सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्रे गर्न शुरु

 राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम शुरु भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम शुरु भएको हो ।

निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै बजेट व्यवस्थापन हुन सकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पुरा हुने बताए । शर्माले भने, “यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ ।“

११.६ किलोमिटर चारलेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक विस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुने गरी गत वर्ष माघ १५ गतेदेखि निर्माण कार्य शुरु भएको हो । एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेकाले आफू सहजीकरणका लागि केही दिनदेखि काठमाण्डौमा रहेको बताए । माघसम्म काम गरेको ४४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।

योजना प्रमुख भण्डारीले भने, “बजेट अभाव कायमै रहेमा भने निर्माणाधीन योजना र स्थानीयमा तत्कालीन र दीर्घकालीन प्रभाव पर्ने देखिएको छ ।“ शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०८:४१

लोकप्रिय