सूचनाको शक्ति - The Power Of Information

        

समृद्धितर्फ खजुरा

भौतिक पूर्वाधार विकाससँगै खजुरामै विश्वविद्यालय, फस्टाउँदै ब्यवसाय

सडक निर्माण, सडकको स्तरोन्नति, मर्मत तथा नाली निर्माण उलेख्य संख्यामा भएपछि खजुराका दुरदराजका अधिकांश सडकले मुहार फेरेका छन् ।

लुम्विनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना अध्ययन संस्थानको नवनिर्मित भवन ।

संघीयतापछि खजुरा गाउँपालिकाले भौतिक पूर्वाधारसँगै शिक्षामा फड्को मारेको छ । भौतिक पूर्वाधारमा बाँकेका अन्य पालिकालाई उछिनेको खजुरामा कृषि क्याम्पस र लुम्विनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना अध्ययन संस्थान सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका ३, सन्तकुटीस्थित जनता माध्यमिक विद्यालयको जमिनमा कृषि क्याम्पस स्थापना भई कृषि विषयमा विएससी एजीको अध्यापन भइरहेको छ ।

उक्त क्याम्पसलाई चितवनस्थित कृषि तथा बाली विज्ञान क्याम्पसले सम्बन्धन दिएको छ । खजुरामै लुम्विनी प्रदेशको गौरवको योजना अन्तरगत लुम्विनी प्राविधिक विश्वविद्यालय स्थापना भई अध्यापनका लागि भर्ना आवेदन आह्वान भएको छ । ब्याचलर टेक्निकल इन सिएस एण्ड एआई र ब्याच्लर टेक्निकल इन आइटी विषयमा भर्ना आवेदन माग गरिएको हो । आगामी दिनमा प्राविधिक धारतर्फका थप विषयको अध्यापन गर्ने योजना विश्वविद्यालयले लिएको छ ।

खजुरा गाउँपालिकाले प्राविधिक विश्वविद्यालयमा अनुसन्धान आइटी पढ्ने चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । खजुरामा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडक, विद्युत, सडक, नाला, पशु, कृषि, सार्वजनिक भवन र पुलपुलेसा निर्माणमा पनि अगाडी देखिएको छ । यस पालिकामा खजुरा खेलकुद ग्राम निर्माण समेत भएको छ । खजुरा गाउँपालिका–२, रिमझिम चोकमा निर्माण भएको खेलकुद ग्राममा शुक्र भलिवल एकेडेमी, फुटवल रंगशाला र कवर्ड निर्माण गरिएको छ ।

साढे दुई विघा जमिनमा फैलिएको खजुरा खेलकुद ग्रामलाई चारैतर्फ पर्खालले घेरिएको छ । यहि भलिवल एकेडेमीमा आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत महिला र पुरुष भलिवल प्रतियोगिता भएको थियो । भने, खजुराका विभिन्न विद्यालयमा प्रतियोगिता आयोजना भएका थिए । ‘खजुरालाई नेपालमा चिनाउने ‘भलिवल एकेडेमी’ तथा खजुरा खेलकुद ग्राम पनि एउटा हो,’ खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनिराम ओलीले भने, ‘बाँके जिल्लाका अन्य पालिकाले नपाएको संरचना खजुराले पाएको छ । यो खजुराबासीको गौरवको विषय हो ।’

विगत लामो समयदेखि जिल्लामा खजुराले खेलकुदमा राखेको बर्चश्व कायम राख्न र खेलकुदमा देखिएको निराशा हटाउन गाउँपालिकाले वडा नं. ४ मा मिनी रंगशाला निर्माण गरेको छ । नेपालगन्ज गोल्डकप समेत आयोजना सम्पन्न गरेको उक्त रंगशालाले खजुरामा खेलकुदको सम्भावनालाई समेत जिवित राख्न मद्दत गरेको छ । ‘खजुरालाई खेलकुद ग्राम बनाउन शुक्र स्टेडियमले सघाएको छ । यसको थप विकास र विस्तार गरि खजुरालाई खेलकुदमय बनाउने योजना छ,’ गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले भने ।

संघीयतापछि यहाँ औद्योगिक ग्राम स्थापना गरिएको छ । औद्योगिक ग्राममा निर्माण हुने संरचनाका लागि डिपिआर तयार भई निर्माणको काम अगाडी बढाइएको छ । यो पनि खजुराको गौरवको योजना अन्तरगत पर्दछ । खजुरा गाउँपालिका वडा नं. ६ पुरैनी स्थित १६ बिगाह जमिन संरक्षण गरि तारबार लगाइएको छ । यसको निर्माण कार्य छिट्टै अगाडी बढाउने गाउँपालिकाले जनाएको छ । औद्योगिक ग्राम खजुराको गौरवको योजना अन्तरगत पर्दछ ।

‘औद्योगिक ग्राम स्थापना गरि खजुराका नागरिकलाई रोजगार र ब्यवसायमा लगाउने गरि काम अगाडी बढेको छ,’ गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले भनिन्, ‘औद्योगिक ग्रामले खजुरालाई समृद्ध बनाउन मद्दत गर्ने विश्वास छ ।’ अन्य पालिकाभन्दा खजुरा गाउँपालिकामा सडक निर्माणले गति लिएको छ । यहाँका अधिकांश सडक स्तरोन्नती भई कालोपत्रे भइसकेका छन् । सवै गाउँ सडक सञ्जालसँग जोडिएका छन् ।

खजुरा गाउँपालिकामा झण्डै डेढ किलोमिटर सडक कालोपत्रे भएको पालिकाले जनाएको छ । यहाँका सवै गाउँ सडक सञ्जालसँग जोडिएका छन् । ‘सडक निर्माणको काम करिव–करिव अन्तिम चरणमा छ । अव सडक निर्माणभन्दा शिक्षा, स्वास्थ्य, कृषिको विकासमा लाग्ने बेला भएको छ,’ उपाध्यक्ष मल्लले भनिन् । सडक निर्माण, सडकको स्तरोन्नति, मर्मत तथा नाली निर्माण उलेख्य संख्यामा भएपछि खजुराका दुरदराजका अधिकांश सडकले मुहार फेरेका छन् ।

खजुराले भौतिक पूर्वाधार निर्माणमा उल्लेख कार्य गरेको स्थानीयको बुझाई छ । ‘गाउँहरु सडक संजालसँग जोडिएपछि गाउँको विकास भएको छ । सडक पुगेपछि हिँड्डुल गर्न सहज भएको छ,’ खजुरा गाउँपालिका–८ रनियापुरका तारिफ मोहम्मद खाँले भने, ‘सडकले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा समेत टेवा पुर्याएको महसुस भएको छ ।’ त्यस्तै, खजुरा गाउँपालिकामा तीन वटा चिल्ड्रेन पार्क र एउटा जेष्ठ नागरिक पार्क निर्माण भएको छ ।

जेष्ठ नागरिकका लागि दुई वटा ‘खुसियाली घर’ पनि निर्माण भएका छन् । जनतालाई प्रत्यक्ष सरोकार राख्ने बाटो पुल पुलेसा मात्रै होइन समग्र गाउँपालिकालाई समुन्नत र समृद्ध बनाउन पालिकाले सर्वसाधारणलाई आवश्यक पर्ने कृषि तथा अन्य क्षेत्रमा समेत उपयोगी हुने भौतिक पूर्वाधार निर्माणमा जोड् दिएको छ । खजुराको कृषि क्षेत्रको बिकासका लागि पालिकाले एक हजार ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरेको छ ।

यसको निर्माण कार्य अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । खजुरामै सरकारले पालिकामा ५०० जना अट्ने क्षमताको बहुउद्देश्यीय सभाहलसमेत निर्माण गरिरहेको छ । नेपालगन्जमा हुने कार्यक्रम खजुरामा पनि गराउन सकिने अवधारणासहित उक्त वहुउद्देश्यीय सभाहल निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । ‘सभाहल निर्माण भए खजुरामा ठूला–ठूला कार्यक्रम गर्न सकिने र नेपालगन्जमा हुने कार्यक्रम खजुरामा गर्न सकिनेछ,’ उनले भने ।

खजुरा वडा नं.३ बी गाउँमा खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण भएको छ । कुल ६ बिगाह १० कठ्ठा जमिनमा निर्माण भएको उक्त प्रशासनिक भवनको उद्घाटन भई पालिकाको प्रशासनिक काम त्यहिँबाट सञ्चालन हुन थालेको छ । ‘खजुरा सरकारको काम नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । सवै शाखा र उपशाखा सोही भवनबाट दिन थालेपछि सर्वसाधारणलाई सहज भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत रानाले भने ।

गाउँपालिकाले आमाबाबु तथा अन्य अभिभावक नभएका बालबालिको शिक्षा तथा आवासको ब्यवस्थासमेत गरेको छ । वडा नम्वर २ मा अनाथालय स्थापना गरेर अभिभावकविहीन बालबालिकालाई शिक्षादिक्षा एवम् लालनपालन गर्दै आएको छ । शिक्षा, सडक तथा भौतिक निर्माणमा खरो रुपमा उत्रिएको खजुरा गाउँपालिकाले अव कृषि क्रान्तिका लागि गौरवका योजना बनाउन र बजेट विनियोजन गर्न आवश्यक भएको खजुराका अगुवा कृषक लालबहादुर खत्रीले बताए ।

उनले कृषि क्रान्तिका लागि पालिकाले योजना बनाएर अघि बढे यहाँका कृषकको मुहार फेरिने बताए । ‘खजुरामा कृषिको प्रवल सम्भावना छ । यहाँ उत्पादित कृषि बस्तु नेपालगन्ज, कोहलपुरसँगै भारत पठाउन सकिने सम्भावना छ,’ उनले भने, ‘खजुराको साँच्चिकै विकास गर्ने हो भने अव कृषिमा लगानी गर्नुपर्छ । पालिकाले कृषि क्रान्तिका लागि योजना बनाउनुपर्छ ।’ खजुराका अधिकांश गाउँ सडक सञ्जालसँग जोडिएपछि यहाँ होटल ब्यवसाय पनि फस्टाउँदै गएको छ ।

यहाँ खजुरा ग्रिन कटेज, खजुरा मिनी भिलेज पार्क लगायतका कटेज र पार्क सञ्चालनमा आएका छन् । खजुरा मिनी भिलेज पार्कमा खाने, बस्ने ब्यवस्थासँगै अत्याधुनिक पौडी पोखरीको समेत ब्यवस्था गरिएको छ । सर्वसाधारणले परसपुर–गौघाट सडक छिट्टै निर्माण गर्न माग गरेका छन् । निर्माणको सम्झौता भएको लामो समय वित्दासमेत निर्माण नभएपछि यहाँका सर्वसाधारण सास्ती ब्यहोर्दै आएका छन् ।

सर्वसाधारणको चर्को आलोचना र दवावपछि ठेकेदार कम्पनीले सडक निर्माणको काम अगाडी बढाएको छ । अवको एक वर्षभित्र निर्माण पुरा गर्ने लक्षका साथ काम भइरहेको गाउँपालिकाका अध्यक्ष विकले जानकारी दिए । संघीयतासँगै बनेका स्थानीय तह र जननिर्वाचित जनप्रतिनिधिले ‘समृद्ध खजुरा’ बनाउने अभियानमा जुटेका छन् । जनताको आशा र भरोसामा कमी आउन नदिन यहाँका जनप्रतिनिधि खरो रुपमा उत्रिन सर्वसाधारणको आग्रह छ ।

स्थानीय तहले उपलब्ध प्रकृति र संस्कृतिलाई उन्नतिसंँग जोड्न सक्ने हो भने खजुराको समृद्धि टाढा छैन । यसका लागि यस स्थानीय सरकारले प्रभावकारी ढंगबाट कार्य गर्नुपर्ने खाँचो छ । उच्चतम प्रविधिको प्रयोग र निजी क्षेत्रको सक्रियता उत्तिकै आवश्यक छ । उपलब्ध सम्भावनाहरुलाई उपयोग गरेर समृद्धिको यात्रा तय गर्न दरिलो ढंगले स्थानीय सरकारले नेतृत्व गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि जनप्रतिनिधिहरु मानसिकतारुपमै तयार भएर लाग्नुपर्छ ।

स्थानीय सरकारलाई स्थानीय बजार व्यवस्थापन, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ लगायतका स्थानीय पूर्वाधार निर्माण र विकासका साथै कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी जस्ता उत्पादनमूलक क्षेत्रमा काम गर्ने जिम्मेवारी दिएको छ । स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास मात्र भएको छैन, यसले सामुदायिक गतिविधिमा नागरिक सहभागी हुने वातावरण बनेको छ ।

स्थानीय विकास, निर्माण र आर्थिक विकासका गतिविधिमा वृद्धि गराएको छ । उत्पादन, प्रशोधन, बजारीकरण तथा सेवाको व्यावसायिक विकासका लागि स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नसक्छ । कृषि, पशुजन्य तथा सामान्य घरेलु उद्योगबाट उत्पादन हुने वस्तुको आयात भइरहेको अवस्थामा स्थानीय तहबाट गरिने प्रयासले ती वस्तुको आयातलाई प्रतिस्थापन गर्नसक्छ । यसका लागि पिछडिएको र ग्रामीण क्षेत्रमा उद्यमशीलता विकासका लागि प्रयास हुनुपर्छ ।

लघु, घरेलु साना र मझौला उद्योगको प्रवद्र्धन गर्न स्थानीय स्रोत, साधन र सीपको आधारमा स्थानीय माग अनुसारका वस्तु उत्पादन गर्न आवश्यक प्रविधि, व्यवस्थापन र बजार प्रवद्र्धनमा क्षमता विकास गर्नुपर्छ । गाउँपालिकाका अध्यक्ष विक भन्छन्, ‘प्रत्येक एकाइमा एक वा एकभन्दा बढी आर्थिक केन्द्र विकास हुने वातावरण बनेको छ । स्थानीय सरकारले अब आफ्नो क्षेत्रका आवश्यकता, क्षमता र उपलब्ध स्रोत, साधनलाई विचार गरेर आर्थिक विकासको योजना बनाइरहेको छ ।’

उनले आफ्नो क्षेत्रका लागि उपयुक्त हुनेगरी कृषि र पशुपालन सम्बन्धी व्यवसाय विकासको नीति र मोडल बनाइरहेको बताए । उनले भने, ‘यसले खजुराको समृद्धि सम्भव छ भने गाउँपालिकाबासीको समावेशी आर्थिक वृद्धि दरमार्फत गरिबी, असमानता, बेरोजगारी तथा परनिर्भरताको अन्त्य गरी दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्छ ।’ अध्यक्ष विकले पुरानै ढर्राको बजेट, नीति, कार्यक्रममा स्थानीय तहको समृद्धि सम्भव नभएकाले आफूहरु नयाँ र सिर्जनशील सोंचका साथ अघि बढिरहेको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १२:३४

लोकप्रिय