सूचनाको शक्ति - The Power Of Information

        

उच्चस्तरीय वार्तापछि नेपाली फर्काउन रुस तयार

परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यतर नेपाली स्वदेश फिर्ता गर्न रुस सकारात्मक रहेको बताएको छ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी समकक्षी सेर्गेई लाभरोभबीच बिहीबार अपराह्न टेलिफोन वार्ता भएको थियो ।

नयाँ प्रधानमन्त्री वा परराष्ट्रमन्त्री चयन हुँदा हितैषी मुलुकका समकक्षीले फोन गर्नु नयाँ होइन । तर, पछिल्लो समयको नेपाल–रुस सम्बन्ध र रुससँग नेपालले उठाउन खोजेका विषयवस्तुका दृष्टिले भने परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी समकक्षीबीचको फोनवार्ता ‘परम्पराको निर्वाह’ भन्दा केही विशेष हो ।

रुसी सेनामा रहेका नेपालीका विषयमा नेपाल र रुसबीच पहिलो पटक उच्चस्तरमा संवाद भएको हो । सो क्रममा मन्त्री श्रेष्ठले युक्रेन–रुस युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रुसका विदेशमन्त्रीसँग आग्रह गरेका थिए ।

मन्त्री श्रेष्ठले गरेको आग्रहमा रुसी विदेशमन्त्री लाभरोभले सकारात्मक जवाफ दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । ‘हामी तपाईंको चासोमा सकारात्मक छौँ । रक्षा मन्त्रालयसँग सम्बन्धित विषय भएको हुनाले त्यहाँ आवश्यक समन्वय गर्छौँ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत नेपालीलाई चरणबद्ध रूपमा स्वदेश फर्काउन रुस तयार रहेको बताएका छन् । रुसको विदेश मन्त्रालयले कूटनीतिक पत्राचारमार्फत प्रतिबद्धता जनाएको साउदको दाबी छ ।

‘रुसको विदेश मन्त्रालयले त्यहाँको सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न सहमत छौँ भनेर चिठी पठाएको छ । उनीहरू रुसका विभिन्न ठाउँमा भएको हुनाले चरणबद्ध रूपमा स्वदेश फिर्ता गर्छौँ भन्ने पनि जानकारी आएको छ,’ साउदले भने, ‘सरकारले यसलाई फलोअप गर्नुपर्छ । एकैपटक सम्भव हुँदैन, चरणबद्ध रूपमा हामी नेपालीलाई फिर्ता गर्न सहमत छौँ भनेर चिठी नै आएको छ ।’

साउदले रुसमा रहेका नेपाली फिर्ता र मृतकको क्षतिपूर्ति लगायतका विषयमा अहिलेसम्म महत्वपूर्ण उपलब्धि भएको बताए । ‘अब यसलाई कार्यान्वयनमा ल्याउन मात्रै बाँकी छ । मैले एउटा स्थितिमा पुर्याएर गएको छु । नवनियुक्त मन्त्रीले निरन्तरता दिनुपर्छ,’ उनले भने । अहिलेसम्म रुस सरकारले रुसी सेनामा कार्यरतमध्ये १० जनाको मृत्यु भएको विवरण परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

परराष्ट्रका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल र पितम कार्की, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, कुन्दनसिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ ।

तर, रुसी सेनामा कार्यरतमध्ये दुई दर्जनभन्दा बढीको मृत्यु भएको भन्दै शव फिर्ताका लागि परिवारका सदस्यले सरकारसँग अनुरोध गरेका छन् । रुसले त्यहाँ मारिएका नेपाली नागरिकका परिवारलाई नेपाली दूतावासमार्फत क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ०९:३४

लोकप्रिय