सूचनाको शक्ति - The Power Of Information

        

पशुपालनलाई प्रोत्साहन

खजुरामा गाईभैंसीलाई ‘सुत्केरी भत्ता’, किसान उत्साहित

कृत्रिम गर्भाधान गराउँदा बच्चा बस्ने सम्भावना शतप्रतिशत रहेकाले पनि किसान कृत्रिम गर्भाधानमा बढी विश्वस्त हुन थालेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाका पशुपालक कृषकले सुत्केरी पशु चौपायाको रेखदेख र पौष्टिक आहाराका लागि सुत्केरी गाईभैंसीलाई ‘सुत्केरी भत्ता’ वितरण गर्दै आएको छ । गाउँपालिकाले गत आर्थिक बर्ष २०७९–०८० मा पालिकाभित्रका १ हजार १६५ गाई र भैंसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको गाउँपालिका पशु शाखाका प्रमुख बुद्धिबहादुर थापाले जानकारी दिए ।

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै गाउँपालिकालाई जिल्लामै पशुपालन र कृषिमा नमूना बनाउने उद्देश्यले पशुलाई सुत्केरीभत्ता वितरण गर्न थालिएको उपाध्यक्ष मञ्जु मल्लले बताइन् । ‘गाउँपालिकाबाट प्राप्त भत्तालाई कृषकले भैंसी र पाडापाडीको रेखदेख र पौष्टिक आहारामा खर्च गर्नुपर्छ । हामीले नियमित अनुगमन गछौं,’ उपाध्यक्ष मल्लले भनिन् ।

उनले स्थानीय र उन्नत जातका गाइभैंसीलाई भत्ता वितरण गर्न थालेपछि पशुपालनमा समेत आकर्षण बढेको बताइन् । गाउँपालिकाले भैंसी व्याहेपछि धेरै दुधको लाभ लिनका लागि पाडापाडी कटाउने (काटेर खानेलाई बेच्ने चलन हटाएर पाडापाडी संरक्षण गर्न भत्ताको कार्यक्रम ल्याएको जनाएको छ । गाइभैंसी सुत्केरी भएलगत्तै किसानले गाउँपालिकालाई खवर समेत गर्न थालेको पशु शाखा प्रमुख थापाले बताए ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले स्थानीय जातका गाइभैंसीसँगै उन्नत जातका गाइभैंसी पालनमा समेत प्रोत्साहन गर्ने बताउँदै भत्ता प्राप्त गर्ने गाईभैंसीको सख्या हरेक वर्ष बढाउने बताए । विगतमा एक–दुई लिटर दुधको लोभमा भैंसी व्याहेको एक हप्तामै पाडापाडी बेच्ने किसानले अहिले भत्तासँगै पाडापाडी संरक्षण गर्नसमेत थालेको गाउँपालिकाले जनाएको छ ।

साथै गाउँपालिकाले गाईभैंसीलाई निःशुल्क कृत्रिम गर्भाधान सेवा समेत उपलब्ध गराउँदै आएको पशु शाखा प्रमुख थापाले बताए । राम्रो उत्पादन हुने भएपछि घरपालुवा पशुको कृत्रिम गर्भाधारण गराउने कृषकहरुको संख्या बढेको उनको भनाई छ । कृत्रिम गर्भाधारणका कारण दूध उत्पादनमा वृद्धि हुने तथा बाच्छाबाच्छी समेत उन्नत हुने भएकाले विशेषतः गाइभैंसीको कृत्रिम गर्भाधारण गर्ने किसानको संख्या बढिरहेको छ ।

गाउँपालिकाले आव २०७९–०८० मा ४ हजार ५०० वटा गाइभैंसीमा निःशुल्क कृत्रिम गर्भाधान गराएको छ । तीमध्ये ९९ प्रतिशत गर्भाधान सफल भएको पनि गाउँपालिकाको पशु शाखाले जनाएको छ । पशु शाखा प्रमुख थापाले भने, ‘कृत्रिम गर्भाधानले पशुबाट जन्मने बच्चा स्वस्थ र उन्नत जातको हुने भएकाले पनि किसानको आकर्षण बढेको छ ।’ कृत्रिम गर्भाधानले गाई, भैंसीले दुध बढी दिने गरेको समेत उनले बताए ।

‘कृत्रिम गर्भाधान गराएका पशुले बढी दुध दिन्छन् । यसले गर्दा पनि किसानको आकर्षण बढेको हो,’ पशु शाखा प्रमुख थापाले भने, ‘कृत्रिम गर्भाधान गराउँदा बच्चा बस्ने सम्भावना शतप्रतिशत रहेकाले पनि किसान कृत्रिम गर्भाधानमा बढी विश्वस्त हुन थालेका छन् । किसानहरूको सहभागिता बढ्दो छ । सुरुमा थाहा नभएर किसान सहभागी भएनन् । आजभोलि उत्साहजनक सहभागिता देखिएको छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०९:१५

लोकप्रिय