सूचनाको शक्ति - The Power Of Information

        

निश्चित उमेरपछि मदिरापान सुरक्षित ?

विश्वविद्यालय जान घर छोडेको दिन अर्थात् १८ वर्ष पुगेपछि बेलायतमा रक्सी किन्न पाइन्छ । धेरै युवा धेरै मदिरा पिउँदा त्यसले आफ्नो आयुलाई असर गर्छ भन्नेबारे जानकार हुन्छन् तर पनि मदिरा उनीहरुका लागि कुल कुरा हो । चिकित्सकहरुका अनुसार युवा मस्तिष्कलाई मदिराले फरक तरिकाले असर गर्छ । यो उमेरमा मदिरापानले ज्ञानको विकासमा दिगो असर पुर्याउँछ ।

विश्वभरबाट आएका अनुसन्धानले उमेर र मदिराबारेको साझा धारणाहरू उल्ट्याउन थालेका छन् । यो नयाँ विज्ञानले विभिन्न देशको विद्यमान कानुन परिवर्तन हुनुपर्छ कि पर्दैन भन्ने विषयमा पनि बहस जन्माएको छ । कसैको पनि दुईमत छैन, मदिरा भनेको विषाक्त पदार्थ नै हो । यसले निम्त्याउने खतराहरूमा घातक दुर्घटना, कलेजोमा खराबी र थुप्रै प्रकारका क्यान्सरहरू पर्छन् ।

थोरै मात्रा भए पनि यसमा क्यान्सर गराउन सक्ने कार्सिनोजेनिक पदार्थ हुन्छ । विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ, मदिरा सेवन गर्दा यति पिउँदा सुरक्षित हुन्छ र यसले स्वास्थ्यलाई असर गर्दैन भन्ने नै हुँदैन । मदिरा सेवनले दिने आनन्दभन्दा यसले निम्त्याउने खराबी धेरै हुन्छ । तर हाम्रा स्वास्थ्यसम्बन्धी नीतिहरू मध्यम सेवनले क्षति सीमित तुल्याउने सिद्धान्तबाट निर्देशित छन् ।

जस्तो कि अमेरिकामा प्रतिदिन पुरुषले दुई ग्लास र महिलाले एक ग्लासभन्दा बढी पिउन नहुने भनिएको छ र अन्य धेरै देशले पनि त्यही निर्देशिका पछ्याएका छन् । बियर र वाइनलाई आम रूपमा सुरक्षित पेय पदार्थको रूपमा लिइए पनि अमेरिकाको निर्देशिका अनुसार फरक पार्ने भनेको कति मात्रामा मदिरा सेवन गरियो भन्ने रहन्छ । मदिरा सेवनले गर्ने हानि सीमित तुल्याउन सबैतिर उस्तै तर्कका आधारमा नियम तय गरिएको छ ।

कानुनले बालबालिकालाई किन्न दिँदैन भने उमेर पुगेका युवालाई चाहिँ उनीहरूकै इच्छाअनुसार गर्न दिन्छ । धेरैजसो युरोपेली देशहरूमा मदिरा किन्न पाउने उमेर १८ रहेको छ भने अमेरिकामा त्यो उमेर २१ तय गरिएको छ । नेपालमा यस्तो उमेर १८ वर्ष छ । यद्यपि कानुनले मदिरा पिउने न्यूनतम उमेर तय गरे पनि मदिरापान भर्खरैका युवाका लागि किन बढी खतरनाक छ भन्ने थुप्रै कारणहरू छन् ।

एउटा भनेको शरीरको आकार र प्रकार हो । २१ वर्ष नपुग्दासम्म उनीहरूले आफ्नो वयस्क उचाइ ग्रहण गरेका हुँदैनन् । त्यसपछि पनि ३० वा ४० मा पुग्दाजस्तो शरीरको आकार ग्रहण नगरेका हुन सक्छन् । ‘त्यसैले पनि रक्सीको एक गिलास पिउँदा उमेर पुगेका वयस्क भन्दा भर्खरैका युवाको रगतमा धेरै नशा दिन्छ,’ पिउने न्यूनतम उमेर बढाउनुपर्ने विषयबारे लेखिएको बियोन्ड लेजिस्लेसनका लेखक तथा मास्ट्रिख्ट विश्वविद्यालयका पोष्ट डक्टोरल अनुसन्धानकर्ता रिट रुडबीनले बीबीसीसँग भने ।

उनका अनुसार जब तपाईंले मदिरा पिउनुहुन्छ यो तपाईंको रक्त प्रणालीमा प्रवेश गर्छ र शरीरभरि फैलिन्छ । पाँच मिनेटभित्र नै दिमागलाई हानि पुर्याउने पदार्थहरूबाट जोगाउने ब्लड–ब्रेन–ब्यारिअर (मस्तिष्क–रगत–अवरोधक) लाई पार गरेर मदिरा तपाईंको दिमागमा पुग्छ । ‘तुलनात्मक रूपमा युवाको दिमागमा मदिराको धेरै हिस्सा पुग्छ र यो कारणले पनि युवाहरूलाई अल्कोहल पोइजन हुने सम्भावना धेरै रहन्छ,’ रुडबीनले भने ।

विगतमा स्नायु विकास हाम्रो किशोरावस्थाको सुरुकै चरणमा रोकिने ठानिएको थियो तर हालैका बृहत् अनुसन्धानले भने किशोरावस्थामा पनि मस्तिष्क विकास जटिल अवस्थामा हुने र त्यो कम्तीमा २५ वर्षसम्म रहने देखाएका छन् । किशोरावस्थाका मानिस र युवा पाका मानिसहरूभन्दा धेरै खतरा मोल्न सक्ने हुन्छन् । धेरै मानिसले किशोर मस्तिष्कलाई ब्रेकबिनाको गाडी भनी व्याख्या गर्छन् ।

हाम्रा न्युरोनहरू रक्सीमा डुब्नु भनेको त्यस्तो अवस्थालाई थप उक्साउनु हो । खासगरी उत्ताउला किशोरावस्थाका मानिसहरूलाई रक्सीले खराब व्यवहार र अपराधको दुष्चक्रमा फसाउँछ । आवेगी किशोरावस्थाका मानिसहरूले जति मदिरा पिउँछन् त्यति नै उनीहरूमा थप आवेगपूर्ण व्यवहार देखिन्छ । कम उमेरमै पिउन सुरु गर्दा त्यसले मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ र समय बढ्दै जाँदा रक्सीको दुरुपयोगको खतरा पनि बढाउँछ ।

यो खासगरी रक्सीको दुर्व्यसनमा परेका पारिवारिक इतिहास भएका मानिसका लागि सत्य सावित हुन सक्छ । जति छिटो उनीहरूले पिउन सुरु गर्छन् त्यति छिटो उनीहरूले पिउने बानी समस्याका रूपमा विकास गर्न सक्छन् । मस्तिष्कको विकासको महत्त्वपूर्ण अवधिका बेला रक्सीको दुरुपयोगको बानी बसाल्ने जीन प्रभावशाली देखिन्छन् । जानकारहरु भन्छन्, जति सक्नुहुन्छ त्यति ढिलो गर्नुहोस् । किनभने तपाईंको मस्तिष्क अझ पनि विकास भइरहेको छ ।

रक्सी वा अरू खानेकुरा प्रयोग गर्न थाल्नुअघि तपाईंको मस्तिष्कलाई जति सक्नुहुन्छ उति परिपक्व बन्न दिनुस् । यो सुझावलाई कानुनमा नै व्यवस्था गर्ने कि नगर्ने भन्ने विषयमा बहस छ । फ्रान्सजस्ता मुलुकमा उमेर पुगी नसकेका किशोरकिशोरीलाई एक ग्लास वाइन या बियर परिवारसँगको खाना खाने समयमा खान अनुमति दिइन्छ । युरोप बाहिर पनि विस्तारै र थोरै रक्सी खान सिकाउँदा युवाहरूलाई पछि गएर एकै पटक अति धेरै रक्सी खाने बानी नपर्ने ठानिन्छ । जबकि रोक्दा उल्टै खान नदिने कुराप्रति झन् बढी आकर्षित हुने हुन सक्छ ।

अनुसन्धानले के देखाएको छ भने रक्सी खान सजिलै अनुमति दिने बाबुआमाका छोराछोरीको पछि गएर जीवनमा धेरै रक्सी खाने बानी हुन सक्छ । रोक्दा झन् लालायित हुने विश्वासबारे गरिएको अध्ययनले देखाएको छ कि किशोर अवस्थामा रक्सी खाँदा कडा नियम लगाउने बाबुआमाका छोराछोरीका कम खाने र रक्सी सम्बन्धी खतराजन्य बानी कमै हुने देखाएको छ । धेरै प्रमाणहरूले के देखाएका छन् भने रक्सी पिउने सम्बन्धी कडा नियम भएका ठाउँ, जहाँ किन्न पाउने उमेर पनि बढी हुन्छ ।

त्यसले बढ्ता जिम्मेवारपूर्ण रक्सी खाने बानी बसाउन प्रोत्साहन गर्छ । अस्ट्रियामा १६ वर्ष माथिका किशोरकिशोरीले बियर अथवा वाइन किन्न पाउने कानुन छ । यदि कडा कानुनले झन् बढी खान प्रोत्साहन गर्छ भनेर मान्ने हो भने अमेरिकामा भन्दा अस्ट्रियामा रक्सी पिउने सम्बन्धी समस्या कम हुनुपर्ने हो । अमेरिकामा रक्सी खान पाउने उमेर २१ हो । तर अध्ययन अनुसार त्यस्तो त भएको छैन । दुवै देशमा रक्सी खान पाउने उमेर पार गरेपछि एक पटकमा अति धेरै रक्सी पिउने समस्या झन् बढेको पाइएको छ ।

तर अस्ट्रियामा १६ वर्षको उमेरमा रक्सी खान पाउने ठाउँमा २१ वर्षको उमेरमा अमेरिकामा रक्सी खान पाउँदा भएको समस्या तुलना गर्दा अस्ट्रियामा २५ प्रतिशतले बढी देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा पर्खाइले ढिला उमेरमा रक्सी खाँदा बढ्ता जिम्मेवार तरिकाले रक्सी खान प्रोत्साहन गरेको पाइयो । जब रक्सी वैध रूपमा खान पाउने उमेर पुग्छ त्यसपछि किशोर उमेरका व्यक्तिहरू रक्सी त्यसअघि भन्दा कम खतराजन्य भएको ठान्छन् ।

१६ वर्षको उमेरमा आउने झुटो सुरक्षा भावना खतरनाक हुन सक्छ जबकि २१ वर्षको उमेरमा उनीहरूको मस्तिष्क रक्सी पिउने बानीबारे निर्णय लिन बढ्ता परिपक्व भइसकेको हुन्छ । वैज्ञानिक प्रमाणका आधारमा के सरकारहरूले रक्सी पिउने वैधानिक उमेर २५ वा त्यसभन्दा बढी बनाउनु ठीक होला त ? जुनबेला मस्तिष्कको विकास हुन रोकिएको हुन्छ ।

विज्ञहरू भन्छन्, यसको जवाफ त्यति सजिलो छैन किनभने आम सर्वसाधारणको स्वास्थ्यमा हुने फाइदा र मानिसहरूको वैयक्तिक स्वतन्त्रता सम्बन्धी धारणा सन्तुलनमा राख्नुपर्ने हुन्छ । किशोर किशोरीहरूलाई रक्सीको खतराबारे राम्रो शिक्षा दिनु र त्यसले कसरी परिपक्व बन्दै गएको मस्तिष्कलाई असर पार्छ भन्ने बुझाउन महत्त्वपूर्ण हुन सक्छ । मानिसहरू प्राकृतिक रूपमै जिम्मेवार बानी बेहोरा विकास गर्नेछन् भन्ने अनुमान गर्नु चाहिँ अलि बढी नै आशावादी धारणा हो ।

स्रोत : बीबीसी हिन्दी
प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतवार १६:३२