सूचनाको शक्ति - The Power Of Information

        

संवाद

आत्मनिर्भर र समृद्ध खजुराका लागि ‘योजनावद्ध विकास’

खजुराका नागरिकहरुको कामलाई कसरी सहज बनाउने र उहाँहरुको माग अनुसारका योजना कार्यान्वयन गर्ने नै मेरो मेरो कर्तव्य वा जिम्मेवारी रहेको छ ।

भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिका समुद्र सतहबाट १३० मिटरदेखि १६४ मिटरको उचाईसम्मको मात्र विविधता रहेको छ । १०१.९१ वर्ग किलोमिटर क्षेत्रफल रहेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछन् । भारतीय सीमा नजिक पूर्व सैनिकहरुको बस्ती छ ।

खजुरा बाँकेको ब्यवस्थित बसोबास भएको र पुरानो बजार पनि हो । साविकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, र रनियापुर गाउँ विकास समितिलाई समेटर ८ वटा वडाहरू कायम गरी यो गाउँपालिका निर्माण गरिएको हो । २०७८ को जनगणना अनुसार खजुरा गाउँपालिकाको कुल जनसंख्या ६२ हजार ७८९ रहेको छ । सबैभन्दा बढी जनसङ्ख्या हुने गाउँपालिकामध्ये खजुरा तेश्रो गाउँपालिका हो ।

जातीय हिसाबले मिश्रित बसोबास रहेको खजुरा गाउँपालिकामा मधेसी, मुस्लिम, थारु, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन् । जातीय र भाषिक विविधताले गाउँपालिका क्षेत्रमा मुख्यरुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लिम र क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्यता पनि उत्तिकै रहेको छ । पश्चिमी तराई क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भू-भाग समथर छ ।

सहकारिता, समन्वय र सह–अस्तित्वको सिद्धान्तका आधारमा सञ्चालन हुने वर्तमान संघीय शासन व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा निकटमा रहेर शासन सञ्चालनको परिकल्पना गरिएको छ । पालिकाले नयाँ संरचनाका माध्यमबाट संविधान प्रदत्त अधिकारको प्रयोग र शासन सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा समग्र गाउँपालिकाको अवस्था, स्थानीय सरकार सञ्चालनका चुनौति र आगामी कार्ययोजना लगायतका विषयमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’सँग गरिएको कुराकानी :

आफ्नो डेढ बर्षे कार्यकाललाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

पहिलो कुरा एक बर्षे कार्यकाल अनुभव र शिक्षामूलक नै रह्यो । कसरी सरकार सञ्चालन गर्ने कसरी कार्यक्रम सञ्चालन गर्ने, कहाँ–कहाँ अफ्ठेरा हुँदा रहेछन्, समस्याहरुलाई कसरी हल गर्ने भन्ने कुरा सिकाईको बर्षजस्तो भयो । चुनौतीपूर्ण पनि भयो । यद्यपी विगतमा यो जिम्मेवारी नहुँदा पनि मेरो कर्तव्य वा जिम्मेवारी जनताको काम सहज बनाउने नै थियो, अहिले गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदासमेत जनताकै कामलाई कसरी सहज बनाउने र उहाँहरुको माग अनुसारका योजना कार्यान्वयन गर्ने नै रहेको छ ।

हिजोका दिनमा पनि निरन्तर नेतृत्व गरेकै थिए । हिजो आफू दलको मात्रै काम गर्दा कतिपय दलकै नीतिअनुरुप काम गनुपथ्र्यौ, अहिले सरकारको नीति नियमभित्र रहनुपर्ने भएकोले केही सुरुका दिनमा केही गाह्रो महसुस भएकै थियो । हिजो पार्टीका गतिविधि सञ्चालन गर्दा विपक्षीहरुको कुनै प्रकारको अवरोध हुँदैन्थ्यो भने अहिले राज्य संरचना अनुसार स्थानीय सरकारको नेतृत्व तहमा हुँदा विपक्षीहरुको धेरैथोर आलोचना र प्रतिक्रिया सुन्नुपर्छ । तर हामी रचनात्मक कामका लागि विपक्षीहरुले गर्ने आलोचनालाई सहजरुपमा लिएर अघि बढ्छौं ।

एक बर्षे अवधीमा के कस्ता कार्यक्रमहरु सुरुवात भएका छन् ?

सबैको आँखा पर्ने भनेको भौतिक पूर्वाधार नै हो । भौतिक पूर्वाधारमा हामीले हामी आउनुभन्दा पहिलेका पनि गौरवका योजनाहरु छन् । प्रशासनीक भवन, शीत भण्डार, सभागृह, अस्पताल लगायतका केही भौतिक पूर्वाधार निर्माणाधिन अवस्थामा छन् । तीनलाई हाम्रो कार्यकालमा जसरी पनि सम्पन्न गर्नुपर्नेछ । काम चाँही अघि बढेकै छ । प्रशासनीक भवनले गति लिन नसके पनि ढिलो गरि काम अघि बढेको छ । सभाहल अन्तिम चरणमा छ, शीत भण्डार करिब सम्पन्न भइसकेको अवस्थामा छ । अर्को कुरा हामी आइसकेपछि केही योजनाहरु पनि थपेका छौं । लक्ष्य भनेको खजुरालाई नगरपालिकामा स्तरोन्नती गर्ने हो ।

त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा हाम्रो जोड रहेको छ । मनोरञ्जनका लागि पार्क आवश्यक पर्ने भएकाले शहिद पार्कको डिपिआर तयार गरी बजेट विनियोजन गरेका छौं । यसैगरी खजुरामा बसपार्क निर्माणको प्रक्रिया सुरु गरेका छौं । जग्गा अधिग्रहण गरी बसपार्क निर्माण गर्दैछौं । यसैगरी वडा नम्बर ८ मा बधुवा ताल रहेको छ । त्यसलाई जलासययुक्त बनाउने योजना छ । जसरी पानीका ताल तलैया पुरिने र पानीका श्रोत सुक्ने समस्या देखिएको छ । वातावरणलाई असर गर्ने परिस्थितिलाई मेकअप गर्न जलासययुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजेका छौं । त्यसका लागि बजेटको ब्यवस्था गरेर प्रदेशमा पनि माग गरेका छौं ।

१५-१६ विघामा रहेको तालमा सधैभरी पानी रहनेछ भने त्यहाँ बस्दै आएका मुक्त कमैया परिवारले होमस्टे चलाउनुहुनेछ । त्यसका लागि समिति बनेको छ, त्यसलाई सहयोग गर्छौ । नजिकैं सौर्य प्लान्ट रहेकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने लागेको छ । अर्को फोहोर ब्यवस्थापन गर्नुपर्नेछ ।

निजी क्षेत्रसँग साझेदारी गरेर फोहरलाई मोहरमा बदल्ने गरि काम अघि बढाउदैछौं । ट्याक्टर खरिद गरी जनशक्तिका लागि बजेट ब्यवस्थापन गरेका छौं । खजुरा बजारको फोहर ब्यवस्थापनका लागि जमिन खोजी यहि बर्षबाट काम हुने गरी लागेका छौं । विद्युतको सव–स्टेशन र फोरलेन सडक बनेपछि खजुरालाई नगरपालिका बन्नबाट कसैले रोक्न सक्ने छैन ।

प्रत्येक घरमा खानेपानी पुर्‍याउने योजनासहित अघि बढाएका छौं । खानेपानीले ट्याङ्की र पाइप दिएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिकाबाट पाइप लाइन विस्तारमा सहयोग गरिएको छ । हाम्रो कार्यकालमा खजुराका सबैघरमा खानेपानी पुग्नुपर्दछ भनेर लागेका छौं । अब जनतालाई यो पानी शुद्ध छ, यो पानी पिउनुपर्दछ भनेर धारा जोड्न लगाउनुपर्नेछ । स्वास्थ्यमा हामीले प्रत्येक नागरिकको पहुँच पुग्नुपर्छ भनेर लागेका छौं । त्यसका लागि जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सहित घरघरमा पुगेका छौं । यसैगरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकसँग स्वास्थ्य सेवा पुर्‍याइरहेका छौं । परम्परागत कृषिलाई ब्यावसायिक कृषिमा बदल्न सकिन्छ भन्ने विश्वास छ । त्यसका लागि सिचाईमा जोड दिदैं ४०० बढिलाई मोटर र बोरिङ बाँडेका छौं । लिफ्ट सिँचाई मर्मतसम्भार गर्‍यौँ ।

यस सिजनमा पानी नपर्दा अझै समस्या देखिएको छ । अर्कोतर्फ उत्पादनमा आधारित अनुदान प्रक्रियामा जानुपर्दछ भन्ने छ । जसका लागि वडामा सहायक संकलन केन्द्र र पालिकास्तरमा सङ्कलन केन्द्र हुनेछ । कृषकले त्यहाँ आफ्ना उत्पादनहरु ल्याउनुहुनेछ । त्यहाँबाट ब्यापारी कहाँ पुग्ने ब्यस्था मिलाइनेछ । धानको र गहुँको बिउ पालिकाले उत्पादन गर्नुपर्छ भनेर लागिपरेका छौं । पशुपालनतर्फ घासमा आत्मनिर्भर बनाउन कृषक समूह बनाएका छौं । कृषक समुहले धेरै उत्पादन गरेपछि बर्दिया, डोटीसम्म जाने गरेको छ । पशुमा देखिएको रोग नियन्त्रणका लागि २२ जनाको टोली परिचालन गरिएको छ । सुत्केरी पशुलाई भत्ताको ब्यवस्था गर्दा पशुपालनमा समेत वृद्धि भएको पाइएको छ ।

यसबाट गाइभैंसीको सङ्ख्या र दुध उत्पादनको तथ्याङ्क समेत प्राप्त भएको छ । पशुपालन फर्मलाई प्रोत्साहन र सहयोगका कार्यक्रम पनि ल्याएका छौं । फुल खेती, तरकारी खेतीका लागि सहयोग गरेका छौं । शिक्षामा प्रधानाध्यापकको मिलान गरेका छौं । सबै विद्यालयमा तहगत प्रअको ब्यवस्थापन गरिएको छ । लामो समयसम्म एउटै विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गर्ने नीति बनाउँदैछौं । शिक्षालाई गुणस्तरीय बनाउने नै हो । हिजोको सिकाईबाट कमजोर शिक्षकलाई विषयगत तालिम दिने र कमजोर विद्यार्थीका लागि थप कोचिङको ब्यवस्था मिलाउनका लागि बजेटको ब्यवस्थापन गरिएको छ ।

यस्तै लोकसेवा तयारी कक्षा सञ्चालन र लुम्विनी प्राविधिक विश्वविद्यालयमा दुई जना जेहेन्दार विद्यार्थीलाई अध्ययनको ब्यवस्थापन गर्दैछौं । विश्वविद्यालय छिटो सञ्चालनका लागि स्थानीयस्तरमा आवश्यक सहजीकरण गरेका छौं । अबै छिट्टै कक्षा सञ्चालन पनि हुनेछ । तत्काल प्रयोजनका लागि भवन पनि दिन सहमत छौं । यसरी भन्दा हिजोको एकवर्ष आधार तयार गर्न खर्च भएको छ । अब हामी आगामी कार्ययोजना कार्यान्वयन गरेर आत्मनिर्भर, समृद्ध खजूरा आफै बनाउन सक्छौं भन्ने लागेको छ ।

खजुरामा निर्माणाधिन ठुला आयोजनाको निर्माण कार्यमा ढिलाई भइरहँदा पालिकाको तर्फबाट कसरी सहजीकरण गरिरहनुभएको छ ?

खजुरा बजारमा फोरलेन सडक १८०० मिटर बनाउन लागेको लामो समय बितेको छ । अब सडक डिभिजनले ठेक्का तोडेर हुलाकी सडक अन्तर्गत निर्माण गर्नुपर्छ भनेर निरन्तर खबरदारी गरेका छौं । सडक डिभजनले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । तर यसबीचमा निमाृण ब्यवसायीले अदालतको आदेशमा भन्दै फेरि काम सुरु गर्न लागेको देखिन्छ । बजारको सडक पनि फराकिलो बनाउनुपर्छ । छिटो निर्माण कार्य अघि बढाउन हामी पहिले पनि डेलिगेशन गयौ । फेरी जान्छौं । परसपुर–गौघाट सडक केन्द्र सरकारले ठेक्का गरे पनि काममा ढिलाई भएको छ ।

हाम्रो निरन्तरको दबाब र पहलकदमीपछि भर्खरैं निर्माण कार्य अघि बढेको छ । यो सडक पनि छिटो द्रुतगतिमा बन्नुपर्दछ । केन्द्र र प्रदेशका योजना भए पनि ढिलाई हुँदा जनतालाई सास्ती भएकाले हामी अग्रसर हुनुपर्ने भएको छ । हामीले निरन्तर समन्वय र सहकार्य पनि गरेका छौं, प्रभावकारी भूमिका निर्वाह गरेका छौं । पालिकाभित्रै पालिकाले अघि बढाएका गौरवका सबै आयोजना सम्पन्न गर्नका लागि लागिपरेका छौं । हाम्रो निरन्तरको प्रयास र पहलकदमीपछि शीत भण्डारको काम अन्तिममा पुगेको छ । पालिका भवन पनि सम्पन्न हुने अवस्थामा पुगेपछि हामी नयाँ भवनमा सरीसकेका छौं ।

पालिकाका तर्फबाट योजना बनाउँदा घोषणा पत्रलाई कत्तिको महत्व दिनुभएको छ ?

घोषणा पत्रका आधारमै काम अघि बढेको छ । कृषि प्राधिकरण बनाउने बाहेक अन्य सबै बजेटमा समेटिएको छ । हामी आएको डेढ बर्षको छोटो समयमा नागरिकले आशा गरेबमोजिम प्रतिफल प्राप्त हुने कुरै भएन । पूर्ण सन्तुष्ट हुने अवस्था छैन । अबको चार बर्षको अवधिमा अझै धेरै काम गर्नुपर्नेछ । अबको अवधिमा नागरिकले आशा गरेबमोजिम प्रतिफल दिनका लागि हामी घोषणा पत्रको कार्यान्वयनकै दिशामा अघि बढिरहेका छौं । अहिलेसम्म भएका कामबाट नागरिक उत्साहित हुनुहुन्छ । विकासको चाहना र समृद्धिको यात्रा कहिल्यै टुङ्गिदैन ।

अबको साढे ती बर्षमा के-कस्ता काम हुँदैछन् ?

नयाँ र पुराना सबैखाले योजना कार्यान्वयन गर्दै अघि बढ्ने हो । पालिकाका सबै बस्तीलाई कच्ची सडकमुक्त बनाउने अभियानमा छौं । पुराना बस्ती र नयाँ बस्तीमा पीसीसी र आरसीसी तथा कालोपत्रे गर्ने भन्ने छ । औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण बनाउन गाउँपालिकाले निरन्तर पहल गरिरहेको छ । जीर्ण र भत्किएका सडक सुधार गरेर अघि बढ्दैछौँ ।

कृषिको आधुनिकीकरण र व्यवसायिकताका लागि कृषिमा अनुदान र प्रविधिमा सहयोग गर्ने खालका कार्यक्रम ल्याएका छौँ । आगामी दिनमा सबैसँग समन्वय गरेर अघि बढ्छौँ । हाम्रो कार्यकालको एक बर्षको अवधिमा सोचेभन्दा धेरै काम गरेका छौं । सञ्चालन भइरहेका आयोजनालाई समयमै कसरी सम्पन्न गर्ने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रीत छ । विकासको रफ्तारलाई कसरी अघि बढाउन सकिन्छ भनेर आगामी बर्षका लागि थप योजना बनाएका छौं । शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ क्षेत्रमा गर्न बाँकी कामलाई प्राथमिकता दिएर सम्पन्न गर्नेछौँ ।

हाल सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिएर अगाडि बढ्छौँ । कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धिसँगै कृषि उपजमा आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहलाई जनमुखी, पारदर्शी र मितव्ययी बनाइनेछ । हामी राजनीति कम सेवा बढी गर्छौं । जनताका दुखसुखमा हाजिर हुन्छौं । हाम्रो गाउँपालिकाका नागरिकलाई भोक र रोगबाट टाढा बनाउँदै समृद्ध जानकीको सपना पुरा गर्ने अभियानमा छौं ।

जनयुद्धमा बाँके-बर्दियाको कमाण्ड गरेको ब्यक्ति अहिले स्थानीय सरकारको प्रमुख भएपछि के फरक पाउनुभएको छ ?

काल परिस्थिति भिन्न भएका कारण भूमिका फरक हुने नै भयो । विगतमा जनयुद्धको समय राजतन्त्र अन्त्यको एकसुत्रीय संकल्प थियो । जसका लागि जीवन दिन तयार थियौं । त्यो आन्दोलनको गति थियो । अहिले स्थानीय तहको नेतृत्व गर्दा त्यसबेलाका केही प्रतिवद्धता कार्यान्वयन गर्न सक्ने ठाउँमा पुगेका छौं । जनतालाई पहुँच पुर्‍याउने विकास, सेवाप्रवाह लगायतमा अब कसरी काम गर्न सकिन्छ भनेर सबैभन्दा गम्भिर र जिम्मेवार बनाउँछ ।

जनयुद्धकालको र अहिलेको जिम्मेवारी फेरिएको छ । जनयुद्धकालबाट १२ बुँदे सम्झौता, संघीयता र लोकतान्त्रिक गणतन्त्रकाल पाएका जिम्मेवारीबाट अहिले स्थानीय तहको नेतृत्व गरिरहँदा जुनसुकै विकासका कार्य सञ्चालन गर्दा विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीच हुने एकता नै यसलाई नमूना र बनाउने बलियो आधार हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतवार १२:३९

लोकप्रिय