सूचनाको शक्ति - The Power Of Information

        

विचार

सुखानी बलिदान र सपनाको खोजी

झापा विद्रोहको लक्ष्य प्राप्तिको बाटोमा मुलुक हिँडिरहेको छ । तर, दुर्भाग्य त्यही विद्रोहका बीउ ओली उल्टो बाटोमा कुदे । उसबेला पनि केपी झापा विद्रोहको नाम मात्रका नेता थिए ।

नेपाल कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजन भई छिन्नभिन्न र केन्द्रविहीन भयो । विभिन्न समूह र उपसमूह क्षेत्रीय रुपमा स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यसअन्तर्गत रहेको झापा जिल्ला कमिटीले विद्रोह गरी सामन्ती राज्यसत्तालाई ध्वंश गर्न नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमै पहिलोपटक झापामा सशस्त्र संघर्ष शुरु गर्यो ।

यसरी ‘एक एरिया–एक युनिट, एक स्क्वाड–एक एक्सन’ को अवधारणासहित वर्गशत्रु खतम अभियान सुरु भयो, जसलाई इतिहासमा ‘झापा विद्रोह’को नामबाट चिनिन्छ । झापा विद्रोहको पृष्ठभूमिमा २०२१ सालमा राजा महेन्द्रले शुरु गरेको भूमिसुधार थियो । मोहीलाई अधिकारबाट वञ्चित गराउने झापाली सामन्तहरूका जालझेलपूर्ण रवैयाविरुद्ध विद्रोह केन्द्रित थियो । त्यसबेला मोहीको धान लुटिन नदिने र संरक्षण गरिदिने संघर्षको मुख्य उद्देश्य थियो ।

त्यसैगरी महेन्द्रले २०२४ सालदेखि लागू गरेको ‘गाउँ फर्क’ अभियानसँगै जनतालाई ‘चूँ’ गर्न समेत बन्देज लगाइयो, जसको प्रतिरोधस्वरुप बौद्धिक क्षेत्र आक्रोशित थियो । त्यसैले जनतामाथिको सामन्ती शोषण, उत्पीडन, दमन, अन्याय र अत्याचारविरुद्ध प्रतिरोध बनेर झापाको किसान विद्रोह नेपाली राजनीतिको रङ्गमञ्चमा उदाएको थियो । पुरानो राज्यसत्ता बन्दुकले टिकाइएको हुनाले नारा जुलुस, सभा र अन्य शान्तिपूर्ण आन्दोलन गरेर मात्र त्यसलाई ढाल्न सकिन्नथ्यो ।

बन्दुकविरुद्ध बन्दुक नै उपयुक्त हुन्छ भन्ने मान्यताका आधारमा विद्रोह सञ्चालन भयो । त्यसैले जाली, फटाहा, श्रमिकमारा, किसान माराहरुलाई भौतिक आक्रमण नियमित ढंगले अगाडि बढ्दै गयो । तमसुक च्यात्ने, जलाउने, सामन्तहरूको जग्गा कब्जा गरी भूमिहीन किसान मजदुरलाई दिने काम भए । झापा विद्रोहका नेता राधाकृष्ण मैनाली, केपी ओली र सिपी मैनाली थिए । विडम्बना, सबै फरक–फरक परिवेशबाट इतिहासले सुम्पिएको जिम्मेवारी छाडेर हिँडेका छन् । राधाकृष्णले राजाका मन्त्री भएपछि विश्वास गुमाए ।

सीपी सानो समूह लिएर गोलचक्करमा फसेका छन् । ओलीले करिब दुईतिहाइ जनमत असरल्ल पारेर स्वेच्छाचारी कदम चालेर हिँडे । प्रहरी र सामन्तहरूबाट हतियार खोस्ने, संकलन गर्ने र ‘स्क्वाड वृद्धि’ गर्ने विद्रोही योजना कार्यान्वयन हुन थाले । त्यतिबेलाका क्रान्तिकारीहरूसँग न संगठन बलियो थियो न त हतियार र तालिम नै । १५० जति संगठित युवा थिए भने ३०० जति किसान कार्यकर्ता, जसले वर्गसंघर्षको ठोस कार्यक्रमसहित युग परिवर्तनको उद्घोष गरे ।

यसैबीच संघर्षको मुख्य टिममा रहेका पाँच जना कमरेडहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई झापाबाट इलाम जेल सार्ने बहानामा झापाको सीमाना काट्नेबित्तिकै सुखानीमा २०२९ साल फागुन २१ गते गोली हानी हत्या गरियो । जसले झापा विद्रोहको क्रममा उच्च बलिदानको कीर्तिमान कायम गरेको थियो । त्यसैले सुखानीले नेपालको राजनीतिक इतिहासमा गर्विलो स्थान ओगटेको छ । सुखानी हत्याकाण्ड अघि र पछि निरन्तर विद्रोही नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक किसान समेतलाई गिरफ्तार गर्ने काम भइरहेको थियो ।

२०३० साउन २० गते राधाकृष्ण मैनाली गरामुनीस्थित नरियाबाढीबाट पक्राउ परे । राधाकृष्णसँगै गिरफ्तार गर्ने क्रममा चन्द्र डाँगीलाई गोली हानी हत्या गरियो । त्यहाँबाट नरेश खरेल, नारद वाग्ले, सीता खड्का, दिलबहादुर खड्का, हर्क खड्का र लीला कट्टेल पक्राउ परेका थिए । त्यही साल असोज २३ गते केपी शर्मा ओली र मोहनचन्द्र अधिकारी रौतहटबाट गिरफ्तार भए । त्यसपछि २०३२ साल माघ १६ गते चन्द्रगढी देउनिया पुलछेउको सेल्टरबाट सीपी मैनाली पक्राउ परे । सीपीसँग तारानिधि भुर्तेल, गोविन्द न्यौपाने र गौरा प्रसाईँ समेत पक्राउ परे ।

अधिकांश नेतृत्वमा रहेका सक्रिय कमरेडहरूलाई गिरफ्तार गरियो । त्यतिबेला जीवनकुमार मगर, डिगेन राजवंशी, गुलुम राजवंशी, रामजनम चौधरी, टंक चौधरी, प्रेमप्रसाद उप्रेती, धर्म घिमिरे, खड्ग थापा, डिल्लीप्रसाद शिवाकोटी, ईश्वरीप्रसाद संग्रौला, गंगाप्रसाद उप्रेती, लोकनाथ ओली, खड्ग दाहाल, भीष्म धिमाल, टंक घिमिरे, मनकुमार गौतम, भीमबहादुर खड्का, भोगन राजवंशी, भेटला राजवंशी लगायतलाई झापा जेलमा थुनिएको थियो । करिब ५०० जना गिरफ्तार भएका थिए भने ९५ जतिलाई मुद्दा लगाइयो । केहीलाई यातनासहित आतङ्कित पारेर छाडिएको थियो भने मुख्य नेतृत्वलाई आजीवन कारावास तोकियो ।

यसरी झापा विद्रोहको नेतृत्व गरेका पहिलो तहका सबै नेता, ठूलो संख्यामा कार्यकर्ता र सर्वसाधारणसमेत फरक–फरक मितिमा शृङ्खलाबद्ध पक्राउ परेपछि विद्रोहले एक हदसम्म धक्का खाने परिस्थिति निर्माण भयो । झापा विद्रोह रक्षात्मक अवस्थामा पुग्यो । झापा विद्रोहबारे पुष्पलाल, मनमोहन अधिकारी, भरतमोहन अधिकारीले मात्र होइन, तत्कालीन राजा वीरेन्द्र र नेपाली कांग्रेसका नेता वीपी कोइरालाले समेत नतमस्तक भई टिप्पणी गरेका थिए । सुखानीमा सहिदहरूले रगत बगाउँदा भारत निर्वासनमा रहेका वीपी कोइरालाले त सबै युवाहरूले सुखानीको बलिदानीबाट सिक्नुपर्नेमा जोड दिएका थिए ।

२०५७ साल फागुनमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित राजनीतिक दस्ताबेज ‘महान् अग्रगामी छलाङः इतिहासको अपरिहार्य आवश्यकता’मा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले झापा विद्रोहको महत्त्वबारे लेखेका छन्, अनुभवको कमी र चिन्तनमा केही यान्त्रिक रहे पनि विचार, राजनीतिक कार्यदिशा र अझ मुख्य कुरा क्रान्तिकारी स्पिरिटमा झापा विद्रोहसँगै जन्मिएको कोअर्डिनेसन कमिटी अन्य पक्षभन्दा धेरै नै उच्च र सही थियो । यसरी वस्तुतः २०१० सालदेखि पार्टीमा हाबी रहेको संशोधनवादका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्तिको स्पिरिटअनुसार विद्रोहको झण्डा उठाइरहेको थियो ।

कुरा क्रान्तिको गर्ने तर व्यवहार भने संशोधनवादको गर्ने छद्म संशोधनवादमाथि पनि प्रहार गरिरहेको थियो । त्यसकारण झापा विद्रोहले नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा गौरवपूर्ण ऐतिहासिक स्थान ओगटेको छ । सुखानी हत्याकाण्डपछि स्वयम् झापा विद्रोह क्रमशः अवसानको अवस्थामा पुगे पनि कम्युनिस्ट आन्दोलनमा यसको प्रभाव बहुआयामिक रह्यो । यसबाट आन्दोलनमा प्राप्त उर्जा महत्त्वपूर्ण थियो । यसले नेपालमा दिन दुई गुना रात चौगुना कम्युनिष्ट जन्मायो । यसले कम्युनिस्टमाथि सत्तापक्षको धरपकड बढायो तर क्रियाको प्रतिक्रियास्वरुप प्रतिरोध चेतना र क्षमता विकास भयो । जोखिमलाई पर्वाह नगरी जनताको व्यापक समर्थन प्राप्त हुन थाल्यो ।

त्यसैले जनयुद्ध समेत सुखानीको भ्रूण हो भन्दा अतिशयोक्ति नहोला । २०६२ साल मंसिर ७ गते माओवादी र नेपाली कांग्रेस, नेकपा एमालेसहित सात दलबीच १२ बुँदे समझदारी सम्पन्न भयो । जसअनुसार दोस्रो जनआन्दोलनको शक्तिबाट अन्तरिम संविधान, अन्तरिम सरकार र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र र संघीयता प्राप्त भएको छ । आन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका तमाम समस्याहरूको समाधान गर्न राज्यको अग्रगामी पुनःसंरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्ने उद्घोष गरेको थियो ।

नयाँ संविधानमा जनताका मौलिक अधिकारसहित समाजवाद उन्मुख नयाँ नेपालको परिकल्पना गरिएको छ । यद्यपि पछिल्लो समयसम्म आइपुग्दा बलिदान र शहीदका सपनाहरू बिस्कुन लागेका छन् । झापा विद्रोहका नेता राधाकृष्ण मैनाली, केपी ओली र सिपी मैनाली थिए । विडम्बना, सबै जना फरक फरक परिवेशबाट इतिहासले सुम्पिएको जिम्मेवारी छाडेर हिँडेका छन् । राधाकृष्णले राजाका मन्त्री भएपछि विश्वास गुमाए । सीपी सानो समूह लिएर गोलचक्करमा फसेका छन् । केपीले करिब दुईतिहाइ जनमत असरल्ल पारेर स्वेच्छाचारी कदम चालेर बिग्रिए । स्मरण रहोस्, उसबेला पनि केपी झापा विद्रोहको नाम मात्रका नेता थिए ।

जिम्मेवारी लिएर बैठक नराख्ने, काम नगर्ने, बढी बोल्ने उनको नानीदेखिको बानी हो । झापा विद्रोहको लक्ष्य प्राप्तिको बाटोमा मुलुक हिँडिरहेको छ । तर, दुर्भाग्य त्यही विद्रोहका बीउ ओली उल्टो बाटोमा कुदे । जोत्नेको स्वामित्वमा जमिन अझै आइसकेको छैन । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता र रोजगारको सवालमा जनवादी नीति कार्यान्वयन गर्ने अवसर ओलीले गुमाए । किसान र मजदुरको प्रतिनिधिको ठाउँमा दलाल पुँजीवादीले निरन्तर स्थान ओगटिरहेको छ । के विद्रोहका सपना साकार होलान् ? निकै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । त्यसैले नयाँ अभियान र नेतृत्वको सम्भावनाको खोजी अपरिहार्य भएको छ, सुखानीको चिहान खोस्रेरै किन नहोस् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १२:२३