सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा खोप केन्द्र भवन निर्माण हुने

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा सञ्चालित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा खोप केन्द्र भवन निर्माण हुने भएको छ ।

लुम्विनी प्रदेशको २० लाख सहयोगमा नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा कार्यालयले खोप केन्द्र भवन निर्माण गर्न लागेको हो ।

उक्त भवनमा विरामी तथा कुरुवाको विश्राम स्थल समेत बनाइने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए । गर्भवती, बालबालिका लगायत खोपबाट बञ्चित भएका ब्यक्तिले सेवा पाउने आशा गरिएको उनले बताए ।

‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवन साँघुरो भएको छ । अव बन्ने भवनले सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने आशा गरिएको छ,’ उनले भने ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले ओपिडी, एक्स–रे, इसिजि, प्याथालोजी लगायतका सेवा दिँदै आएको छ । उनले गरिव तथा असहाय विरामीलाई प्याथालोजी लगायतका सेवामा विशेष छुट दिएको बताए । ‘गरिव तथा असहाय विरामीलाई ३५ देखि ५० प्रतिशत छुट दिँदै आएका छौँ,’ अध्यक्ष पुनले भने ।

उनले आवश्यक दरवन्दी सिर्जना गरि विरामीलाई गुणस्तरिय स्वास्थ्य सेवा दिँदै आएको बताए । अन्यत्रभन्दा विशेष छुटमा सेवा दिँदै आएको बताउँदै उनले महिलामा हुने रोग र समस्यालाई गोप्य राख्ने गरिएको उनको भनाई छ । नसर्ने रोगको बारेमा सचेतना जगाउने र निदानका लागि उपचार सेवा दिँदे आएका छौँ,’ उनले भने ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०८:४३

लोकप्रिय