सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा १ लाख २३ हजार रुपैयाँ पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम हुँदै मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको हो ।

यसअघि गत पुस १२ गते सुनको मूल्य प्रतितोला १ लाख २२ हजार पुगेको थियो । यसयता केही घट्दो क्रममा रहेको सुनको मूल्य आइतबारदेखि पुनः उकालो लाग्न पुगेको हो ।

आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै छापावाला सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ पुगेको थियो । दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर भएकामा तेस्रो दिन थप २ हजार रुपैयाँले बढ्दै १ लाख २३ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ११:२५

लोकप्रिय