सूचनाको शक्ति - The Power Of Information

        

कृषिमा समृद्धि

कृषिमा आत्मनिर्भर बन्दै खजुरा, फस्टाउँदै नगदेबाली

खजुरा गाउँपालिकामै कृषि क्याम्पससमेत स्थापना भएर कृषि वैज्ञानिक उत्पादनमा अग्रणी बन्ने होडमा छ ।

खजुरा गाउँपालिकाका अधिकांश गाउँहरु तत्कालीन पुनर्वास कम्पनीले इजरायली मोडेलमा बसाएको बस्ती हो । त्यसैले पनि धेरैलाई अनौठो लाग्ने अंग्रेजÞीको अल्फावेट (ए–बि–सि–डी)बाट खजुराका अधिकाशं गाउँहरुको नामाकरण गरिएको थियो । त्यसबेला अङ्ग्रेजी अल्फावेटको (ए–बि–सि–डी)सँगै बाग्मतीनगर, गैरिनगर, अमरबस्ती जस्ता गाउँका नाम राखिए पनि अहिले चलनचल्तीमा (ए–बि–सि–डी)का नामहरु नै रहेका छन् ।

इजरायली मोडेलमा बसाएको बस्ती र उर्वर भूमिको कारण खजुरा कृषिको केन्द्र बनेको थियो । तत्कालीन कपास विकास समितिको केन्द्रिय कार्यालय नै खजुरामा रहेका कारण पनि कपास उत्पादनमा बाँके र बाँकेको खजुरा अग्रस्थानमा आउथ्यो । त्यसपछि आलु, धान, गहुँ, चना, रहर, मसुरोजस्ता खाद्य बाली उत्पादनमा खजुरा अब्बल साबित भएको थियो । त्यसैबेला खजुरामा खाद्यान्नको गल्लाको लागि समेत प्रख्यात थियो । त्यसबेला खजुरा (हालको खजुरा ३ को बजार) गल्ला व्यापारको केन्द्र समेत थियो ।

कृषि क्षेत्रको प्रवद्र्धनमा भएका प्रयास

बिस्तारै खजुराले आफ्नो कृषि उत्पादनलाई नगदेबालीतर्फ मोड्दै गरेको देख्न सकिन्छ । नगदेबाली (तरकारी खेतीतर्फ) आकर्षित बनेका किसानले खजुरामा विशेषत (मौसमी र बेमौसमी) टमाटर, बन्दा, काउली, मुला, साग, आलु, भिण्डी, बोरी लगायतका हरियो तरकारी उत्पादन गर्दै आएका छन् । बेलाबखत कृषि उपजले मूल्य नपाउदा किसान चिन्तित हुनुपरेको यथार्थ बाँकेको खजुराको पनि समस्या हो । देशको विभिन्न हिस्सामा किसानले आफ्नो उत्पादनले मूल्य नपाउँदा सडकमै फालेर बिरोध गरेको त कहिले खेतमै नष्ट गरेको तस्वीर बेलाबखत सार्वजनिक भैरहन्छन् ।

यस्तोमा खजुरा गाउँपालिकाले भने उत्पादनमा अनुदान र ढुवानी सहयोग गरी बजारीकरण गर्न सहयोग गर्दै आएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले खजुरा गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई सहकारीमार्फत विक्रीका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरी बजारीकरण गर्न सहयोग गर्दै आएको बताउँछन् । ‘खजुरा गाउँपालिकाले पालिकामा उत्पादन भएको कृषि उपजले मूल्य नपाएको अवस्थामा खजुरामा रहेको बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लिमिटेड हाटबजारमा सम्पर्क गर्न सकिने ब्यवस्था हामीले मिलाएका छौँ,’ अध्यक्ष विकले भने ।

पालिकाले पालिकामा उत्पादन भएको उपजहरु सहकारीमार्फत कृषि उत्पादन विक्रीका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरी बजारीकरण गर्ने नीति लिएको अध्यक्ष विक बताउँछन् । त्यस्तै खजुराले पालिकालाई कृषिमा आत्मनिर्भर मात्रै होइन जिल्लामा कृषिको हब बनाउन पालिकाले एक वडा एक नमुना फर्म कार्यक्रम सञ्चालन गरेको छ । खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा पुष्प खेतिका लागि कृषकहरुलाई अनुदान प्रदान गरेको छ भने ६० प्रतिशत अनुदानमा ७०० जना कृषकलाई तरकारी तथा च्याउको बीउ वितरण गरेको खजुरा गाउँपालिकाका कृषि शाखा प्रमुख पुनम पोखरेलले बताइन् ।

त्यस्तै खजुराले यो आर्थिक वर्षमा मागमा आधारित ५० प्रतिशत अनुदान कार्यकम, हाटवजार निर्माण, माटो परिक्षणको सुरुवात समेत गरेको छ । जसका लागि माटो परिक्षण प्रयोगशाला स्थापना गरिसकेको छ । त्यस्तै गाउँपालिकाको सिचाई तथा जलस्रोत कार्यक्रम अन्तरगत ३३० जना कृषक लाभान्वित भएको छन् भने अनुदानका कार्यक्रममा लागत साझेदारीबाट २०० जना कृषक लाभान्वित भएको पालिकाको तथ्यांकले देखाएको छ । त्यस्तै खजुरा गाउँपालिकाले किसानको क्षमता वृद्धि, आधुनिक कृषिको ज्ञानको लागि खजुरा गाउँपालिकाका किसानका लागि कृषक तालिमको व्यवस्था गर्दै समेत आएको छ ।

जसमा पालिकाका २२५ बढी किसानहरुले तालिम प्राप्त गरेको खजुरा गाउँपालिकाको तथ्यांकले देखाएको छ भने कृषिमा लगानी बढाउन र कृषि क्षेत्रको सहि डाटा संकलन गरेर कृषिको योजना तर्जुमा र आउने भैपरीका कार्य गर्न खजुरा गाउँपालिकाले खजुरा गाउँपालिकाभित्र रहेका कृषकको तथ्यांक संकलनको कार्यलाई समेत आफ्नो असल अभ्यासको रुपमा प्रस्तुत गरेको छ । खजुरा गाउँपालिकाले खजुरा गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि अनेकन प्रयासहरु गरेको छ । त्यसै अन्तरगत खजुरा गाउँपालिकाको कृषि शाखाले बाली प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

यसरी बढी बाली उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गरिँदै आएको गाउँपालिका कृषि शाखा प्रमुख पोखरेलले बताउँछिन् । ‘हामीले हरेक बर्ष बढी अन्न उत्पादन गर्ने कृषक छनौट गर्ने प्रतियोगिता सञ्चालन गरेर बढी अन्न उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्दै आएका छौँ भने किसानहरुको किसान परिचय पत्रको कार्य समेत अघि बढाएका छौं । जसमा हाल वडा नं. ४ र ८ मा उक्त कार्य भैरहेको छ,’ शाखा प्रमुख पोखरेलले बताइन् ।

‘पढ्दै पढाउँदै’ कार्यक्रम

खजुरा गाउँपालिका आफैंमा कृषिको उर्वर क्षेत्र हो । कृषिकै लागि उपयुक्त माटो र राम्रो सम्भावना बोकेको बजार क्षेत्रसमेत रहेको पालिका हो । त्यसैमा खजुरा गाउँपालिकामै कृषि क्याम्पस समेत स्थापना भएर कृषि वैज्ञानिक उत्पादनमा अग्रणी बन्ने होडमा रहेको छ, खजुरा गाउँपालिका । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ ।

स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आयआर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो । कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

यस्तोमा बाँकेको खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका वडा नम्वर ३ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायबाट प्राकृतिक स्रोत व्यवस्थापन कलेज (कृषि क्याम्पस)सँगको सहकार्यमा पढ्दै पढाउँदै कार्यक्रम अघि बढाएको छ । बाँकेको खजुरा गाउँपालिका इजरायली मोडेलमा बसेको बस्ती हो, इजरायल विश्वमै कृषिमा अगाडी छ । खजुरा गाउँपालिका वडा नं.३ मै कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेज रहेको छ ।

त्यसैले पनि खजुरा गाउँपालिकाले पढ्दै पढाउदै कार्यक्रम मार्फत खजुराको कृषि उत्पादन र कृषि विज्ञको उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिएको पालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ बताउँछन् । ‘हाम्रै पालिकामा कृषि क्याम्पस रहेको छ र हाम्रो खजुरा गापा इजरायली मोडेलमा बसेको बस्ती हो र बाँके र खजुरालाई कृषिमा अब्बल साबित गर्ने उदेश्यले पनि सरकारको पढ्दै पढाउदै कार्यक्रम कृषि क्याम्पस संगको सहकार्यमा हामिले अघि बढाएका छौं । खजुराकै कृषि क्याम्पसबाट कृषि बैज्ञानिक निस्कनेछन् । तसर्थ पनि भाईबहिनीहरुको अध्ययनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने बिश्वास हाम्रो छ,’ अध्यक्ष विकले बताए ।

पालिकाको बजेटमा कृषि

खजुरा गाउँलालिकाले आव २०८०–०८१ को लागि कृषिमा १ करोड १२ लाख विनियोजन समेत गरेको छ । गाउँसभाबाट पारित बजेटमा कृषि क्षेत्रको यान्त्रिकरण र व्यावसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारीकरणमार्फत कृषि क्षेत्रको प्रवद्र्धन गर्न कृषितर्फका कार्यक्रम गरेको र कृषि क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिइ कृषि क्षेत्रको विकास गर्न कृषि तथा सिँचाईतर्फ रु.१ करोड १२ लाख रकम विनियोजन गरिएको छ ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले गाउँपालिकाको समग्र विकासका लागि कृषिले खेल्ने भूमिका उल्लेखनीय रहेकाले कृषि तथा सिँचाइलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएर कृषि क्षेत्रको यान्त्रिकरण र व्यावसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारीकरण मार्फत कृषि क्षेत्रको प्रवर्दन गर्न कृषितर्फका कार्यक्रम अघि सारिएको बताए ।

गाउँपालिकालाई देश विदेशमा चिनाउने किसान

त्यसो त खजुरामा अगुवा किसानहरु जसले कृषिबाटै गाउँपालिकालाई देश तथा विदेशमा चिनाउन सफल पनि हुनुभएको छ । गाउँपालिकाले पनि वर्षेनि किसानहरुको प्रोत्साहनका लागि र कृषि विकासका लागि पर्याप्त बजेट छुट्टयाउँदै आएको छ । खजुरालाई देश विदेशमा चिनाउन कृषि पेशाले मात्रै होइन, तर पनि कृषिबिना खजुरा अधुरो छ । किनकी, बाँकेमै खजुरा क्षेत्र कृषि उत्पादनमा अघि छ । खजुराका व्यवसायीक किसानहरुले आफुमात्रै कृषि कर्म गरेका छैनन्, नयाँ पुस्तालाई पनि कृषि व्यवसायमा लाग्न प्रेरित गरिरहेका छन् ।

खजुराका किसानको जिल्लामा मात्र नभएर राष्ट्रियस्तरमै चर्चा हुने गरेको छ । खजुरालाई देश विदेशसम्म चिनाउने कृषकहरुमा तुलबहादुर कँडेल, लालबहादुर सुनार, गेनालाल मुराउ, गेहेन्द्र धिताल, काशीराम कँडेल, लालबहादुर खत्री, पदमबहादुर राना लगायत छन् । खजुरा गाउँपालिकामा कृषि पेशालाई व्यवसायीक रुपमा अँगाल्ने र ठुलो लगानी गर्ने कृषक हुन्, तुलबहादुर कँडेल । नेपालगन्जको बसाईलाई छाड्दै खजुरा–३ मा बाख्रापालन व्यवसायबाट कृषि क्रान्ति गर्ने र विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्यका साथ कँडेलले हिलपार्क कृषि तथा पशुपालन फार्म सञ्चालन गरेर कर्म गर्दे आएका छन् ।

तुलबहादुरको फार्ममा अहिले दिनहुँजसो आगन्तुक पाहुना आएर ज्ञान सीप लिएर जोसिँदै फर्किन्छन् । देशकै ठुलो पशुपालन फार्म बनाउने लक्ष्य रहेको बताउँदै कँडेलले किसानकै पहिचान बनाउन चाहेको बताए । च्याउ उत्पादक कृषकका रुपमा लालबहादुरको नाम पनि सबैतिर परिचित छ । वैदेशिक रोजगारीबाट फर्किदा शुन्य हात फर्केका उनले जीविका धान्न सात वर्षअघि थोरै लगानीबाट तरकारीसँगै च्याउ खेती गर्न थाले । उनको फार्म अवलोकन गर्न देशका विभिन्न जिल्लाका किसानहरु आउने गरेका छन् । बाँके जिल्लामै सबैभन्दा धेरै टमाटर उत्पादन गर्ने कृषकका रुपमा परिचित हुन्, गेनालाल मुराउ ।

सिजनमा दिनको १५–२० क्वीन्टलसम्म टमाटर विक्री गर्दै आएका मुराउले उत्पादन गरेको टमाटरको माग अन्यत्रको भन्दा ज्यादा छ । उनको बारेमा जान्न र यस्तै तरीकाले खेती गर्न टाढाबाट युवा किसानहरु अवलोकन गर्न आउने गरेका छन् । यसले पनि खजुरा गाउँपालिकालाई देश विदेशमा चिनाएको छ । उमेरले ७५ नाघिसकेका मुराउको जोस र जाँगरले भने जो कोहीलाई पनि प्रेरणा दिन्छ । खजुरा–३ सितापुरका गेहेन्द्र धिताल धेरैका किसान गुरु हुन् । एक्लो मेहेनतले सफल किसान बनेका उनको बारीमा बाहै्रमास केहि न केहि तरकारी फलेको देख्न पाइन्छ ।

गेहेन्द्रको तरकारी र फलफुल खेतीबाहेक अन्य व्यवसाय छैन । यसैबाट उनले आफ्नो घरखर्च चलाउदै छोराछोरीलाई अध्ययन गराइरहेका छन् । आधुनिक प्रविधिबाट खेती गर्दै आएका उनीसँग धेरै किसानहरु लालायीत हुँदै सल्लाह लिने गर्छन् । उनीबाट प्रेरणा लिएर धेरैले गाउँमै तरकारी खेती गरिरहेका छन् । गेहेन्द्रले अनुदानभन्दा पनि आफ्नो कर्ममा बढी विश्वास लाग्ने गरेको बताए । यस्तै खजुरा मनकामनाका काशीराम कँडेल व्यवसायीक गाइपालक किसान हुन् । तीन दशकदेखि व्यवसायीक पशुपालन गर्दै आएका उनी किसानका हकहितमा निडर भएर बोल्ने किसान नेताका रुपमा पनि परिचित छन् ।

गाइपालनबाटै आफ्नो व्यवहार धानेका उनले तरकारीसँगै अन्नबाली पनि लगाउँदै आएका छन् । खजुरालाई देश विदेशसम्म चिनाउने कृषकहरु मध्ये अग्रपक्तिमा हुन्, लालबहादुर खत्री । खजुरा–२ गौरीनगरका कृषक खत्री टमाटर र कुखुरापालक किसान हुन् । परम्परागत रुपमा टमाटर खेती गर्दै आएका उनले आधुनिक प्रविधि अपनाएपछि झण्डै दोव्वरले उत्पादन बढेको बताए । परम्परागत रुपमा लगाइने टमाटरको एक बोटमा ५ देखि ६ किलोसम्म उत्पादन हुने गरेमा आधुनिक प्रविधि अपनाएपछि ८ देखि १० किलोसम्म उत्पादन लिन सकेको उनको भनाइ छ ।

आधुनिक इजरायली प्रविधि, थोपा सिँचाइ तथा प्लाष्टिक मल्चीङ गरेर टमाटर उत्पादन गरिरहनु भएका उनले बार्षिक १५ देखि २० लाखसम्म नाफा कमाउँदै आएका बताए । त्यसैगरी खजुरामा आधुनिक प्रविधि अपनाएर व्यवसायीक तरकारी खेती गरी सफल व्यक्तिको रुपमा परिचय बनाएका छन्, पदमबहादुर रानाले । पदमले गरेको आधुनिक प्रविधिलाई खजुराका अन्य किसानले पनि अपनाएका छन् । उनको खेतबारीमा काम सिकेर धेरै युवाहरु व्यवसायीक बनेका छन् । उनले आफुसँगै आफ्नो गाउँ र गाउँपालिका चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १६:४१

लोकप्रिय