सूचनाको शक्ति - The Power Of Information

        

कला-संस्कृति जगेर्ना

प्रचारप्रसारसँगै खजुरामा संरक्षण गरिँदै ‘पञ्चेबाजा’

पुरानो परम्परा र रितिरिवाजसँग जोडिएको पञ्चेबाजा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्दैछ । अहिले नयाँ पुस्ता नै पञ्चेबाजा संरक्षणमा जुटेको छ ।

युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ । विवाह, ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा शहरी लोपोन्मुख अवस्थामा छ । नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हुँदै गएको छ । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको छ । जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थाले पनि उमेर ढल्केपछि बजाउन छाडेका छन् ।

विवाह, गाउँघरमा हुने विभिन्न शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा बज्ने पञ्चेबाजासँगै पुरानो कला–संस्कृति हराउन थालेको छ । नौमती पञ्चेबाजा हिजोआज शहरी क्षेत्रमा मात्रै होइन पहाडी क्षेत्रमा समेत लोप हुँदैछ । कला–संस्कृति लोप हुँदै जाँदा पञ्चेबाजाको अस्तित्व नै मेटिन थालेको छ । सनाइ, ट्याम्को, झुर्मा, ढोलक, नरसिंहा, कर्नाल र विकुल जस्ता बाजाहरु मात्रै होइन बजाउने व्यक्तिसमेत पाइन छाडेका छन् । कला र सीप स्थानीयस्तरमा मात्र सीमित रहँदा धेरैले बाजा बजाउन छाडिसके ।

गाउँघरमा कमै मात्रामा पञ्चेबाजा बजेको आवाजहरु सुन्न पाइन्छ । गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण देखिँदैन । मौलिक पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेपछि चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न भन्दै खजुरा गाउँपालिका–२ धौलागिरीका स्थानीयहरु भने पञ्चेबाजा संरक्षणसँगै प्रचारप्रसारमा जुटेका छन् । जिल्लाको जुनसुकै कुना होस् विवाह, पुजा र विभिन्न कार्यक्रम उद्घाटन समारोह प्रायःजसो देखापर्ने खजुराको पञ्चेबाजा समुह छिमेकी जिल्ल्लाहरुमा समेत चिनिन्छ ।

खजुरा गाउँपालिका वडा नं.३ मा रहेकोे गाउँ हो धौलागिरी, धौलागिरी अञ्चलबाट बसाईसराई गरेर आएकाहरुको बाहुल्यता रहेको छ यो गाउँमा । जनजाति खास र मगर समुदायको बसोबास रहेकोे धौलागिरी बाँके जिल्लामा मात्र होइन छिमेकी जिल्ला बर्दिया, कैलाली, दाङ अनि सुर्खेतसम्म चिनिएको छ । यसरी छिमेकी जिल्लाहरुमा समेत धौलागिरी गाउँ भनेर चिनिनुको एउटै कारण हो, पञ्चेबाजा । २०६३ सालमा गाउँलेहरु मिलेर समुह बनाएर शुरु गरिएको कामले सिङ्गो गाउँपालिकालाई सबैतिर चिनाएको छ ।

आफुहरुको आयआर्जनको एउटा राम्रो श्रोतसमेत बनेको बताउँछन्, धौलागिरी पञ्चेबाजा समुहका उपाध्यक्ष बलबहादुर डगामी । बञ्चेबाजाले धौलागिरी गाउँ मात्रै नभएर सिंगो गाउँपालिकालाई नै चिनाउन सफल भएकोमा डगामी आफैं पनि दङ्ग पर्छन् । १५ जना सदस्य रहेको समुहको नेतृत्व गंगाबहादुर थापाले गरेका छन् । ३२ बर्षका युवादेखि ६६ बर्षका वृद्धसम्मले मज्जाले पञ्चेबाजा बजाउँदै आएका छन् । समुहकै सदस्यहरुको घरमा पञ्चेबाजा राख्ने गरिएको उपाध्यक्ष डगामी बताउँछन् ।

डगामी भन्छन्, ‘बाजालाई सुरक्षित राख्न र ब्यवस्थित रूपमा समुहलाई सञ्चालन गर्न कार्यालय स्थापना गर्ने तयारीमा छौं । कार्यालय स्थापनापछि पञ्चेबाजा संग्रहालयको कल्पना पनि गरेका छौं । यसो भएमा पञ्चेबाजा सुरक्षितसँगै संरक्षित हुने थिए भने हेर्न आउनेहरुसँग न्युनतम् शुल्क लिँदा थोरै भए पनि आम्दानीको स्रोतको जोहो हुने थियो ।’ पुरानो परम्परा र रितिरिवाजसँग जोडिएको पञ्चेबाजा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने उनले बताए । नयाँ पुस्ताले पुरै बिर्सिएको पञ्चेबाजा धौलागिरीमा भने नयाँ पुस्ताले नै बजाउने गर्छ ।

पञ्चेबाजाको सुरताल र धुन नसुनेका युवा पुस्ताका लागि यो अनौठो संगीत लाग्न सक्छ । पञ्चेबाजा समूहले लोपोन्मुख पञ्चेबाजा बजाउने कला र बाजागाजाको समेत संरक्षण गर्दै अघि बढिरहेका बेला युवाहरुले समेत साथ दिएका छन् । पञ्चेबाजा समूहले न्युनतम १८ हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क तोकेको छ । यही शुल्कबाट बाजागाजाको मर्मत, नयाँ बाजा खरिद र सदस्यहरुको पारिश्रमिकमा खर्च गरिँदै आएको अध्यक्ष डगामीले बताए । धौलागिरीलाई पन्चेबाजाको गाउँका रूपमा सबैले चिन्दा र सम्झिदा सिङ्गो गाउँबासी खुशी छन् ।

गाउँपालिकाको प्रतिनिधित्व गर्दै सिङ्गो खजुरालाई चिनाएको बञ्चेबाजाको संरक्षणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा धौलागिरीबासीको छ । सञ्चारकर्मी तथा स्थानीय तिलक गाउँले स्थानीय सरकारले बाजाको ब्यवस्थापन र सञ्चालनका लागि हातेमालो गरेर अघि बढ्नुपर्ने बताउँछन् । धौलागिरीमा ‘पञ्चेबाजा संग्रहालय’ बनाउन सके खजुरा गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने गाउँलेको विश्वास छ । उनी भन्छन्, ‘संग्रहालय बनाएर सञ्चालनमा ल्याउन सके आन्तरिक पर्यटकलाई सहजै भित्र्याउन सकिन्छ ।’

उनका अनुसार आन्तरिक पर्यटकलाई भित्र्याउन सके यसले खजुरालाई केही हदसम्म आर्थिक गतिविधिमा टेवा पुर्याउँछ । यसतर्फ स्थानीय तहले ध्यान दिनुपर्छ । त्यसो त स्थानीय सरकारको चुनावी घोषणापत्रमा समेत धौलागिरीमा पञ्चेबाजा संरक्षणका लागी संग्रहालयको कुरा चर्चामा आएको थियो । यसैकारण पनि पञ्चेबाजा संग्रहालय निर्माणका लागि स्थानीय तहले पहल गर्नेमा स्थानीयबासीहरु ढुक्क छन् ।

‘नयाँ पुस्तालाई बाजा बजाउने प्रशिक्षण र सीप दिन र यसका लागि उनीहरुलाई आकर्षण गर्न पनि बाजा संग्राहलय आवश्यक र महत्वपूर्ण हुनेछ,’ १२ बर्षदेखि निरन्तररूपमा बाजा समुहको सक्रिय बनाउन लागेका आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद सापकोटा भन्छन्, ‘बाजा समूहले पञ्चेबाजालाई हाम्रो समाजमा स्थापित गर्ने र नयाँ पुस्तालाई यसका बारेमा ज्ञान दिएको छ । विवाह, पुजामा ब्यान्ड बाजा र अन्य बाजाका नाममा बाहिरिने आर्थिक रकमलाई पनि गाउँमै रोकेको छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ०८:४०

लोकप्रिय