सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा ‘खच्चड/गधा कल्याण कार्यक्रम’ सुरु

एनिमल नेपालले नेपालगञ्जमा ‘खच्चड/गधा कल्याण कार्यक्रम’ सुरु गरेको छ ।

एनिमल नेपालले नेपालगञ्जमा आज सरोकारवालासंग वैठक गरेर कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमको कार्यक्षेत्र र प्रभावकारिताका विषयमा छलफल गरेको सामुदायिक परिचालक रसिद अलि कसगरले बताए ।

वैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी, पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही लगायत उपस्थित थिए ।

यो कार्यक्रम जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म सञ्चालन हुनेछ । २ करोड ७८ लाख बजेटको ‘खच्चड/गधा कल्याण कार्यक्रम’ मार्फत खच्चड/गधाहरुको उपचार, संरक्षण, संवर्द्धनसंगै पशुधनीहरुको उत्थानशीलताका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने डा. सजना थापाले बताइन् । कार्यक्रमको प्रभावकारिताका लागि सरोकारवालासंग त्रैमासिक वैठक गरिने थापाले बताइन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७, ८, १३, १४, १५ र २१ लाई मुख्य कार्यक्षेत्र बनाएर एनिमल नेपालले काम गर्नेछ । नेपालगञ्जमा मुख्यतः कसगर समुदायले खच्चड/गधा पालन गर्दछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १६:४०

लोकप्रिय