सूचनाको शक्ति - The Power Of Information

        

बजार अनुगमनमा तीव्रता

बाँकेमा नक्कली औषधि पसल सिल, बिक्रेता नियन्त्रणमा

नक्कली औषधि पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएको छ ।

बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपूर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले शुक्रबार पक्राउ गरेको छ ।

अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपूर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

प्रजिअ पोखरलेका अनुसार पक्राउ गरिएका विकास लखेरले औषधि बिक्री गर्ने योग्यताको प्रमाणपत्र देखाउन सकेका थिएनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको प्रजिअ पोखरेलले बताए ।

आरोपी लखेरको पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा समेत भेटिएको छ । ‘म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको छ,’ प्रजिअ पोखरेलले भने ।

‘उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल सिल गरेको छ ।’ बिक्रेता विकास लखेरलाई औषधि बिक्री वितरण सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ०७:४५

लोकप्रिय