सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा गाउँपालिकामा औलोका बिरामी बढ्दै

बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परीक्षण गर्दा औलो रोग पुष्टि भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं. ४ अन्तर्गतका टोलमा घरधुरी सर्वेक्षण सुरु गरेको जनाएको छ ।

तीन जनाका दरले चार वटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमुना परीक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थाहरूमा रगत परीक्षणको कार्य निःशुल्क रूपमा व्यवस्था गरिएको छ ।

समुदायमा पुगेका स्वास्थ्यकर्मीहरूले रोगबाट बच्ने उपाय, सावधानी लगायतका विषयमा जानकारी गराउने कार्य गरिरहेका छन् । पालिकाले घरधुरी सर्वेक्षण पश्चात् रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउने बित्तिकै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेका छौँ, उक्त रोगविरुद्ध हामी उच्च सतर्कता अपनाएका छौँ ।”

बाँकेको नरैनापुर गाउँपालिकामा औलोका सबैभन्दा बढी बिरामी भेटिएका छन् । चालु आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि माघसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवामा पाँच जना, राप्तीसोनारीमा पाँच जना, बैजनाथ गाउँपालिकामा एक जना, नेपालगन्ज उपमहानगरपालिकामा पाँच जनामा औलो रोगको बिरामी भेटिएको र अरू पालिकामा शून्य रहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोगका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।

उहाँका अनुसार बाँके जिल्ला नै औलोको उच्च जोखिममा छ । औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०८:५१

लोकप्रिय