सूचनाको शक्ति - The Power Of Information

        

पशुपति आर्यघाटमा शालीनको अन्त्येष्टि

चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमाअघिल्लो शनिबार मृत भेटिएकी १४ वर्षीया बालिका शालीन पोखरेलको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैजनाको उपस्थितिमा मंगलबार दिउँसो शालीनको अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिका क्रममा शालीनलाई चितवनको होस्टेलमा राखेर काठमाडौंमा बस्दै आएका बाबु दीपेन्द्र पोखरेल उपस्थित थिए।

त्यस्तै दीपेन्द्रसँग सम्बन्धविच्छेदपछि पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी आमा सगुन पनि अन्त्येष्टिका क्रममा सहभागी थिइन्।

त्यसक्रममा आमाबुवा दुवैजनाको पशुपति आर्यघाटमा रूवाबासी चलेको थियो। शालीन अघिल्लो शनिबार बिहान १० बजेतिर कोठाको पंखामा स्काउटको डोरी लगाएर भुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

२ वर्षदेखि उक्त होस्टलमा बस्दै आएकी शालीनको हत्या भयो कि आत्महत्या भन्ने विषयले केही दिनयता सामाजिक सञ्जाल तातेको थियो।

तर त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार नभएको पुष्टि भएको थियो। शालीनको बलात्कारपछि हत्या भएको दाबी उनकै बुवा दीपेन्द्रले गरेका थिए।

आफ्नी छोरी होस्टेलको कोठामा मृत भेटिएपछि बलात्कारपछि हत्या नै भएको हुनुपर्छ भन्ने दाबी उनले गरेका थिए।

शालीनलाई होस्टेल राखेर अर्को घरबार गरेका दुवैजना बाबुआमाले उनको खर्च उठाउँदै आएका थिए। आमा सगुनले दुबईबाट खर्च पठाउने गरेकी थिइन्। बेलाबेलामा दीपेन्द्रले पनि सामानहरू किनेर पठाउने र पकेट खर्च दिने गरेको दाबी गरेका थिए।

यो प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस-प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।

अहिले उनीहरूलाई चार दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १६:१७

लोकप्रिय