सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा तीन महिनामा १९६ पसलमा अनुगमन

बाँकेमा बजारमा देखिएको बेथिति अन्त गर्न जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको बजार अनुगमन समितिले अनुगमनलाई निरन्तर तीव्र पारेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार बजारमा रहेका विभिन्न बेथितिबारे जनताको विभिन्न गुनासो आएकाले बजार अनुगमनलाई निरन्तर गरिएको हो ।

तीन महिनाको अवधिमा बाँकेका १९६ वटा पसल र व्यावसायिक फर्ममा अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

उहाँले गत तीन महिनामा बजार अनुगमन तीव्र पारिएको जनाउँदै सो क्रममा धेरै पसल र व्यावसायिक प्रतिष्ठानलाई जरिवाना र कारवाही गर्नुका साथै चेतावनी समेत दिइएको बताउनुभयो ।

समितिले अनुगमनका क्रममा अवैध मालसामान नष्ट गर्नेदेखि व्यवसायमा ताला नै लगाउने काम गर्दै आए पनि बजारमा बेथिति भेटिने क्रम भने कम भएको छैन । जति पटक अनुगमन गरे पनि बेथिति फेला पर्ने गरेको समितिले जनाएको छ ।

सोही क्रममा जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको संयुक्त बजार अनुगमन समितिले पछिल्लो पटक फेरि पनि नेपालगन्ज र जानकी गाउँपालिकाको बजार अनुगमन गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार नेपालगन्ज उपमहानगर र जानकी गाउँपालिकामा रहेका १२ वटा पसलमा अनुगमन गरिएको हो । आकस्मिक रुमपा गरिएको सो अनुगमनमा १८ हजार रुपियाँको अवैध सुर्तीजन्य पदार्थ जफत गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

त्यस्तै, अवैध रूपमा आयात गरिएको तथा म्याद गुज्रिएका चिसो पेय पदार्थ पनि नष्ट गरिएको छ । बजार अनुगमन समितिले १५ हजार २६० मूल्य बराबरको पेय पदार्थ नष्ट गरिएको जनाएको छ ।

त्यस्तै, बजार अनुगमन समितिले ड्राइ फ्रुट्स पनि अनुगमनका क्रममा बरामद गरेको छ । गुप्ता ट्रेडिङ एण्ड सप्लायर्सबाट ३१ प्याकेट ड्राइ फ्रुट्स अनुगमन समितिले नियन्त्रणमा लिएको हो ।

अनुगमन समितिले ड्राड फ्रुट्सका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाउने भएको छ । त्यसका लागि थप अनुसन्धान गर्ने जनाई व्यवसायीलाई वाणिज्य कार्यालयलाई उपस्थित हुन निर्देशन गरिएको छ ।

पटकपटक बजार अनुगमन र कारवाही हुँदा पनि बजारमा रहेको बेथिति समाप्त नहुँदा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १५:२१

लोकप्रिय