सूचनाको शक्ति - The Power Of Information

        

घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए ।

उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीलाई बताएका छन् । प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ ।

के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतवार ०९:४८