सूचनाको शक्ति - The Power Of Information

        

सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल, तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री, सिम्ता सब–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्याय छन् ।

त्यस्तै सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा, उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल, नाफ सिड्स प्रालीका सञ्चालक गौतम महर्जन र सिम्ता गाउँपालिका–५ का तत्कालिन वडाध्यक्ष मोहनकुमार बिसी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसी हाल नेकपा एमाले सुर्खेतका सचिव छन् ।

सुर्खेतको सिम्ता गाउँपालिका–५ स्थित आली भन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता भएको भेटिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०८:१२