सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा महावीर पुनको पुस्तक एक हजार सात सय थान विक्री

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष बैज्ञानिक महावीर पुनद्धारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकको नेपालगन्जमा उत्साहजनक विक्री भइरहेको छ ।

वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि देशभरि आफ्नो आत्मकथा बिक्री गरिरहनुभएका वैज्ञानिक पुनको किताब नेपालगन्जमा दुई दिनमै एक हजार सात सय थान विक्री भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले नेपालगन्जले आफ्नो पुस्तकको खरिदमा अतिनै उत्साह देखाएको जनाउँदै दुई दिनमै एक हजार सात सय थान पुस्तक विक्री हुनु अति नै सकारात्मक रहेको बताउनुभयो ।

उहाँले नेपालगन्जमा हालसम्म १२ लाख ७५ हजार रुपियाँको पुस्तक बिक्री भइसकेको जनाउँदै विक्री हुने क्रम अझै जारी रहेको बताउनुभयो । वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि सरकारले सम्झौता बमोजिम रकम नदिएपछि उहाँले पुस्तक निकालेरै भएपनि कारखाना सञ्चालनमा ल्याउने अठोट गरेर अहिले किताब बिक्रीवितरण गर्दै देशव्यापी अभियानमा लागेको बताउनुभएको छ ।

पुस्तक विक्रीका क्रममा देशवासीबाट पाएको माया स्नेह र सम्मान निकै अतुलनीय रहेको जनाउँदै पुनले नेपाली जनतामा अतिनै उदाहरणीय देशभक्ति रहेको बताउनुभयो । महावीर पुनद्वारा लिखित ‘महावीर पुन  सम्झना, सपना र अविरल यात्रा’ नामक आत्मकथा पढेर नेपालमै बसेर देश र आफ्ना लागि धेरै गर्न सकिन्छ भन्ने सन्देश युवाहरुमा जाने दावी गरिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनसहितको टोलीले नेपालगन्जका सङ्घ, संस्था, विद्यालय र विभिन्न पालिकामा पुगी आफ्नो पुस्तकको परिचय, उदेश्य र के का लागि लेखियो, किन लेखियो, यो पुस्तक किन पढ्ने जस्ता विषयमा जानकारी गराइरहनुभएको छ । पुस्तक विक्रीका लागि बाँकेका समाजसेवी युवाहरु हेमन्तराज काफ्ले र सुरेन्द्र कार्कीले समन्वय र सहयोग गरिरहनुभएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ०६:५८

लोकप्रिय