सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालन

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलबार एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

महिला–पुरुष अपांगमैत्री शौचालयसहित १६ बेड क्षमताको २ ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डर समेतको भवन सञ्चालनमा आएको हो ।

२०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पौष २८ मा सम्पन्न भएको हो । १ करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने २ करोड रहेको छ । कुल क्षेत्रफल १३२१ बर्ग मिटर रहेकोमा भवनले ओगटेको क्षेत्रफल भने ३२५ बर्ग मिटर छ ।

खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना सहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरुमार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

आयोजना ब्यवस्थापन कार्यालय प्रमुख रत्न प्रसाद लामिछानेले नगर प्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनको लागि स्वामित्वपत्र हस्तान्तरण गरेका हुन् ।

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने बताउँदै स्थानीयहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अवस्था बनेको भन्दै खुसी ब्यक्त गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०८:३८

लोकप्रिय