सूचनाको शक्ति - The Power Of Information

        

खजुराको सैनिकस्थित मैटहवा माविको खेल मैदानमा ‘खुला प्याराफिट’

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ सैनिकमा खुला प्याराफिट निर्माण कार्य सुरु भएको छ । मैटहवा माविको खेल मैदानमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा करिब ४०० दर्शक क्षमता रहेको प्याराफिट बन्न लागेको हो । प्याराफिट निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ४० लाख र स्थानीय स्रोतबाट चार लाख रुपैयाँ खर्च गरेर प्याराफिट निर्माण हुँदैछ ।

लुम्बिनी प्रदेशसभा सदस्य एवं संविधानसभा सदस्य बादशाह कुर्मीले प्याराफिटको शिलान्यास गरेसँगै निर्माण कार्य अघि बढेको छ । प्याराफिट निर्माणसँगै खजुराको सैनिक क्षेत्रमा फुटबल खेलका गतिविधि आयोजनामा सहज थप हुने स्थानीयहरूको विश्वास छ । सैनिकमा रहेको जय किसान स्पोर्टस क्लबले यहाँ फुटबलका गतिविधिहरू आयोजना गर्दै आएको छ ।

खजुरा–१ स्थित मैटहवा माविको खेल मैदानमा सुरुआती चरणमा पूर्वतर्फ प्यारापिट निर्माण गरिँदैछ । निसान विल्डर्सले उक्त योजना निर्माणको ठेक्का पाएको छ । ४४ लाख रुपैयाँमा पहिलो चरणको काम हुन लागेको खजुरा गाउँपालिका–१ का अध्यक्ष मनीवर क्षेत्रीले बताए । प्याराफिटको सम्पूर्ण कार्य सम्पन्न गर्न करिब दुई करोड ५० लाख रुपैयाँ खर्च हुनेछ ।

सैनिकका जनताको भावना अनुरूप प्यारापिट निर्माणको लागि बजेट व्यवस्थापन गरिएको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले बताए । उनले भने, ‘आज शिलान्यास भएको छ, दुई वर्षमै काम सम्पन्न हुनेछ । युवाहरूलाई स्वस्थ बनाउन खेलकुद अति आवश्यक छ । सैनिक क्षेत्रमा खेलकुदमा धेरै आकर्षण छ । त्यो कुरालाई ध्यानमा राखेर बजेट विनियोजन गरेका हौँ ।’

खजुरा सैनिकमा हरेक वर्ष पूर्व राष्ट्रिय खेलाडी श्याम थापा स्मृति कप फुटबल प्रतियोगिता हुने गरेको छ । प्रतियोगिताको दौरान दर्शकलाई बस्न निकै कठिन हुने गरेको थियो । अब फुटबल प्रतियोगिता हुँदा दर्शकहरूलाई सहज रूपमा खेल हेर्न मिल्नेछ । मैटहवामा प्यारापिट निर्माणमा सक्रिय भएर लागेका खजुरा–१ का वडाध्यक्ष क्षेत्रीले प्रदेश सभासद् कुर्मीलाई धन्यवाद दिए ।

उनले प्याराफिट निर्माण सम्पन्न गर्न आगामी वर्षमा बजेट विनियोजन गर्न आग्रह गरे । उनले भने, ‘सैनिक फुटबलले चिनिएको गाउँ पनि हो ।’ थुप्रै प्रतिभाशाली खेलाडी जन्माएको सैनिक क्षेत्रमा एउटा गतिलो रङ्गशाला नहुँदा खेलाडीलाई समस्या भएको छ । खजुरा गाउँपालिकाले मैटहवा माविमै भएको मैदानलाई मिनी रङ्गशालाको रूपमा विकास गर्ने योजना बनाएको छ ।

मैटहवामा मिनी रङ्गशाला निर्माणमा सबैको साथ र सहयोगको आवश्यकता रहेको खजुरा गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । सैनिकमा निर्माण हुन लागेको प्यारापिट सहितको खेल मैदान तेस्रो हो । यसअघि खजुराको डी गाउँको खेल मैदान र शुक्र भलिबल रङ्गशालामा प्याराफिट निर्माण गरिएको छ ।

योजना निर्माणको ठेक्का पाएको कम्पनी निसान बिल्डर्स प्रमुख मुकेश खड्काले करिब चार महिनामा पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाएको बताए । खेल मैदानमा प्याराफिट निर्माणमा सहयोग गरेकोमा मैटहवा माविका प्रधानाध्यापक शिवशङ्कर रोकाय क्षेत्रीले प्रदेशसभा सदस्य कुर्मीलाई धन्यवाद दिँदै विद्यालयको अन्य भौतिक पूर्वाधारको स्तरोन्नतिमा सहयोगको अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतवार १७:०१

लोकप्रिय