सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा स्रोत नखुलेको सवा करोड रुपैयाँसहित ६ जना पक्राउ

जिल्ला प्रहरी बाँकेले आज नेपालगञ्जका दुई वटा होटेलमा छापा मार्दा करिब सवा १ करोड रुपैयाँ  बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज बसपार्कका दुई होटेलमा छापा मार्दा श्रोत नखुलेको १ करोड १५ लाख रुपैयाँसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार बाँके प्रहरीले तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेपछि उनीहरुको बयानका आधारमा गरिएको अपरेशनमा आज नेपालगञ्ज ४ बसपार्कमा रहेको होटेल सन्तोष दंगालीमा बसेका ३५ वर्षीय रोहित क्षेत्री, दाङका ४३ वर्षीय कृष्ण बिक, भारत घर भएका राहुल जैसवाल र बसपार्ककै अर्को कालिका होटेलमा छापा मार्दा नेपालगञ्ज १६ जयसपुरका ५० वर्षीय सलिम जोलाह र सोही स्थानकै २५ वर्षीय आसिफ अन्सारीलाई करोडौं रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको साथबाट १ करोड १५ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी बाँके श्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेले आइतबार पनि ३८ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार दिउँसो नेपालगन्जको धम्बोझी चोकको सांग्रीला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँसहित राजापुर १ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पूर्णिमा थारु र  नेपालगञ्ज १६ जयसपुरका हसिब अजमत जसगढलाई पनि पक्राउ गरेको थियो ।

प्रहरीले आज बरामद गरेको करोडौं रुपैयाँ भारतमा भएको सुन कारोबारको हुण्डी रकम भएको बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १७:०९

लोकप्रिय