सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध कारोबार

कर्णालीमा फैलिँदै लागूऔषधको जालो, डरलाग्दो भुमरीमा युवापुस्ता

ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको लागूऔषधको कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न कठिन छ ।

बढ्दो सहरीकरणसँगै कर्णाली प्रदेशमा लागुऔषधको कारोबार अत्यधिक मात्रामा हुने गरेको छ । प्रहरीको तथ्यांक अनुसार दैनिकजसो कारोबारीहरु प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रत्येक वर्ष लागुऔषध सेवनकर्ता र कारोबारीको संख्यामा वृद्धि हुँदै आएको छ ।

केही समयअघिसम्म कर्णाली प्रदेश अन्तर्गत लागुऔषध कारोबारी सुर्खेतमा मात्र भेटिने गरेका थिए । पछिल्लो समय अन्य जिल्लामा समेत यसका कारोबारी भेटिने गरेको प्रहरीले बताउँछ । अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकृत भन्छन्, ‘पहिलै प्रायः लागुऔषध कारोबारमा संलग्न हुनेमा पुरुषमात्र हुन्थे, पछिल्लो समय महिला समेत भेटिएका छन् ।’

कर्णालीमा आउने लागुऔषध कारोबारीमध्ये धेरैजसो नेपालगन्ज हुँदै सुर्खेतमा आउने गरेको भेटिन्छन् । नेपाल–भारत खुला सीमा भएकाले भारतीय बजारबाट लागुऔषध नेपालगन्जको बाटो हुँदै सुर्खेत आउने गरेको प्रहरीको भनाइ छ । कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) लालमणि आचार्य लागुऔषध नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताउँछन् ।

उनका अनुसार लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रै पक्राउ पर्दै आएका छन् । तर कारोबार घट्नुको सट्टा दिनानुदिन बढिरहेको छ । भारतीय सहरका विभिन्न औषधि पसलबाट नेपालगन्ज नाका हुँदै भित्र्याइने लागूऔषध यहाँबाट कर्णालीका पहाडी तथा हिमाली जिल्लाहरुका विभिन्न ठाउँमा पुग्ने गरेको प्रहरी तथ्यांक छ ।

सुर्खेतलगायत जिल्लाका प्रहरीले कारोबारीहरू समात्न धमाधम समातिरहेको छ । तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्झन् बढ्दो छ । यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख आचार्यका अनुसार लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

उनले भने, ‘कर्णाली प्रदेशमा बढ्दो लागूऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारिएको छ । जसको परिणाम पक्राउ पर्नेको संख्यामा वृद्धि भइरहेको छ ।’ प्रदेश राजधानी सुर्खेतमा मात्रै होइन, यहाँका पहाडी तथा हिमाली जिल्लाका सहरोन्मुख गाउँमा पनि लागूऔषधको प्रयोग बढिरहेको छ ।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागूऔषधको जालो फैलँदो छ । तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागूऔषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन् । लागूऔषध कारोबारको धन्दामा सीमापारिदेखि पहाडी र हिमाली जिल्लासम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सीमापारि, मधेस र पहाडका युवाहरुको त्रिकोणात्मक सञ्जालले लागूऔषधको कारोबार फैलाइरहेको पाइएको छ । एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह त्यहाँबाट पहाडी जिल्लाको सहरसम्म पु¥याउने र तेस्रो समूह पहाडी तथा हिमाली जिल्लाका सहरोन्मुख गाउँसम्म लागूऔषध पु¥याउन गरेको प्रहरीले जनाएको छ ।

‘कर्णालीमा प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ,’ कर्णाली प्रदेशका प्रहरी प्रमुख आचार्य भन्छन्, ‘धेरै कारोबारी सुर्खेतमै छन् । यसको अर्थ हाम्रो सहर ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको छ ।’ डिआइजी आचार्यका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न कठिन छ ।

‘यातायात पुग्ने ठाउँमा लागुऔषध कारोबार बढी नै हुने भएकाले यातायात र लागुऔषध नङ र मासुको जस्तै सम्बन्ध हुन्छ,’ आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले भने, ‘लागुऔषधबारे घरपरिवार तथा विद्यालयका शिक्षकहरुले समेत बालबालिका र युवापुस्तालाई यो राम्रो होइन भन्ने खालको शिक्षा दिनुपर्छ ।’ उनले आवश्यक कानुन, कार्यविधि तथा योजनाहरु बनाएर कार्यान्वयन गर्न सकेमा लागुऔषध नियन्त्रण हुने सक्ने बताए ।

‘लागुऔषध खतरनाक चिज हो, घरपरिवार र विद्यालय तहदेखि नै यो विषयमा सचेतनामुलक शिक्षा प्रदान गरिनुपर्छ,’ उनले भने, ‘यदि समयमै सबैले ध्यान नदिए यसले भविष्यमा ठुलो समस्या निम्त्याउन सक्छ ।’ लागुऔषध कारोबार रोक्न प्रहरीको प्रयत्नमात्र पर्याप्त नहुने प्रहरी अधिकारीको भनाइ छ । कर्णालीमा प्रत्येक वर्ष लागुऔषधका कारोबारी र सेवनकर्ता बढ्दै गएको प्रहरीको तथ्यांक छ ।

हुम्लाबाहेक सबै जिल्लामा लागुऔषध कारोबार

पछिल्ला वर्षमा कर्णाली प्रदेशमा लागूऔषध कारोबारीहरू बढेसँगै मुद्दा दर्ताको सङ्ख्या पनि बढ्दो छ । तीन वर्षयता कर्णालीमा ३३४ लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ भने ६०७ जनालाई पक्राउ गरिएको छ । कर्णालीका हिमाली जिल्ला जुम्ला र मुगुमा समेत लागूऔषध कारोबारीहरू बढ्दो अवस्थामा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोबारी भेटिने गरेको जनाएको छ । हुम्लाबाहेक कर्णालीका सबै जिल्लामा लागूऔषध कारोबार हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ । गाउँगाउँमा समुदाय, विद्यालय, कलेजमा लागूऔषध न्यूनीकरणका लागि लालटिन समूह बनाएर अभियान पुगेको छ ।

तत्कालीन प्रहरी प्रदेश प्रमुख भिमप्रसाद ढकालको कार्यकालमा लागूऔषध न्यूनीकरणमा विशेष अप्रेसन सञ्चालन गरिएसँगै अहिलेसम्मकै धेरै संख्यामा मुद्दा दर्ता भएको हो । प्रदेशभर प्रहरीमार्फत सचेतना कार्यक्रमसमेत उत्तिकै भएका छन् । प्रहरीका अनुसार कर्णालीमा आव ०७७–०७८ मा ७० वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो ।

यसमा प्रहरीले ब्राउन सुगर ८४ ग्राम ५२७ मिलिग्राम, चरेस ३६ किलो ८४ ग्राम, अफिम ४० किलो ७०० ग्राम र ट्याब्लेट एक हजार ५८१ बरामद ग¥यो भने १३६ जनालाई समात्यो । त्यस्तै आर्थिक वर्ष ०७८–०८९ मा कर्णाली प्रदेशभर ९५ वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो ।

जसमा ब्राउन सुगर ११० ग्राम, २२० मिलिग्राम, चरेस १ केजी ७९३ ग्राम ६२० मिलिग्राम, अफिम १ केजी ८०० ग्राम ५ मिलिग्राम, ट्याब्लेट १ हजार ८७५ र ६०० एम.एल. कोरेक्स बरामद भएको थियो । त्यतिबेला प्रहरीले कारोबारी, प्रयोगकर्तासहित १७२ जनालाई आवश्यक कारबाहीका लागि पक्राउ गरेको थियो ।

तीन वर्षयता सबैभन्दा बढी मुद्दा दर्ता आर्थिक वर्ष ०७९–०८० मा ११४ वटा भयो यसमा प्रहरीले २१४ जनालाई पक्राउ गरी कारबाही गर्यो । कर्णाली प्रदेश प्रहरीले यसअघि लागुऔषध नियन्त्रणका लागि विशेष टोली बनाएर परिचालन गरेको थियो । त्यसैले कर्णालीमै धेरै कारोबारी र प्रयोगकर्ता समातिए ।

आव ०७९–०८० मा ब्राउनसुगर २०५ ग्राम २७२ मिलिग्राम, चरेस १६३ ग्राम ९७७ मिलिग्राम, गाँजा ६८७ ग्राम ८२ मिलिग्राम, ट्याब्लेट २७१ र १७ सिसी झोल औषधी बरामद भएको थियो । आव ०८०–०८१ को हालसम्म ५५ वटा लागुऔषधका मुद्दा दर्ता भएकोमा ८५ जनालाई पक्राउ गरेको छ ।

ब्राउन सुगर ८० ग्राम ३९० मिलिग्राम, चरेस ८४ ग्राम ९४८ मिलिग्राम, गाँजा ८०९ ग्राम ३६० मिलिग्राम, अफिम ९४० मिलिग्राम र ट्याब्लेट ३० वटा बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) लालमणि आचार्यले लागूऔषध न्यूनीकरणका लागि प्रहरीहरू विशेष रूपमा परिचालन गर्ने बताउँछन् ।

प्रदेश प्रहरीका अनुसार सबैभन्दा बढी सुर्खेतमा कारोबारी र प्रयोगकर्ता पक्राउ परेका छन् भने हिमाली जिल्ला मुगु र जुम्लामा समेत लागुऔषध प्रयोगकर्ताहरू फैलिसकेको तथ्याङकले देखाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले हुम्लामा अहिलेसम्म लागुऔषध कारोबारी र प्रयोगकर्ता नभेटिएको जानकारी दिएको छ ।

लागुऔषध सेवन, ओसारपसार र विक्री वितरणमा संलग्नहरुको निगरानी बढाउन कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी बढाउने काम सुरु गरेको डिआइजी आचार्य बताउँछन् । उनले भने, ‘कर्णालीका सबै जिल्लामा लागुऔषध ठुलो समस्याको रुपमा देखापरेको छ । यसको रोकथामका लागि प्रहरी सक्रिय भएर निगरानी बढाइरहेको छ ।’

मानव स्वास्थ्यका लागि खतरनाक मानिएको लागुऔषध कारोबार सुर्खेतमा सबैभन्दा धेरै कैलालीमा हुने गरेको छ । प्रहरीले लागूऔषध सेवनकर्ता र बिक्रीवितरणमा संलग्नलाई पक्राउ गरिरहेको भए पनि नियन्त्रण भने हुन सकेको छैन । प्रहरी अहिले पनि कारोबारमा संलग्न ठूला गिरोहसम्म पुग्नै सकेको छैन । पक्राउ पर्ने सेवनकर्ताको संख्या धेरै छ ।

प्रदेशभर प्रहरी सक्रियता !

कर्णाली प्रदेश प्रहरी कार्यालयले आपराधिक क्रियाकलापका विरुद्ध जनचेतला मूलक कार्यक्रम गदै आएको छ । विषेशगरी लागुऔषध, सामाजिक सञ्जालको दुरुपयोग, ट्राफिक तथा यौनजन्य अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै आएको हो । तर अपराधकर्म भने घटेको देखिँदैन ।

सामुदायिक प्रहरी साझेदारीता कार्यक्रम अर्न्तगतका जनचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रमहरू गरिँदै आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमूख आचार्य बताउँछन् । प्रहरीले प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमार्फत विद्यालयका बालबालिकादेखि अभिभावक तथा समुदायमा जनचेतनाका कार्यक्रम गर्दै आएको छ ।

सबै जिल्लामा बालविवाह, सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुर्व्यसन, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । लागुऔषध दुव्र्यसनी तथा कारोबारी बढे पनि प्रहरीले भने उनीहरूको सञ्जाल तोडेको दाबी गरेको छ ।

डिआइजी आचार्यले लागुऔषधविरुद्ध अप्रेसन तीव्र पारेको जनाए । उनले दुव्र्यसनीलाई ठाउँको ठाउँमा कारबाही गरेको बताउँदै भने, ‘पहिले बाटो बाटोमा बसेर लागुऔषध लिने गरेको रिपोर्टहरू आउँथे, अहिले त्यस्तो छैन ।’ जनचेतनाका कार्यक्रमले बालबालिकादेखि अभिभावक तथा समुदायसम्म सचेतना फेलिएको पनि उनले बताए ।

‘विगतभन्दा अहिले लागुऔषध सम्बन्धी गतिविधि धेरै नियन्त्रणमा आएको छ । लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिएर सक्रिय हिसाबले लागेका छौँ,’ डिआइजी आचार्यले भने । लागुऔषध नियन्त्रणमा देखाएको सक्रियताले समाजमा ठूला अपराधिक घटनाहरु पनि घटिरहेको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १२:४३

लोकप्रिय