सूचनाको शक्ति - The Power Of Information

        

‘वास’मा लैंगिक समानता र सामाजिक समावेशीकरणबारे छलफल

नेपालगन्जका जनप्रतिनिधि र कर्मचारीसंग वासका क्षेत्रमा ‘लैंगिक समानता र सामाजिक समावेशीकरण’ का विषयमा छलफल गरिएको छ ।

एसएनभी नेपालको आयोजनामा भएको कार्यक्रममा खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण सुनिश्चितताका लागि सबैको पहल, चासो र पैरवीमा जोड दिइएको छ ।

लैंगिकमैत्री अवस्था सिर्जना गर्न समानताको व्यवहारले मात्र परिणाम नदेखिने भन्दै समता, अग्राधिकार र सकारात्मक विभेदसम्मका नीति अख्तियारको आवश्यकता औंल्याइएको छ । कार्यक्रममा एसएनभीकी साबित्रा ढकालले प्रस्तुतिकरण गरेकी थिइन् ।

उनले नेपालगन्ज उपमहानगरपालिकाको लैंगिक समानता र सामाजिक समावेशीकरणको स्वमूल्यांकन अवस्थाबारे चित्रण समेत गरेकी थिइन् । खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रका प्रणालीहरु सुदृढ पार्ने, सीमान्तकृत समुदायहरु र समुदायका सदस्यहरुको निम्ति दिगो खानेपानी, सरसफाई तथा स्वच्छता सेवा सुविधाहरुमा समतामूलक, विश्वव्यापी/सहज पहुँच वृद्धि गर्ने,  घरधुरी, समुदाय र संस्थाहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवलीकरण गर्ने र दिगो लैंगिक तथा समावेशी खानेपानी, सरसफाई तथा स्वच्छताका लागि नयाँ अभ्यासको प्रयोग गर्ने उद्देश्यका साथ एसएनभीले काम गरिरहेको पार्वती दंगालले बताइन् ।

नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि नेपालगन्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउँदै लैंगिकमैत्री नीति र व्यवहारिक कार्यान्वयनमा सबैको चासो र खबरदारी आवश्यक रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको उपस्थिति थियो । एसएनभीले नेपालगन्जमा वासका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १५:११

लोकप्रिय