सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा समुदायको चासो

शैक्षिक हव बन्दै ‘खजुरा गाउँपालिका’

खजुराका सबै बालबालिकाहरुलाई विद्यालय भित्र्याउन गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ । विद्यालयको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका, गरिब, दलित, जेहेन्दार तथा पिछडिएका क्षेत्रका बालबालिकाहरु अहिले विद्यालयको पहुँचमा पुगेका छन् ।

खजुरा गाउँपालिका बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये एउटा हो । व्यापारिक तथा औद्योगिक क्षेत्रमा प्रचिलित ठाउँ हो । खजुरा शहरको नामबाट २०७३ साल फागुन २७ गते खजुरा गाउँपालिका स्थापित भएको हो । खजुरा गाउँपालिकामा आठ वटा वडा छन् । यस गाउँपालिकाको कुल क्षेत्रफल १०२ वर्ग किलोमिटर रहेको छ । गाउँपालिका क्षेत्रसँग सीमाना जोडिएका ठाउँहरु पूर्वमा जानकी गाउँपालिका, पश्चिममा बर्दिया, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारतको सीमाना पर्दछ ।

साविकका राधापुर, सितापुर, उढरापुर, सोनपुर, रनियापुर र बागेश्वरी गाविस मिलेर बनेको खजुरा गाउँपालिकामा मिश्रित बसोबास रहेको छ । वडा नम्बर ५, ६, ७ र ८ मा मधेसी बाहुल्यता बसोबास गर्दै आएका छन् । धार्मिक हिसाबले खजुरामा प्रायः सबै धर्मप्रति आस्था राख्ने नागरिक बसोबास गरे पनि हिन्दु र मुस्लिमको बाहुल्यता रहेको छ । खजुरा गाउँपालिका शैक्षिक हिसाबले मदरसादेखि विश्वविद्यालयसम्म खजुरा गाउँपालिकामा भएका कारण बाँके जिल्लाको उदाउँदो शैक्षिक हवको रूपमा विकास हुँदै गएको छ । शिक्षा नभई नहुने र देश विकासमा पनि शिक्षाको महत्व बढी हुने हुँदा शिक्षातर्फ थुप्रै विकास भइरहेको छ ।

शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगवाट हरेक व्यक्तिले आफुलाई सक्षम बनाउन सक्छ । शिक्षाकै माध्ययमबाट व्यक्तिले आफ्नो क्षमता, व्यवहार, उद्देश्य, समाजप्रतिको अवधारणाको विकास गर्छ । यी सबै क्षमता अभिवृद्धिका लागि हरेक व्यक्ति साक्षर हुन आवश्यक हुन्छ । सबै जनसंख्या साक्षर भएमा मात्रै सिङ्गंो गाउँपालिका साक्षर हुने र दिगो विकासमा टेवा पुग्ने भन्दै साक्षर गाउँपालिका घोषणा भइसकेको खजुराको इतिहास पुरानो शहर भए पनि अझै ग्रामीण गाउँबस्तीमा बसोबास गर्ने नै धेरै छन् । खजुराको शिक्षामा यहाँका नीजि विद्यालयहरुले समेत ठुलो टेवा पुर्याउँदै आएका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर ४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइन् । विद्यालय कहिल्यै नगएकी उहाँले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन् । बिहेपछि घर व्यवहार छोराछोरीको जिम्मेबारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण गर्यो र उनी पनि आफ्नो नाम लेख्न र लेखेको कुराहरु पढ्न सक्ने भएपछि आफुलाई कसैले अन्धकारमा राख्न नसक्ने भन्दै साक्षर बन्ने सोंचमा पुगिन् । अहिले सुनारको अवस्था फेरिएको छ । कृषि पेसा गर्ने उहाँले अन्न बेच्दा होस् या खसीबाख्रा बेच्दा होस् सजिलै हिसाब राख्न सक्छिन् ।

शिक्षाको महत्व राम्ररी बुझेकी उनले आफ्ना चार छोराछोरीलाई उच्च शिक्षा हाँसिल गराइरहेकी छन् । यस्तै बुद्ध टोलकी ५३ वर्षिय चुकु महतारा पनि साक्षर अभियानमा सहभागी भएपछि सामान्य लेखपढ गर्न सक्ने भएकी छन् । सामान्य हिसाव गर्न र आफ्नो नाम लेख्न अनि पढ्न सक्ने भएकोमा उनी मख्ख परेकी छन् । वडा नं.४ कै भण्डारीयाकी राजिया शेखलाई पनि सामान्य लेखपढ गर्न आउँदैनथ्यो । भारतबाट बिहे गरेर नेपाल आएकी उनले साक्षर कक्षामा सहभागी भए पनि केहि नेपाली बोल्न र लेख्न सिकेकी छन् । यतिमात्रै होइन, तीन सन्तानकी आमा उनी आफ्ना छोराछोरीले पनि पढ्न लेख्न सिकाउने गर्छिन् । जसले गर्दा आफुलाई पढ्न सजिलो भएको उनी बताउँछिन् ।

गाउँपालिकाको विकासका लागि शिक्षा क्षेत्रको विकास हुनु अतिनै आवश्यक रहन्छ । विगतमा छोरालाई मात्र विद्यालय पठाउनुपर्छ, उसलाई जागिरे बनाएपछि बुढेसकालमा पाल्छ, सुख दिन्छ, छोरीलाई पढाएर केही काम नहुने भन्दै छोरीको शिक्षाको कुनै पनि औचित्य नदेखेको हाम्रो समाजले अहिले आएर राम्रोसँग शिक्षाको महत्व बुझेको छ, अब त छोरीलाई मात्र होइन उमेर छिपिँदै गएका आमाहरुलाई पनि साक्षर बन्नका लागि कम्मर कसेर पढ्ने वातावरण बनिसकेको छ । नेपाल सरकारले पनि शिक्षा क्षेत्रलाई विशेष महत्व दिँदै प्राथमिकताका साथ प्रभावकारी बजेट तथा कार्यक्रमहरु ल्याएको छ, जसले गर्दा सामुदायिक विद्यालय र त्यहाँका विद्यार्थीहरुको भविष्य उज्यालो बनिरहेको छ ।

भनिन्छ, नि घरकी आमा शिक्षित भइन भने पुरै घर शिक्षित हुन्छ घर शिक्षित भए समाज शिक्षित हुन्छ अनि सिंगो राष्ट्र नै शिक्षित बनाउन सकिन्छ । विद्यार्थीहरुका अभिभावकहरु शिक्षित भए भने उनीहरुले विद्यालयमा पनि राम्रो शिक्षाका लागि दवाव तथा प्रभाव पार्न सक्छन् जसले गर्दा विद्यालयमा हुने कमी कमजोरीहरु पहल्याउन सकिन्छ र सुधार गर्न पनि सकिन्छ । अभिभावक शिक्षित भए भने विद्यार्थीले घरमा पनि सिकाइमैत्री वातावरण पाउने छन् । त्यसो त खजुराको शैक्षिकस्तर माथि उठाउन सामुदायिक र नीजि विद्यालयहरुको ठुलो भुमिका रहेको छ ।

घर अनि समाजमा शिक्षित व्यक्ति भए पनि घरेलु हिंसा, महिला हिंसा लगायतका अपराधिक गतिविधिहरुमा पनि कमी भएर जाने गर्छ जसले गर्दा खजुरालाई सभ्य गाउँपालिका बनाउन सकिन्छ । यस गाउँपालिकामा मधेसी समुदायको बाहुल्यता छ । विगतमा शिक्षाको पहुँचबाट टाढा रहेको यो गाउँपालिका अहिले शैक्षिक क्षेत्रका रुपमा चिनिन्छ । खजुरामा धेरै शिक्षित व्यक्ति, शिक्षित समाज र अध्ययन गर्दै गरेका बालबालिकाहरु सहजै देख्न सकिन्छ । नेपाल सरकाले पनि सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालय वा बालबालिकालाई प्रोत्साहनमा विभिन्न अनुदान सहयोगहरु प्राप्त भइरहेकाले शिक्षाले राम्रै गति लिइरहेको छ ।

आजका बालबालिका भोलीका कर्णधार हुन् । खजुराका सबै बालबालिकाहरुलाई विद्यालय भित्र्याउन गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ । अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन गाउँपालिकाले भर्ना अभियान लगायतका विभिन्न कार्यक्रमहरु गरिरहेको छ । जसले गर्दा खजुराका विद्यालयहरु अपाङ्गतामैत्री विद्यालय बन्न सफल पनि भएका छन् । विद्यालयको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका, गरिब, दलित, जेहेन्दार तथा पिछडिएका क्षेत्रका बालबालिकाहरु अहिले विद्यालयको पहुँचमा पुगेका छन् । कक्षा छोड्ने तथा दोहोर्याउने विद्यार्थीहरुको संख्यामा पनि धेरै सुधार भएको छ ।

खजुरा गाउँपालिकाभित्र संस्थागत विद्यालय २१ वटा रहेका छन् । सामुदायिकतर्फ कुल ४७ वटा सामुदायिक विद्यालय तथा मदरसा छन् । नीजि विद्यालयतर्फ पूर्व प्राथमिक तहमा छात्रा ९०३ र छात्र १२४६ गरि कुल २१४९ विद्यार्थी छन् । प्राथमिक तह १–५ तर्फ छात्रा १००० र छात्र १५०९ गरी कुल २५०९ विद्यार्थी अध्ययनरत छन् । आधारभूततर्फ ६–८ तह छात्रा ३२० छात्र ५५४ गरी कुल ८७४ विद्यार्थी छन् । माध्यमिक तह ९–१० छात्रा १४० छात्र २२७ गरी कुल ३६७ जना विद्यार्थी छन् । त्यसैगरी ११–१२ कक्षामा छात्रा २८ छात्र ५१ गरी कुल ७९ विद्यार्थी रहेका छन् भने संस्थागत विद्यालयहरुमा कुल ५ हजार ९७८ जना विद्यार्थी रहेका छन् ।

सामुदायिक विद्यालयतर्फ पूर्व प्राथमिक तहमा छात्रा ७०८ छात्र ८०८ गरी कुल १५१६ विद्यार्थी रहेका छन् । आधारभूत १–५ कक्षामा ३७२३ छात्रा ३५८९ छात्र गरी कुल ७३१२ विद्यार्थी रहेका छन् । त्यसैगरी आधारभूत ६–८ कक्षामा १५१८ छात्रा र १६४८ विद्यार्थी रहेका छन् । माध्यमिक तह ९–१० कक्षामा छात्रा ९२८ र छात्र ९३२ गरीकुल १८६० विद्यार्थी रहेका छन् । त्यसैगरी माध्यमिक तह कक्षा ११–१२ मा छात्रा ७५८ र छात्र ८०३ गरी कुल १५६१ विद्यार्थी रहेका छन् । कुल सामुदायिक विद्यालयमा छात्रा ७ हजार ६३६ छन् भने छात्र ७ हजार ७८१ गरी कुल १५ हजार ४१७ विद्यार्थी सामुदायिक विद्यालयहरुमा अध्ययनरत छन् ।

सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा अध्ययनरत कुल छात्रा १० हजार २७ छन् । छात्र ११ हजार ३६८ विद्यार्थी सहित खजुरा गाउँपालिकामा यस शैक्षिकमा कुल २१ हजार ३९५ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । कृषि क्याम्पस र लुम्बिनी प्राविधिक विश्वविद्यालयको खजुरामा स्थापनाले पश्चिम नेपालकै शैक्षिक हव खजुरा बन्नेमा दुईमत छैन । शिक्षा नै समाज रुपान्तरणका आधार बनेको छ । आर्थिक बर्ष २०७९–०८० मा खजुराको शैक्षिक क्षेत्रमा उल्लेख्य भौतिक प्रगति भएको छ । स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारबाट खजुराको शिक्षामा निरन्तर बजेट आएको छ ।

ज्ञानोदय नमूना माध्यमिक विद्यालय र जनता नमूना माध्यमिक विद्यालय बी गाउँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करोडौं बजेट भित्र्याउन सफल मात्र भएका छैनन् । यी दुई विद्यालय नमूना घोषणा भएका छन् । जनता माध्यमिक विद्यालयमा उच्च शिक्षातर्फ कृषि संकायमा पठनपाठन शुरु भएको छ भने लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक शत्र २०८० का लागि भर्ना खोलेर प्रवेश परिक्षाको समेत तयारी गरेको छ । यसरी नै धार्मिक शैक्षिक संस्था मदरसा, गुरुकुल प्राविधिक शिक्षादेखि लिएर उच्च शिक्षा हासिल गर्न खजुरा उपयुक्त स्थान हुने स्थानीय सरकारको दावी छ ।

उच्च शिक्षाका लागि नै खजुरा क्याम्पस र ज्ञानोदय पब्लिक क्याम्पस समेत बिगत लामो समयदेखि खजुरामा शिक्षा प्रदान गर्दै आएका छन् । आर्थिक बर्ष २०७९–०८० मा मात्र जनसेवा माध्यमिक विद्यालय पुरैनामा चार कोठे भवन, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुराँसपुरमा दुई कोठे भवन,जनसेवा माध्यमिक विद्यालयमा चार कोठे भवन, पशुपति माध्यमिक विद्यालय घियामा भवन, जनकल्याण माध्यमिक विद्यालय शान्तिपुरमा दुई कोठे भवन र पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत जनता माध्यमिक बिद्यालय सन्तकुटीमा कृषि तरकारी फलफुलका लागी टनेल निर्माण भएका छन् ।

बिगत लामोदेखि नै ज्ञानोदय नमूना माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ८ पास गरेका विद्यार्थीहरुलाई (९–१२) सिभिल सव–ओभरसियर पठनपाठन गराउँदै आएको छ । खजुरामा सञ्चालनमा रहेका सामुदायिक नीजि विद्यालय र क्याम्पससम्म स्थानीय जनशक्तिकै प्रयोग भएको छ । शिक्षा सबै ठाउँका लागि महत्वपूर्ण हुन्छ । पालिकाको शैक्षिक इन्डेक्स राम्रो देखिए पक्कै पनि पालिका उत्कृष्ट बन्ने कुराको संकेत त्यसले गर्नेछ । खजुरामा रहेका सामुदायिक र संस्थागत विद्यालयको अवस्था राम्रो रहने र ती विद्यालयहरुबाट गुणस्तरीय शिक्षा प्रवाह भए पालिकाले उत्कृष्ट जनशक्ति प्राप्त गर्नेछ ।

यसबाट पालिकालाई मात्रै होइन सिंगो मुलुकलाई फाइदा पुग्नेछ । खजुराको शैक्षिक अवस्था हेर्दा जिल्ला तहमा राम्रो देखिएको छ, माध्यमिक तहमा अध्ययनका लागि अझै करिब एक हजार विद्यार्थी खजुराभन्दा बाहिर जाने गरेको अवस्था अहिले पनि छ । तर विश्वविद्यालय खजुरामा स्थापना भएसँगै अब उच्च शिक्षा हासिल गर्न अन्य शहर राजधानी र दोश्रो, तेस्रो मुलुक जाने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । अब खजुरामा विश्वविद्यालय सञ्चालनमा आए बाहिर शिक्षा लिन जाने जनशक्ति यहीँ बस्ने छन् । भने अन्य जिल्लाहरु बाट समेत उच्च शिक्षाका लागि विद्यार्थी आउने छन् ।

यसले खजुरा मात्र नभएर पश्चिम नेपालको शैक्षिक अवस्थालाई देश विदेशमा चिनाउने छ । रोजगारी सिर्जना गर्नेछ । स्थानीयहरुको हकमा आम्दानीको नयाँ श्रोत बन्नेछ । अहिले खजुरामा सञ्चालनमा आएको बिएससी एजीको क्याम्पस तह र लुम्बिनी प्राविधिक विश्वविद्यालयले बिटेक इन आइटी र बिटेक इन सिएस एण्ड एआई सञ्चालनले खजुरालाई नयाँ शैक्षिक गन्तव्यका रूपमा उभ्याएको छ । विश्वविद्यालय खजुरा आउनुमा सिंगो बाँके जिल्लाको लागि मात्र नभएर पश्चिम नेपालकै शैक्षिक हवको रूपमा स्थापना गर्न स्थानीय सरकार लागिपरेको छ । पश्चिम नेपालका लागि यो एउटा सुनौलो अवसर बन्नेमा दुईमत छैन । शिक्षा क्षेत्र खजुरा समृद्धिको एउटा महत्वपूर्ण आधार स्थानीय सरकारको परिकल्पना पुरा हुनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०९:१३

लोकप्रिय