सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेससँग प्रधानमन्त्रीका गुनासै गुनासा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले व्यक्तिगत रूपमा आफूलाई सहयोग गरे पनि विकास, समृद्धि र सुशासनका लागि सहयोग नगरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले राजनीतिमा व्यक्तिगत सम्बन्ध भन्दा पनि राजनीतिक परिणामहरू निर्णायक हुने बताए ।

उनले भने– ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा मा कुनै अप्ठेरो वा समस्यामा थिइन । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो ।  नेपाली कांग्रेसका नेतृत्व र मेरो बिचमा व्यक्तिगत नराम्रो पनि थिएन ।

टिकिरहनुलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको पनि त्यहाँ समस्या थिएन । यो करिब ११ महिना लामो साथ र सहयोगप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साथीहरूलाई आभारी छु ।’

निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई जसरी सघायो, त्यही तहमा कांग्रेसले सहयोग नभएको भन्ने मनोविज्ञान देशभर रहेको उनले बताए । यसले पनि आपसी विश्वास कमजोर बनाएको उनले बताए ।

प्रचण्डले निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने भनेको तर त्यसबाट कांग्रेस पछि हट्दा त्यसले अर्को मनोविज्ञान बन्न पुगेको बताए ।  कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले विद्रोह नै गरेको तर तिनीहरू राजनीतिक कसीमा दण्डित नभएको तर पुरस्कृत भएको उल्लेख गरे ।

राष्ट्रियसभाको निर्वाचनमा त्यही समूहले अन्तर्घात गरेर माओवादीका उम्मेदवारलाई पराजित गरेको सुनाए । यता कांग्रेसको महासमिति बैठकमा बिना सन्र्दभ गठबन्धनको निन्दा गरेको, गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको कुरा बिर्सिएर छलफल चर्चा गरेको र गठबन्धन विरुद्ध निष्कर्ष निकालेको उल्लेख गरे ।

उनले निर्वाचन आउन ४ वर्ष बाँकी छँदै गठबन्धन दलमाथिको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न नसकिएको, महासमिति बैठकमा स्टल नै राखेर धर्मको बारेमा हस्ताक्षर चलाइएकोले संविधानमाथि कांग्रेसको प्रतिबद्धतामाथि प्रश्न उठाउने ठाउँ बनेको बताए ।

महासमिति बैठकमा माओवादी जनयुद्धलाई बिद्रुपीकरण गरिएको, २०४७ सालको संविधान ठिक रहेको आशयको प्रतिवेदन वितरण गरिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे ।  हिजो मिलिसकेको वैचारिक सैद्धान्तिक विषयमा समेत शंका र अविश्वासको वातावरण बनेको प्रधानमन्त्रीले बताए ।

उनले भने– ‘सरकारका रूपमा हामीले उल्लेखनीय उपलब्धि पनि हासिल नगरेका हैनौँ । तर म त्यो भन्दा उपलब्धि चाहन्थेँ । औषध उपलब्धिको आत्मप्रशंसाको पिँजडामा अटाउने पक्षमा म थिइन र अहिले पनि छैन ।

मैले यही संसदमा विश्वासको मत लिँदै गर्दै म सिंहदरबारमा नाम लेखाउन वा अर्को फोटो झुन्ड्याउन यहाँ उपस्थित भएको छैन । देशमा सकारात्मक परिवर्तन ल्याउन नसके पद नओगटिरहने घोषणा नै गरेको थिएँ । साथीहरूले व्यक्तिका रूपमा मलाई माया गर्नुभयो, तर परिवर्तन सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा जति न्याय गर्नुहुन्थ्यो, त्यति न्याय गर्नुभएन ।’

उनले आफू सरकारको गतिसँग आफू असन्तुष्ट रहेको जनाइरहेको बताउँदै तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर भए पनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा आफूले दोस्रो विकल्प रोजेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १५:०१

लोकप्रिय