सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

गोटी बन्न पाउँदा हर्षित ‘कांग्रेस-एमाले’

आफ्नो काँध खाली हुँदा चिलाउनु स्वाभाविक हो । हिजो एमाले र रास्वपाले कन्याए, अब केही महिना कांग्रेसले कन्याउँछ ।

कांग्रेस र एमाले दुई ठूला शक्ति थिए, स्ट्राइकर थिए । आज गोटी बन्न पाउँदा निकै हर्षित देखिन्छन् । औचित्य र अस्तित्व दुबै सिद्धियो भनेका माओवादीसँग ती दुई दलको कुनै स्पर्धा छैन । एक तहमुनि को बस्ने भन्ने स्पर्धा हो तिनको । तिनको दुःख, खुशी, हार या जीत भनेको काँध बन्न पाउनु र नपाउनुमा हो । रोचक त के छ भने आफ्नै काँधको निर्णय पनि तिनको आफ्नो हातमा छैन । थाप्छु भन्नेबित्तिकै पनि पाइन्न । कुर्नुपर्छ ।

प्रचण्डले दिए, एमालेले सभामुख पायो । कांग्रेसले ‘रियलाइज’ गर्यो, राष्ट्रपति पायो । फेरि एमालेले रियलाइज गर्यो, केही मुख्यमन्त्री पाउने भो । भोलि कांग्रेसले फेरि रियलाइज गर्ला र बाँकी बचेको केही पाउला । रियलाइजेशन भनेको आफ्नो हैसियत र स्तरको पहिचान न हो । सङ्ख्यामा सानो होला, तर देशका ठूला साना सबै दललाई ‘रियलाइजेशन’मा पुर्याउने र ईख नराखी अलिअलि बाँडेर दिने माओवादी सानो होइन ।

र, यतिबेला कांग्रेस एमालेजस्तै हाम्रो रियलाइजेशन पनि के हो भने, तीन जनामध्ये प्रधानमन्त्रीका लागि उपयुक्त पात्र प्रचण्ड नै हुन् । १७ हजार त सत्ता बाहिर हुनेबित्तिकै मुखमा आइहाल्ने एउटा अर्थहीन थेगोमात्रै हो दलहरूको । आफ्नो काँध खाली हुँदा चिलाउनु स्वाभाविक हो । कन्याएर आफैंले आनन्द लिनका लागि हो १७ हजारको प्रसङ्ग कोट्याउने । हिजो एमाले र रास्वपाले कन्याए, अब केही महिना कांग्रेसले कन्याउँछ ।

के बुझौँ भने एक्लै कसैले केही खेल्न सक्दैन । अरू पनि सहभागी भएकाले नै त खेल बन्ने हो । अरूले पनि खेलेकै हुन्, खेल्छन् । प्रचण्डले अलि बढ़ी खेले होलान्, यत्ति हो । नागरिकको रूपमा, हिंसात्मक विगत, अस्थिर राजनैतिक चरित्र, ठोस आदर्श र अड़ानको अभावजस्ता कुरा बिर्सिने हो भने प्रचण्डको प्रधानमन्त्रित्व बाँकीभन्दा खराब छैन । प्रतिपक्षका कुरा सुन्छन्, स्पेस दिन खोज्छन् । संसदमा जाँदै नजाने या एक वर्षमा जाने र दुई घण्टा ’सम्बोधन’ गर्ने जस्तो परम्परा थियो, उनले तोडेका छन् ।

आफै उपस्थित हुन्छन्, प्रश्नहरू सुन्छन्, जबाफ दिन्छन् । आक्रोश सुन्छन् र नम्र भएर जबाफ दिन्छन् । एक पैसा काम गरेर एक मोहोरको गफ गर्दैनन्, गर्न सकिएको छैन भन्ने ’रियलाइज’ गर्छन्, माफी माग्छन् । भ्रष्टाचारका यत्ति धेरै फाइल खुलेको र ठूला माछासम्म पुगेको पनि उनको अडानले नै हुनुपर्छ । निर्मूल त कसले गर्न सक्छ र । सबैभन्दा ठूलो कुरा, आफू अलग हुनेबित्तिकै शब्दकोश नै रित्तिने गरी दुर्वचन र गाली गर्दैनन् ।

मिशन ८४ पछि कसको के हुन्छ, यसै भन्न सकिन्न । पार्टी सदस्यले त यता र उता हुँदा के भन्ने भन्ने पहिल्यै घोकेका हुन्छन्, अरूले चाहिँ तिनकै पछि लाग्नु किन ? कामको आधारमा, गुणदोषको आधारमा टिप्पणी गर्ने हो । अबको ३–४ वर्ष उनै प्रधानमन्त्री हुन् भने उनी असफल हुनु भनेको देश नै असफल हुनुजस्तै हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १६:१४