सूचनाको शक्ति - The Power Of Information

        

नेत्ररोग विशेषज्ञ डा.रुइतलाई गृह जिल्लामा नागरिक अभिनन्दन

नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पु¥याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।

ताप्लेजुङमा जन्मिएका डा.रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात छन् । यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उनलाई अभिनन्दन गरिएको हो ।

मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका डा.रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याइरहेका छन् । यहाँ आयोजित शिविरमा उनी नेतृत्वको टोलीले १५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो ।

कार्यक्रममा डा.रुइतले नेपाल नेत्र ज्योति सङ्घ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानप्रति आभार व्यक्त गरे । गृह जिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता जनाए ।

निःशुल्क आँखा शिविरले जीवनमा उज्यालो

झण्डै तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५, का ५५ वर्षीय बमप्रसाद योङहाङ र उनको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाविन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाएका योङहाङ पुनः उज्यालो जीवनमा फर्किएपछि खुशियाली छाएको हो ।

योङहाङको दुवै आँखाको शल्यक्रिया भएको थियो । फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी छन् । केही वर्षदेखि आँखाको समस्या भोगिरहेकी उहाँले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भएकी हुन् । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र उनको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएको हो ।

ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाविन्दुका कारण ज्योति गुमाएका १५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । नेत्र ज्योति सङ्घले फुङलिङ नगरपालिका र सेवा फाउण्डेशनसँगको सहकार्यमा तथा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शिविर सञ्चालन गरेको हो ।

स्रोत : रासस
प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ११:१९

लोकप्रिय