सूचनाको शक्ति - The Power Of Information

        

आज महाशिवरात्रि:

आज महाशिवरात्रि पर्व : यस्ताे छ, भगवान शिवको महिमा

पशुपतिनाथकै दर्शन किन ?

 आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।

भगवान शिवको महिमा

शिवको अर्थ हुन्छ- कल्याण। भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन्।

जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि।

व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन्। महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।

 

शिवप्रिया रात्रिः शिवरात्रिः

शिवरात्रिको महत्व व्याधाको कथासँग जोडिएको छ। मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए।

कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो। शिवरात्रिको पर्वलाई पर्वको राजा भनिन्छ। शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ। यस दिन शिवार्चनका साथै रात्रि-जागरणको विशेष महत्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ। भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो। महाशिवरात्रिको यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ।

शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ। यसै दिन शिव पार्वतीको विवाह भएको थियो। यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूग्धाभिषेक र शिव महिमा, कीर्तन, शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन्। शिवरात्रिको पालना गर्नाले भुक्ति र मुक्ति दुवै प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

पशुपतिनाथकै दर्शन किन ?
महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ। तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा दश लाख बढी दर्शनार्थी देश विदेशबाट आउँछन्। यस वर्षको महाशिवरात्री सोमबार परेको, सबै तिथि, करण, योग मिलेको हुनाले यो वर्ष अझ बढी श्रद्धालु भक्तजनको उपस्थित हुने अपेक्षा गरिएको छ।

 

पशुपति नाथकै दर्शन किन गर्ने त ? पशुपतिनाथकै विषयमा विद्यावारिधि गरेका पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डन भन्छन्- ‘४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ। त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउँछन्।’ टण्डनको भनाइमा पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ। पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले मानिसहरु पशुपति नाथको दर्शन गर्छन्।

फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान पशुपतिनाथकै प्रिय दिन, व्रतहरुको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्वपूर्ण दिनका रुपमा लिन्छन्।

पूजा गर्ने विधि
भगवानको दर्शन कामना लिएर मात्र गरिन्न। व्रत अपेक्षासाथ गरिएको छ भने साधकले विहान उठेर नुहाउनुपर्छ। सकिन्छ निराहार सकिँदैन फलाहार गरेर षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ। शिवस्त्रोत्र पाठ, ध्यान, जप, शिवकिर्तन, महिमागान गर्ने वा ‘नमः शिवाय’ नामक पञ्चाक्षरी मन्त्र मात्रको जपले पनि शिव प्रसन्न हुनुहने र इच्छित कामना पूर्ण हुने उपप्राध्यापक पौडेलले बताए।

पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिंगोद्भव मूर्तिलाई महले र तत्पुरुष मूर्तिलाई शर्कराले स्नान गराइन्छ। मध्यरात शिवधुनी जगाइन्छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ०७:३९

लोकप्रिय