२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

आगलागीका कारण कर्णाली पुलमा क्षति भएपछि गाडी बन्द

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन २९ गते मंगलबार

कर्णाली पुलमा हिजो भएको आगलागीबाट आंशिक क्षति भएपछि गाडी आवागमन बन्द भएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र गाडी सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

आगलागीबाट पुलको १४  वटा ‘सपोट’ डोरीमा क्षति पुगेको छ । कर्णाली पुलबाट गाडी आवागमन बन्द भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाण्डौ तथा अन्य प्रदेशमा जाने गाडी लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने गाडीलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले आग्रह गर्नुभएको छ।

हिजो बेलुका पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पुलमै पुगेपछि आगो लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रकमा लागेको आगो चार घण्टापछि मात्र पूर्णरूपमा निभाइएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।

ट्रकमा कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल रहेको र उनीहरुलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन २९ गते मंगलबार