सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता

नेपालगञ्ज उपमहानगरपालिका-१० स्थित नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरूको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ ।

क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाह बताउनुहुन्छ । “कैदीबन्दीलाई शौचालय जान पनि समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक भीडका कारण कैदीबन्दीको दैनिकी दुरूह बन्दै गएको छ ।” कारागारका कैदीबन्दीका लागि सरकारले प्रतिदिन जनही नगद ८० र २०० ग्राम चामल दिने गरेको छ । दाल, तरकारी, नुन, तेल ८० वाटै कैदीबन्दीले किन्नुपर्ने हुन्छ ।

यसका साथै प्रत्येक वर्ष जाडो र गर्मीमा दुई जोर कपडा र दुई-दुई वर्षमा ओढ्ने ओछ्याउने दिने गरिएको छ । तीन सय क्षमताको कारागारमा हाल नौ सय छ जना कैदीबन्दी छन् । कारागारमा अहिले महिला कैदीबन्दी छैनन् । कैदीबन्दीको आचरण सुधारका लागि वि.सं.२००० सालमा स्थापना गरिएको कारागारको भौतिक अवस्था पनि जीर्ण भइसकेको छ ।

“नौवस्ताको क्षेत्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण गर्न सम्बद्ध निकायसँग माग गरेका छौँ”, जेलर शाहले भन्नुभयो, “सो कारागारको भौतिक पूर्वाधार निर्माण सकिए पनि सञ्चालन प्रक्रिया सुरु नभएकाले कैदीबन्दीलाई सार्न ढिलाइ भइरहेको छ ।” बाँके जिल्ला कारागारमा खचाखच गरी राखिएका कैदीबन्दीको उपचारमा समेत समस्या हुने गरेको छ ।

स्वास्थ्य उपचारका लागि छुट्याइएको बजेट अपुग भएको उहाँको भनाइ छ । “उपचार खर्च अपुग भएपछि केन्द्रीय कारागार विभागसँग थप रकम माग गर्दै आएका छौँ”, जेलर शाहले भन्नुभयो ।

कैदीबन्दीको उपचार नेपालगन्जको भेरी अस्पतालमा हुने गरेको छ । तर कुनै कैदीबन्दीले आफ्नो खर्चमा अन्य अस्पताल माग गरेमा त्यहाँसमेत लैजाने व्यवस्था मिलाइएको जेलर शाह बताउनुहुन्छ । कारागार प्रशासनले कारागार घना बस्तीको बिचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा दुई वर्षअघि भएको कैदीबन्दीको आन्दोलनमा प्रहरीले कारबाही गर्दा दुई कैदीबन्दीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १९:०४

लोकप्रिय