सूचनाको शक्ति - The Power Of Information

        

सिधनियाघाट राप्ती नदीमा पुल निर्माण

बाँकेको दुई गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटस्थित हुलाकी राजमार्गमा सात सय मिटर लामो पुल निर्माण सुरु गरिएको छ ।

नेपालगन्ज–बघौडा हुलाकी सडकको सिधनियाघाटमा हाल प्रयोगमा रहेको पुल निकै साँघुरो र सानो समेत रहेकोले वर्षा र बाढीको समयमा आवागमन ठप्प हुने र अन्य समयमा समेत आवागमनमा समस्या हुने भएकोले सात सय मिटर लामो र ११ मिटर चौडाइ भएको नयाँ पुल निर्माण सुरु गरिएको हो ।

करिब डेढ वर्षअघि भौतिक पूर्वाधार मन्त्री बन्नुभएको बेला स्थानीय नेता मोहम्मद इश्तियाक राईले राप्तीनदीको सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माणसँगै डुडुवा खोलामा पुल निर्माण र विभिन्न सडकहरू निर्माणको योजना स्वीकृत गर्नुभएको थियो । सोही योजना अनुसार पुल निर्माण कार्य अहिले सुरु गरिएको निर्माण कम्पनी लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले जनाएको छ ।

राप्ती नदीमा हरेक वर्ष आउने गरेको बाढीले पटक-पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि तत्कालीन भौतिक पूर्वाधार मन्त्री राईले सात सय मिटर लामो पुल बनाउने योजनासँगै बजेटको सुनिश्चितता गर्नुभएको थियो ।

सम्झौता भएको ५३ महिनामा निर्माण सक्नेगरि लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले पुल निर्माण सुरु गरेको हो । २०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताउनुभयो । उहाँका अनुसार अहिले निर्माण भइरहेको पुल सात सय मिटर लामो, ११ मिटर चौडा रहने तथा दुवैतर्फ १ दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ । भ्याटसहित एक अर्ब २० करोडमा निर्माण भइरहेको उक्त पुलको पाइलिङको काम हाल सुरु गरिएको जनाउँदै पाइलिङ र जाली बुन्ने काम सँगसँगै भइरहेको इन्जिनियर पटेलले बताउनुभयो ।

सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकोले सात सय मिटर लामो पुल निर्माण गर्न लागिएको पूर्वमन्त्री राईले बताउनुभयो । उहाँले अहिले सञ्चालनमा रहेको पुल एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने रहेकोले सो क्षेत्रका जनताले लामो समयदेखि नयाँ पुल निर्माणको माग गर्दै आएको बताउनुभयो । आफूले ल्याएको योजना कार्यान्वयन हुँदा गर्व महसुस भएको जनाउँदै पुर्वमन्त्री राईले लामो पुल नबनाउँदासम्म सधैँ समस्या भइरहने महसुस गरेर पुल बनाउने योजना पास गराइएको बताउनुभयो ।

लामो पुल नहुँदा राप्ती नदिका आएको बाढीले सडक बगाउँदा गर्मी र हिउँदमा समेत आउजाउ गर्न समस्या हुने गरेको छ । बाढी बग्ने ठाउँमा सडक भएकोले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्ट समेत बगाएको छ ।

सिधनियाघाटस्थित राप्ती नदीमा नयाँ लामो पुल निर्माण सुरु भएपछि नदीपारिका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाले खुसी व्यक्त गरेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले राप्ती नदीमा पुल नहुँदा दुई पालिकाका जनतालाई नेपालगन्ज आवागमन गर्न निकै सास्ती हुने गरेको जनाउँदै यो पुल बनेपछि अब सहज र सरल हुने विश्वास व्यक्त गर्नुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १५:१७

लोकप्रिय