२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

त्रिकोणात्मक टि-२० सिरिज : पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २७ गते आइतबार

 त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ। पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै मैदानमा खेल्न लागेको हो।

यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्नेछ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार हङकङ पुगिसकेको छ। यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्।

नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज आइतबारदेखि खेल्न लागेको हो।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।

क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अघि शनिबार घरेलु टोली हङकङसँग खेलेको फ्रेन्डसिप कपमा नेपाल पराजित भएको छ । फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा जितका लागि घरेलु टोली हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा १३९ रनमा समेटिएको थियो ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार