूपमा आयात भएको २९१ किलो ब्रोइलर कुखुराको मासु फेला परेपछि केहीदिनका लागि कडाई गरिएको चेकजाँचलाई तस्करसँगको फेरि खुकुलो बनाइएको नेपालगन्जका एक जना व्यवसायीले नाम नभन्ने सर्तमा बताए । फागुन दोस्रो सातामात्रै यसले भारतबाट मासु तस्करी गरेर नेपाल ल्याएर विक्री हुँदै आएको थप प्रष्ट भएको थियो ।

‘फागुन १४ गतेमात्रै बाँके प्रहरीले धम्बोझीस्थित प्रदीप मासु पसलबाट भारतबाट अवैधरूपमा तस्करी गरेर ल्याएको कुखुराको मासु बरामद गरेपछि जमुनाहा लगायतका सीमावर्ती क्षेत्रमा प्रहरलिे चेकजाँचलाई कडा करेको थियो । यद्यपी दुई साता नबित्दै फेरि तस्करसँगको मिलेमतोमा चेकजाँचलाई तस्करसँगको फेरि खुकुलो बनाइयो,’ ती व्यवसायीले भने ।

उनका अनुसार प्रहरीले धम्बोझीस्थित घनश्याम सोनकरले सञ्चालन गरेको प्रदीप मासु पसलमा ६ वटा जुटको बोराभित्र २९१ किलो छाला र हड्डी नभएको अवैध ब्रोइलर कुखुराको मासु फेला पारेको थियो । कुखुरा व्यवसायी थापाले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको व्यवसायीहरु बताउँछन् । व्यवसायीका अनुसार नेपाली खुद्रा व्यापारी र केही भारतीय मिलेर यस्तो धन्दा गरेका छन् । उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चोरबाटो हुँदै कुखुरा ल्याउने गर्छन् । केहीले साइकलमा बाँधेर ल्याउँछन् ।

नेपालमा भन्दा सस्तो पर्ने हुँदा स्थानीयले भारतबाट ल्याइएका कुखुरा किन्दै आएका छन् । भारतमा जिउँदो कुखुरा ९५ देखि १०० भारुसम्म पर्छ । नेपालमा झन्डै दोब्बर मूल्य छ । यही कारण पारिको कुखुराको डिमान्ड बढेको हो । भारतबाट कुखुराजन्य बस्तुको तस्करी बढे पनि प्रहरी प्रशासनले रोक्न पहल नगरेको व्यवसायीको गुनासो छ ।

व्यवसायीहरुका अनुसार यहाँ जिउँदो कुखुरा प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । नेपालमा भन्दा भारतमा सस्तो हुनेबित्तिकै सीमा क्षेत्रबाट कुखुराको अवैध कारोबार बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । सीमानाकामा चहलपहल कम भएका बेला बिहान सबेरै वा दिउँसै पनि आफूले भारतबाट नेपालतर्फ कुखुराजन्य बस्तु भित्रिन्छ ।

धेरै तस्करी हुने भनिएका क्षेत्रहरूमा प्रहरी चुस्त अनुगमन र निगरानीको साट्टा प्रहरी–तस्कर मिलेमतोका कारण तस्करी नियन्त्रण हुन नसकेको व्यवसायीहरू बताउँछन् । उनीहरुका अनुसार सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि बाँकेमा कुखुरा तस्करी गर्ने गिरोह सक्रिय देखिएको छ ।

सीमा क्षेत्रमा खटिएका प्रहरी र सशस्त्रकै मिलेमतोमा कुखुरा तस्करी भइरहेको स्थानीयहरुको दावी छ । नेपालगन्ज–१५ का रामप्रसाद यादवले जमुनाहा नाकाबाट दैनिकजसो भ्यानमा कुखुरा तस्करी भएर नेपालगन्ज बजारसम्म पुग्ने गरेको बताए । ‘पहिले अँध्यारोमा तस्करी हुन्थ्यो,’ उनले भने, ‘अहिले त दिउँसै तस्करी हुन थालेको छ ।’

कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र भ्यान प्रयोग हुने गरेको छ । तस्करी रोक्ने निकायले नै महिनापिच्छे असुल गर्ने गरेको एक व्यापारीले बताए । ‘प्रहरीले चाहे एउटा कुखुरा पनि ल्याउन मुस्किल छ तर गाडीका गाडी कसरी ल्याउँछन् ?’, उनले भने, ‘महिनावारी असुल्न सजिलो पार्नकै लागि प्रहरी–प्रशासनले कहिलेकाहीँ कुखुरा बरामद गर्ने गरिन्छ ।’

सीमावर्ती बजारमा भारतबाट अवैध रूपमा आयातीय अन्डासमेत बिक्रीवितरण हुने गरेको छ । चोकमा टेबल राखेर त्यसमाथि खुलेआम भारतीय सेतो अन्डा खरिदबिक्री भइरहेकाले सीमावर्ती क्षेत्र बर्डफ्लुको उच्च जोखिममा छन् । बाँकेको जमुनाहा नाकाका साथै नरैनापुर, खडैचा, सितापुर र राधापुर क्षेत्रमा पनि तस्करी मौलाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १३:४४

लोकप्रिय