सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ८८ प्रतिशतले मात्र लगाए खोप

बाँकेको चार वटा पालिकामा लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएपनि जिल्ला सदरमुकाम नेपालगन्जमा भने ८८ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको छ दिनमा एक लाख ६६ हजार २८८ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले बताउनुभयो ।

उहाँले जिल्लामा निर्धारण गरिएको लक्ष्यभन्दा बढीले खोप लगाएको भए पनि पालिका अनुसार हेर्दा चारवटा पालिकाले लक्ष्यभन्दा बढी र चार वटा पालिकाले लक्ष्यभन्दा कम खोप लगाएको बताउनुभयो ।

फागुन १३ गतेदेखि सुरु गरिएको खोप अभियानअन्तर्गत बाँकेका कोहलपुर नगरपालिका र खजुरा, बैजनाथ तथा राप्ती सोनारी गाउँपालिकामा लक्ष्यभन्दा बढीले खोप लगाएको जनाउँदै सूचना अधिकारी श्रेष्ठले नेपालगन्ज उपमहानगर, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकाले भने अझै लक्ष्य भेटाउन नसकेको बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १२२ प्रतिशत, खजुरा गाउँपालिकामा ११६ प्रतिशत, बैजनाथ गाउँपालिकामा ११२ प्रतिशत र राप्ती सोनारीमा १०२ प्रतिशतले खोप लगाएका छन् ।

सोही प्रकारले हालसम्म जिल्ला सदरमुकाम नेपालगन्ज उपमहानगरपालिकामा ८८ प्रतिशत, नरैनापुरमा ७६ प्रतिशत, डुडुवामा ९२ प्रतिशत र जानकीमा ८७ प्रतिशतले खोप लगाएको जनाउँदै सूचना अधिकारी श्रेष्ठले नेपालगन्ज र नरैनापुरमा अझै मिहिनेत गर्नु पर्ने देखिएको बताउनुभयो ।

उहाँले खोप अभियान निर्धारित समय फागुन ३० गतेसम्म जारी रहने जनाउँदै जिल्लाका ८१ वटै वडाका नौ महिनादेखि १५ वर्ष उमेरका सबै बालबालिकालाई खोप लगाइने बताउनुभयो ।

खोप अभियानका लागि जिल्लाभरि एक हजार २९६ जना स्वास्थ्यकर्मी खटिएका छन् भने एक हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु पनि परिचालन भएका छन् ।

खोप लगाउने बालबालिकाको सङ्ख्या निर्धारण गर्दा एक लाख ६५ हजारलाई लगाउने लक्ष्य तय गरिएपनि वास्तविक बालबालिकाको सङ्ख्या त्योभन्दा धेरै बढी रहेको पाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार १२:२६

लोकप्रिय