सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानको राष्ट्रपतिमा जर्दारी विजयी

पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी विजयी भएका छन् ।

जर्दारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको पाकिस्तानी निर्वाचन आयोगले जनाएको छ । जर्दारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।

पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए । जर्दारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उम्मेदवार महमूद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जर्दारीले निःवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।

२००८ देखि २०१३ सम्म देशको ११ औं राष्ट्रपतिको रूपमा सेवा गरेपछि जर्दारीको राष्ट्रपतिको रूपमा यो दोस्रो कार्यकाल हुनेछ । जर्दारी ८ फेब्रुअरी, २०२४ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

यद्यपि देशको राष्ट्रपतिको रूपमा शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । जर्दारी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान् हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतवार ११:०८

लोकप्रिय